Comments Add Comment

हङकङका कप्तान भन्छन्ः भारतीय खेलाडी आत्तिइसकेका थिए

एसिया कप अन्तरगत भारत र हङकङविरुद्धको खेललाई ‘मिसम्याच’ मानिएको थियो । बलियो भारतविरुद्ध हङकङले सहजै घुँडा टेक्ने अनुमान धेरैले गरेका थिए ।

तर, त्यस्तो भएन । भारतलाई जित्न नसके पनि अत्याउन भने सफल भयो हङकङ । दुई सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा एक समय हङकङ विना विकेट क्षति एक सय ७४ रनको अवस्थामा पुगेको थियो । तर, लगातार विकेट गुमाएपछि हङकङ लक्ष्यसम्म पुग्न सकेन ।

हङकङका कप्तान अंशुमान रथ आफ्नो टिमले म्याच अन्त्य गर्न नसकेकोमा चुक्चुकाएका छन् । तर, भारतजस्तो टिमलाई चुनौति दिएकोमा उनलाई गर्व छ ।
‘हामीले विश्वलाई आफ्नो क्षमता देखाउन सफल भयौं,’ उनले भने, ‘तर, खेल जितेको भए त्यसको अर्कै महत्व हुन्थ्यो ।’

उनले पाकिस्तानविरुद्धको खेलमा ब्याट्सम्यानहरु नर्भस भए पनि भारतविरुद्ध खुलेर खेलेको बताए । ‘हामीले गुमाउनु केही थिएन, त्यसैले खुलेर खेल्यौं,’ उनले भने । म्याचमा अशुमानले ७२ रन बनाएका थिए । तर, ओपनिङ जोडी टुटेपछि अन्य ब्याट्सम्यानहरुले उल्लेख्य योगदान गर्न सकेनन् ।

आइसीसील एसोसिएट देशहरुलाई अलि बढि गम्भीरतापूर्वक हेर्नुपर्ने अंशुमानले बताए । उनले अफगानिस्तानको उदाहरण दिँदै भने, ‘अफगानिस्तान केही वर्ष अगाडि हाम्रै अवस्थामा थियो, तर अहिले बलिया राष्ट्रहरुलाई पनि चुनौति दिन थालेको छ । म्याच एक्सपोजर पाएको खण्डमा हामी पनि आफूलाई अब्बल सावित गर्न सक्छौं ।’

भारतविरुद्धको म्याचको चर्चा गर्दै उनले आफूहरुले पहिलो विकेटका लागि विशाल साझेदारी गर्दा भारतीय खेलाडीहरु आत्तिएको बताए । ‘उनीहरु आत्तिएका थिए । शिखर धवनले उनका कप्तानसित भनिरहेका थिए कि दुई सय ८४ स्कोर यहाँ पर्याप्त छैन । हामीले कम्तिमा ३ सय ४० रन बनाउनुपर्थ्यो ।’ उनले भने ।

उनले एसिया कपको तयारीका क्रममा बलिया टिमविरुद्ध अभ्यास खेल्न नपाएको गुनासो गरे । हङकङ अहिले एकदिवसीय वरियता गुमाउने संघारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment