Comments Add Comment

ट्रम्प बोल्दा महासभामा हाँसो, ट्रम्पले भने– यस्तो अपेक्षा गरेको थिइनँ

१० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वले मध्यपूर्वमा अराजकता, मृत्यु र विनाशको विजारोपण गरेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७३ औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग परमाणु सम्झौता त्याग्ने आफ्नो निर्णयको समेत बचाउ गरेका छन् ।

उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाव सिर्जना गर्नुको विकल्प नरहेको बताए ।

सम्बोधनका क्रममा उनले अमेरिकी इतिहासमा अरुले भन्दा आफूले धेरै गरेको दाबी गर्नसमेत भ्याए । ट्रम्पले यस्तो दाबी गरिरहँदा हलमा भने हाँसो गुञ्जिएको थियो । लगत्तै ट्रम्प पनि हाँसे र भने- मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।’

ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको उक्त अवसरमा बताए । ट्रम्पले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न सहभागी देशका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुलाई आग्रह गरे ।

उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरु अघि बढेको र चाँडै अर्को शिखर बैठकको आयोजना हुने जानकारी पनि उनले दिए । ‘निःशस्त्रीकरण कार्यहरु पूरा भएपछि आर्थिक प्रतिबन्धहरु फुकुवा हुनेछन्’, ट्रम्पले भने ।

उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्न दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यस्थताको भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

संयुक्तराज्य अमेरिकाले प्रत्येक वर्ष विभिन्न मुलुकका लागि उपलब्ध गराइआएको आर्थिक सहायताको समीक्षा गर्नुपर्ने समय आएको चर्चा गर्दै अमेरिकी सहयोग अमेरिकाकै हितमा समेत नभएकामा दुःख व्यक्त गरे ।

पछिल्लो व्यापारिक तनावका बारेमा समेत चर्चा गरेका राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा पछिल्लो वर्षसम्म करिब आठसय अर्ब डलर पुगेको बताए । यो परिस्थिति उत्पन्न हुनुमा विगतका अमेरिकी नीति मुख्य रुपमा जिम्मेवार रहेको बताउँदै उनले खुकुलो नीतिका कारण चीनले फाइदा लिएको दाबी गरे ।

उनले राष्ट्रसंघको कार्यशैलीमाथि समेत प्रश्न उठाए । अमेरिकी हितविपरीत रहेका कारण राष्ट्रसंघीय मानवअधिकार आयोगबाट अमेरिका बाहिरिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment