Comments Add Comment

मुस्लिम नेतालाई लक्षित हत्याको श्रृंखला कहिलेसम्म ?

नेपालमा मुस्लिम समुदायलाई लक्षित गरी गरिएका हत्या तथा आरोपको श्रृंखला पुनः एकपटक दोहोरिएको छ । सुनसरीमा रैयान पब्लिक स्कुलका सञ्चालक तथा प्रिन्सिपल, समाजसेवी तथा नेता खुर्सिद आलमको बुधबार बिहान ११ बजेर ३ मिनेटमा हत्या गरियो । भारतीय नम्बरका दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारीले घटना घटाई पुनः भारततिर फरार भए ।

अपराधको परिदृश्य विगतमा मुस्लिम नेता, समाजसेवी अथवा ब्यापारीहरुको हत्याको घटना संग मेल खाने थियो । इस्लामिक संघका तत्कालिन महासचिव फैजानको ९ असोज २०६८ मा राजधानीको घन्टाघरमा यसै गरी गोली हानी हत्या भएको थियो । यसरि उस्तै प्रकारका हत्याको घटनाले पुन एकपटक मुस्लिम समुदायभित्र तरंग पैदा भएको छ ।

मुस्लिमसम्वन्धी समाचार विरलै भेटिने मिडियामा खुर्सिद हत्याकाण्डले हेडलाइनमा स्थान जमाएको थियो । ६ किलो मिटर लखेट्दा पनि समातिएनन् हतियारधारी भनेर खुर्सिद हत्या प्रकरणका खबर आइरहदा त्यहाँभित्रका स्टोरीहरु फिल्मका स्टोरी जस्तै सुनिन्थे । ६ किलो मिटरको दुरीमा जहाँ प्रहरीका जवान नै घाइते भैसक्दा पनि बन्दुकधारीहरु सजिलै सीमापार गरिनु अर्थपूर्ण रहेको छ ।

बेलुका सम्ममा हत्याकाण्डमा अर्को ट्वीस्ट थपियो । खुर्सीद हत्याकाण्ड भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट भएको हुन् सक्ने भनेर नेपाल प्रहरीको उच्च अधिकारीले विश्लेषण गरेको छ भनेर समाचारमा प्रष्ट लेखियो । ती उच्च अधिकारीलेजस्तै अनुमान सर्वसाधारणले पनि लगाइसकेका थिए । विगतका दिनमा नेपाली मुस्लिम नेता, समाजसेवी तथा व्यापारीहरु मारिँदा यिनै आरोपका खबरहरुले सबैको मन मष्तिस्कमा जरो गाडेको थियो ।

मुस्लिम समुदायको बाहुल्यता भएको यस बस्तिमा स्थानीयहरुले घटनालाई सामान्य रुपमा लिने कुरा थिएन । त्यसो त खुर्सिद समाजमा वेग्लै पहिचान भएका व्यक्ति थिए । शिक्षाका क्षेत्रमा उनको उल्लेखनीय योगदान थियो ।

स्थानीयले बिभिन्न मागसहित शव नउठाउने भन्दै आन्दोलन सुरु गरे । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने, स्थानीय प्रहरी युनिटको टोली परिवर्तन गर्नुपर्ने, बारम्बार मुस्लिम अगुवामाथि हुने आक्रमणको छानविन गर्न उच्च स्तरीय समिति गठन गर्नुपर्ने, गृहमन्त्रीसँग छलफल गर्न पाउनुपर्ने आदि मागहरु थिए । अन्ततः ८ बुँदे सहमतिपछि खुर्सिदको शव उठाइयो ।

यसरि एकपछि अर्को हत्याको श्रृंखला दोहोरिरहँदा राज्यले यसलाई निकै सामान्यरुपमा हेरिरहेको देखिन्छ । मृतकमाथि राजनीतिक खोलले छोपिनु सहानुभूति प्रकट गरिनु, मृतकका परिवारले क्षतिपूर्ति पाउनु र छानविन समिति गठन हुनु आदि कुराहरु दीर्घकालीन समस्याको हल होइन । त्यो न्यायसम्मत पनि होइन । हत्या किन भयो ? हत्यारा को हुन् ? र, हत्यारालाई पक्राउ गर्न तथा कानुनको दायरामा ल्याउन के कस्तो पहल भयो ? आदि सवालहरु महत्वपूर्ण हुन् । यस्तो संवेदनशील विषयमाथि राज्यको गहिरो चासो हुनु जरुरी छ । बारम्बार भारतीय सुटरहरुबाट यसरी एउटा समुदायप्रति लक्षित गरी भएको आक्रमणले अवश्य पनि राम्रो कुराको संकेत गर्दैन । यस्ता घटनाले निकट भविष्यमा ठूलो दुर्घटना ननिम्त्यौला भन्न सकिँदैन ।

खुर्सिद हत्याकाण्डसँगै भारतीय नामुद न्युज टीभी तथा अन्य मिडियाहरुमा खुर्सिदका बारेमा अतिरन्जित मुद्दाहरु जोडिएका छन् । जहाँ निकै संवेदनशील प्रश्नहरु उठाइएको छ । जसका सन्दर्भमा राज्यले बेवास्ता गर्नु भनेको जनता प्रति राज्य बफादार नहुनु मात्र होइन आफ्ना नागरिकमाथि लागेको गम्भीर आरोपलाई राज्यले पनि स्वीकार गरेको हो भन्ने प्रष्ट हुन्छ । यदि भारतीय मिडियाबाट लगाइएको आरोपको कुनै खण्डन हुँदैन भने मृतकमाथि देखाएको सहानुभूतिको कुनै अर्थ रहँदैन ।

नेपाली मुस्लिम अगुवाहरुको हत्या गर्ने र उनीहरुमाथि दोष थुपार्ने काम भारतबाट भैरहँदा नेपाली मुस्लिमहरुलाई तिब्बतियन शरणार्थीलाई चीन सरकारले आफ्नो निगरानीमा राखे जस्तै नेपाली मुस्लिमहरुको निगरानी भारत सरकारले गरिरहेको हो कि भन्ने कुराले समुदाय सशंकित भैरहेको अवस्था छ । अन्यथा हत्या भएका व्यक्ति जसलाई सरकारले शहिद घोषणा गर्नका लागि सहमति गरिसक्दा पनि हत्याराप्रति सरकार मौन देखिनु भनेको सरकारको दोहोरो चरित्र भन्ने बुझिन्छ ।

यहाँ एकजना नेपाली नागरिकको हत्या हुँदा केवल समुदायसँग जोडेर हेर्नु दुखद कुरा हो । भर्खर मात्र निर्मला हत्याकाण्डले महिना दिनसम्म सरकारलाई हल्लाउने गरी दवाब दिरहेको छ । जसमा राजनैतिक, सामाजिक, संघ संगठन तथा हरेक पक्षबाट दवाब विरोध भैरहेको छ । तथापि खुर्सिद हत्याकाण्डले राजनैतिक, सामाजिक, संघरसंगठन तथा कुनै पक्ष बाट पनि विरोध हुन नसक्नु भनेको दुखद कुरा हो ।

विगतदेखि नै यस्ता हत्याकाण्डका विषयमा समुदायले तथा समुदायप्रति उत्तरदायी संघ संगठन र नेताहरुले दवाबपूर्ण विरोध गर्न नसकेको प्रष्ट देखिन्छ । यसरी विरोध हुन नसक्दा यस्ता हत्याका घटनाहरु केही समयपछि आफै साम्य भएर जाने र पुन अर्को घटना दोहोरिने देखिएको छ । अझै पनि समुदाय र समुदायको नेतृत्व गर्ने नेताहरुले यस बिषयमा गम्भीर भएर लाग्नु पर्दछ । घटना घटाइनुको मुख्य कारण के हो ? भारतीय मिडियाहरुले लगाएका आरोपको सत्यतथ्य के हो रु र यसको दीर्घकालीन निराकरणको निम्ति केकस्ता कदम चालिनुपर्ने हो ? भन्ने बिषय समुदायका नेता तथा बुद्दिजीवीहरुले सरकारसँग छलफल गरी निष्कर्षमा पुग्नु जरुरी देखिन्छ ।

यस्ता किसिमका घटनाले हाम्रो देशभित्र सदियौंदेखि रही आएको सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता खल्बलाउन प्रयास हो भन्ने कुरामा दुइमत छैन । त्यस्तै मुस्लिम समुदायको हकहितका तथा सशक्तीकरणका निम्ति आवाज उठाउने नेतृत्व गर्ने व्यक्तिहरुको मनोबल गिराउने प्रयास पनि हो । छिमेकि देशबीच हुने सन्धि सम्झौतालाई उलंघन गरी यस्ता किसिमका घटनाहरु दोहोरिरहनु भनेको छिमेकी देशले हाम्रो देशप्रति हेपाहा प्रवृति देखाइरहेको प्रष्ट हुन्छ ।

यी सबै नियोजित प्रयासलाई हामी सबै नेपाली नागरिकहरुले जोरदार रुपमा विरोध गर्नुपर्दछ । सरकारले गम्भीर भई आउँदा दिनहरुमा यस्ता घटना घट्न नदिनका निम्ति उचित पहल गर्न जरुरी देखिन्छ ।

नेपाली नागरिक तराई, पहाड तथा हिमाल र हिन्दु, वुद्धिष्ट , मुस्लिम तथा ईशाई आदि सबैले देशको मूल्य मान्यता, संबिधान र कानुनलाई सर्वोपरि ठान्दछौं । त्यसो त यी सबै एउटा असल नागरिकको कर्तब्य भित्र पर्दछन् । यदि कुनै पनि नागरिकले देशको अहित हुने काम गर्दछ भने त्यसलाई कुनै धर्म अथवा जातजातिसंग जोडेर हेर्नु हुँदैन । त्यस्ता नागरिकलाई संबिधान तथा कानुन बमोजिमको दण्ड सजाय दिनु पर्दछ ।

हाम्रो देश बहुजाति, धर्म, संस्कृति भएको देश हो । तथापि इतिहासमा कहिले पनि धार्मिक अथवा जातीय हिंशा हत्या भएको कहिँ कतै भेटिँदैन । अर्थात् हाम्रो देशमा जस्तो धार्मिक सहिष्णुता भएको देश संसारमा अन्य कतै भेट्न सकिँदैन । जसले गर्दा छिमेकी राष्ट्रहरुको बक्रदृष्टिमा हाम्रो देश पर्ने गर्दछ ।बेलाबखतमा उनीहरु यहाँको सामाजिक सद्भाव बिथोल्ने प्रयास गरिरहेका हुन्छन् ।

भारतका अतिवादी हिन्दु, म्यानमार अतिवादी वुद्धिष्ट र अफगानिस्तानका अतिवादी मुस्लिम तथा युरोपका अतिवादी इशाईलाई प्रश्रय दिएर नेपालभित्रको धार्मिक सहिष्णुतामा आँच आउने काम कोही कसैबाट हुनु हुँदैन । यस्ता अतिवादी, जसले छिमेकी मुलुकहरुको अहित हुने कार्य गर्नका निम्ति हाम्रो देशलाई प्रयोग गरिरहेको छन् भने देशले तत्काल उनीहरुमाथि कारबाही गर्नु पर्दछ । यसरी एउटा समुदाय मात्र नभई सिंगो राष्ट्रको छविमा आँच आउने गरी हुने क्रियाकलापलाई राज्यले नियन्त्रण तथा निगरानी गर्न जरुरी छ । तर, यस्ता बिषयमा विदेशी हस्तक्षेप हुन दिनु भनेको राज्यको कमजोरी देखिन्छ ।

ईन्डियन एयरलाइन्सको विमान २४ डिसेम्बर १९९९ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपहरण भयो । १७८ यात्रु भएको उक्त फ्लाइट अपहरण गर्नुको कारण भनेको अपहरणकर्ताले भारतमा बन्दी आफ्ना साथिहरुलाई छुटाउनु थियो । आफ्ना नागरिक बचाउनका निम्ति भारतले ७ दिनसम्म निकै प्रयासहरु गर्यो । अन्ततः अपहरणकारीको माग पूरा गर्दै केही चरमपन्थीहरुलाई भारत सरकारले रिहा गर्यो । आफ्ना नागरिकको जीवन रक्षाका निम्ति गरिएका यस्ता प्रयासहरुका घटनाहरु धेरै भेटिन्छन्, जसले राज्य आफ्नो नागरिकप्रति कति उत्तरदायी छ भन्ने प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment