Comments Add Comment

नेकपामा प्रचण्डलाई बादलको चुनौती

७ असोज, काठमाडौं । नेकपाको सचिवालय बैठकले सार्वजनिक गरेको सातै प्रदेशका इञ्चार्ज, सह-इञ्चार्ज र अध्यक्ष र सचिवहरुको सूचीमा पूर्वमाओवादी घटकको उपस्थिति पूर्वएमालेको भन्दा कमजोर छ । तर, पूर्वमाओवादीभित्रबाट हेर्दा प्रचण्ड समूहको हाराहारीमै बादल समूहको प्रतिनिधित्व देखिएको छ ।

पूर्वमाओवादी नेताहरु प्रचण्ड र बादल एउटै गृहजिल्लाका बासिन्दा हुन् । उनीहरु माओवाद अिान्दोलनका पुराना सहयात्री हुन् । तर, एक जमाना ‘लिन पिआओ’ प्रवृत्ति देखियो भनेर कारवाहीसमेत भोगेका बादलको पुनरुत्थान प्रचण्डका लागि चुनौतिपूर्ण बन्न थालेको छ ।

पूर्वमाओवादीमा बादल समूहको बढ्दो तागतले प्रचण्डलाई सकसमा पार्न सक्ने संकेत देखिएको छ ।

प्रदेश एक र सातमा बादलको बर्चश्व

नेकपा सचिवालयले शुक्रबार सार्वजनिक गरेको प्रदेशका नेताहरुको सूची हेर्दा प्रदेश १ र प्रदेश ७ मा प्रचण्ड पक्षका नेताहरुको उपस्थिति शून्य देखिएको छ भने ओली/बादल समूह बराबर हैसियतमा देखिएका छन् ।

प्रदेश एकको सह-इञ्चार्जमा बादल समूहका शावित्रीकुमार काफ्ले छानिएका छन् । त्यस्तै सचिवमा बादल समूहका सुरेकुमार राई (हिमाल) छानिएका छन् । यो प्रदेशमा प्रचण्ड समूहका नेता छनोटमा परेका छैनन् ।

उता प्रदेश ७ को सहइञ्चार्जमा बादल समूहका लक्ष्मणदत्त जोशी छानिएका छन् भने सचिवमा बादलसमूहकै नेपबहादुर चौधरी छानिएका छन् । यो प्रदेशमा पनि प्रदेश १ मा जस्तै प्रचण्ड समूहबाट कोही पनि परेका छैनन् ।

कर्णाली प्रदेशको इञ्चार्जमा प्रचण्ड समूहका जनार्दन शर्मा छानिएका छन् भने सचिवमा छानिएका बादल समूहका मायाप्रसाद शर्माले ओली र प्रचण्डले खटाएर दिएको पदमा नबस्ने भन्दै आपत्ति जनाएका छन् ।

प्रदेश ५ मा छानिएका पूर्वमाओवादी समूहका दुबै नेताहरु प्रचण्ड समूहबाटै परेका छन् । अध्यक्ष ओनसरी घर्ती र सचिव जगप्रसाद शर्मा दुबै प्रचण्ड पक्षधर हुन् ।

गण्डकी प्रदेशमा तीनजना पूर्वएमालेबाट र एकजना मात्रै पूर्वमाओवादीबाट छानिएका छन् । प्रदेशको अध्यक्षमा छानिएका हितराज पाण्डे प्रचण्ड पक्षधर हुन् ।

प्रदेश ३ मा पूर्वएमाले र पूर्वमाओवादीबाट दुई/दुई जना परेका छन् । प्रदेशको सहइञ्चार्ज हितबहादुर तामाङ र अध्यक्ष नारायण दाहाल दुबै प्रचण्ड पक्षधर हुन् ।

प्रदेश २ मा पूर्वमाओवादीबाट परेका दुईजनामध्ये सह-इञ्चार्ज विश्वनाथ साह नारायणकाजी श्रेष्ठ निकट नेता हुन् भने अध्यक्ष प्रभु साह प्रचण्ड निकट हुन् ।

प्रदेश २ का सहइञ्चार्ज साह नारायणकाजी निकट भए पनि उनी बादलभन्दा प्रचण्डतिरै नजिक मानिन्छन् । त्यसैगरी प्रदेश १ का सचिव हिमाल राई बादल र प्रचण्ड दुबैसँग समुदरीमा रहेका नेता हुन् ।

ओली र बादलको कोपभाजनमा प्रचण्ड

यतिबेला नेकपाभित्र अध्यक्षद्वय केपी ओली र प्रचण्डको ‘ट्युनिङ’ राम्रैसँग मिलिरहेको छ । तर, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलको कार्यशैलीप्रति भने प्रधानमन्त्री केपी ओली सामान्यतः असन्तुष्ट देखिन थालेका छन् ।

अर्का अध्यक्ष प्रचण्डचाहिँ कस्तो दोधारमा छन् भने उनी न त प्रधानमन्त्री ओलीसँग दुरी बढाउन चाहन्छन्, न गृहमन्त्री रामबहादुर थापा बादलसँग नै ।

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलको आपसी सम्बन्ध सामान्य भइरहँदासम्म प्रचण्डलाई खासै अप्ठ्यारो पर्ने देखिन्न । तर, उनीहरुवीच दूरी बढ्यो भने त्यसको सोझो असर प्रचण्डमाथि पर्ने छ । त्यस्तो बेलामा प्रचण्डले गृहमन्त्रीको पक्ष लिने या प्रधानमन्त्रीको ? त्यो स्थितिमा उनले दुबैलाई छाड्न सक्ने स्थिति हुँदैन ।

ओलीसँग दुरी बढाएर प्रचण्डले आफूलाई भावी अध्यक्षका रुपमा स्थापित गर्न नसक्ने उनलाई डर छ । यता, बादलसँग दुरी बढाइयो भने प्रचण्ड पूर्वमाओवादी गुटभित्रै कमजोर हुनेछन्, जुन नेकपाभित्रको उनको ‘स्टे्रन्थ’ हो ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको टीम फेर्न सक्ने संकेत यसअघि नै गरिसकेका छन् । प्रचण्डले पनि त्यो स्थितिमा आफूले यो वा त्यो गुट नहेर्ने बताउँदै आएको छ । यदि प्रधानमन्त्रीले केही मन्त्रीहरु हेरफेर गर्ने अवस्था आयो भने गृहमन्त्री रामबहादुर थापा बादललाई ओलीले हटाउलान् ? अनि त्यसरी गृहमन्त्री फेर्नेबेलामा प्रधानमन्त्री ओलीलाई प्रचण्डले साथ देलान् कि नदेलान् ? यो प्रश्न आशन्न भविश्यको गर्भमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment