Comments Add Comment

के चलचित्रले बम्पर ओपनिङ गर्दा एक दिने कलेक्शन डेढ करोडसम्म हुन्छ ?

नेपाली चलचित्रको वास्तविक व्यापार र मिडियामा सार्वजनिक हुने व्यापारमा आकाश जमिनको फरक रहेको कुरा त अब नौलो कुरा रहेन । कुनै चलचित्रले एक दिनमै करोड कमायो, २ दिनमै एक करोड कमायो भन्ने खबर सार्वजनिक भैरहेका हुन्छन् । तर, एउटा कुरा स्पष्ट के हो भने कुनै पनि चलचित्रले एक दिनमा वा २ दिनमा १ करोड कमाउँदा लगानी गर्ने निर्माताको हातमा सबै रकम पर्ने होइन । यसैले यो भ्रमबाट प्रथमतः मुक्त हुन जरुरी छ ।

दोश्रो कुरा, नेपालमा के त्यती धेरै क्षमता भएका हल छन्, जसले एक दिनमै १ करोड ५० लाख, १ करोड ७५ लाख सम्मको व्यापार गर्न सक्छन् ? यो बिषयमा भने अहिलेसम्म कसैले पनि बहस गरेको छैन । नेपालमा आफ्नो चलचित्र हिट भएको पुष्टी गर्न निर्माताले बम्पर ओपनिङ हुँदा १ करोड ५० लाख, १ करोड ७५ लाख, १ करोड २५ लाख सम्मको आँकडा दिने गरेका छन् । के त्यो संभव छ त ?

चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय भन्छन्-‘कुनै चलचित्रले मल्टिप्लेक्समा सबैभन्दा ठूलो चेन भएको हल क्यूएफएक्समा एक दिनमा २२-२५ शो पायो र देशका सबै हलमा चलचित्र चल्यो भने पनि १ करोड १५ देखि २० लाख भन्दा बढी कलेक्शन गर्ने क्षमता राख्दैन ।’

वुझिएनअनुसार, देशभरका सबैजसो हलमा रिलिज भएको र क्यूएफएक्समै २२ शो भन्दा बढी पाएको ‘छक्का पन्जा २’ले एक दिनमा १ करोड ७ लाख ग्रस कलेक्शन गरेको थियो । यो एक दिने व्यापारको रेकर्ड हो । यसबाट पनि स्पष्ट हुन्छ कि, निर्माताले चलचित्रले बम्पर ओपनिङ गर्‍यो भन्दै दिएका एक करोड, डेढ करोडका आँकडा सबै हावा हुन् ।

उदयका अनुसार, देशभरका सय पर्दामा चलचित्र चल्यो र बम्पर ओपनिङ गर्‍यो भने १ करोड २० लाखसम्म ग्रस कलेक्शन हुन्छ । होइन भने, एउटा मात्र वितरण कम्पनीबाट चलेका चलचित्रले बम्पर ओपनिङ गरेको खण्डमा पनि एक करोड ग्रस संभव छैन ।

यसकारण, निर्माताले दिने ठूला ठूला आँकडाको भ्रमबाट मुक्त हुन जरुरी छ । चलचित्र चलेको अवस्थामा पनि निर्माता सही हिसाब दिन सक्दैनन् । झन्, औषत चलेका निर्माताको करोड क्लबको गफ पत्याउन सकिने अवस्था रहला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment