Comments Add Comment

मुख्यमन्त्रीको निर्देशन- मेला महोत्सवमा छाडापन रोेक्नुस्

१० असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मेला महोत्सवमा संस्कृतिको नाममा विकृति बढेको भन्दै रोक्न पालिकाहरुलाई निर्देशन दिएका छन् ।

प्रदेश ५ का १०९ वटै पालिकाका प्रमुख र उपप्रमुख उपस्थित प्रदेश समन्वय समितिको प्रथम वैठकको समापन गर्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवमा हुने छाडा सांस्कृतिक कार्यक्रमकै कारण समाजमा विभिन्न विकृतिको जन्म भएको धारणा राखे ।

‘अहिले धेरैजसो शहरी क्षेत्रका पालिकाहरुमा मेला महोत्सव लाग्ने र त्यहां संस्कृतिका नाममा अश्लील छाडा गीत, नृत्य (भल्गारिटी)ले प्रश्रय पाइरहेका छन्’ उनले भने, ‘केही पैसा आम्दानी हुन्छ भनेर यस्ता गलत कुरालाई बढावा दिन मिल्दैन, यसले समाजमा अनेकखाले अपराध र विकृति निम्त्याउंछ,तसर्थ यस्ता गतिविधि रोक्नैपर्छ ।’

निश्चित मापदण्ड बनाएर मात्र मेला महोत्सव र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्रीले पालिकाहरुलाई निर्देशन दिए । प्रदेश ५ बुद्ध जन्मस्थल पनि भएकाले यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा छाडा र अश्लिलतालाई नभई बौद्ध संस्कृति र विशुद्ध नेपाली मौलिक संस्कृतिलाई मात्र प्रदर्शन र प्रवर्द्धन गर्न मुख्यमन्त्री पोखरेलले सुझाव दिए ।

मेला महोत्सवहरुमा भारतमा निर्मित विद्युतबाट चल्ने पिङ,बाल उद्यान, जादु, सर्कसमा नेपालीहरुको ठूलो धनराशी खर्च भइरहेको छ । यस्ता मनोरन्जन सामग्री राखेवापत मेला आयोजकले मोटो रकम हात पारे पनि राज्यलाई भने नगण्य मात्रामा कर तिरेका हुन्छन् ।

मुखयमन्त्री पोखरेलले स्थानीय जनप्रतिनिधिहरुलाई चाडपर्व खर्च र पोशाक खर्च नमाग्न र आशा नगर्न सचेत गराएका छन् । पालिकाका प्रमुख र उपप्रमुखले सकभर एउटै सवारी साधन प्रयोग गरेर मितव्ययिता अपनाउन र जनभावना अनुसार चल्न पनि निर्देशन दिए ।

ठेक्कापट्टा र निर्माणको काम गर्ने जनप्रतिनिधिलाई पनि यस्ता काममा संलग्न नहुन उनले सुझाव दिए । ‘आफैं जनप्रतिनिधि आफैं ठेकेदार भएपछि अनुगमन कसरी होला, गुणस्तरबारे कसले प्रश्न उठाउने ? मुख्यमन्त्रीले भने, ‘यस्तोबाट जोगिुनस्, जनप्रतिनिधिको काँधमा धेरै ठूलो जिम्मेवारी छ, त्यसलाई नबिर्सौं ।’

भविश्यलाई हेरेर पालिकाको केन्द्रका लागि कम्तीमा ४०-५० बिघाको जग्गा व्यवस्थापन गरेर संरचना बनाउन पनि मुख्यमन्त्रीले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment