Comments Add Comment

टिभीमा पत्नीको अन्तर्वार्ता लिएका ऋषि धमला रिपोर्ट्स क्लबमा भावुक

१० असोज, काठमाडौं । सधैं नेताहरुको अघिपछि देखिने पत्रकार ऋषि धमलालाई आजकाल बेग्लै चटारो छ । श्रीमती एलिजा गौतमले हिरोइन बन्न रहर गरेपछि फिल्म निर्माणमा होमिएका उनी अहिले यसैको प्रचारप्रसारमा भिडेका छन् ।

धमलाले आफ्नो ससुराली परिवारसँग मिलेर बनाएको फिल्म ‘अनुराग’ शुक्रबार रिलिज हुँदैछ । फिल्मको पब्लिसिटीका लागि के मात्रै गरिरहेका छैनन् धमला ? उनले आफ्नो टेलिभिजनको टक शोमा श्रीमतीलाई नै गेस्ट बनाएर अन्तर्वार्ता लिए, जसको अहिले निकै चर्चा छ ।

धमलाले उक्त अन्तरवार्तामा श्रीमती एलिजालाई सोधेका प्रश्नहरु पनि निकै रोचक थिए । केही प्रश्न यस्ता थिएः

‘तपाईंलाई फिल्ममा लाग्न परिवारको कत्तिको सपोर्ट छ ?

‘बिहे अगाडि तपाईंको कसैसित प्रेम थियो कि थिएन ?’

‘दुई बच्चाकी आमा भएर अविवाहित हिरोसँग रोमान्स गर्दा कस्तो महसुस भयो ?’

‘आफ्नो पारिवारिक जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?’

धमला अहिले जहाँ जान्छन्, ‘अनुराग’ को प्रसंग निकालिहाल्छन् । चाहे त्यो राजनीतिक कार्यक्रम नै किन नहोस । केही दिनअघि नेपाल आएका भारतीय अभिनेतासँग समेत उनले ‘मेरा फिल्म अनुराग आरहा है देखना नभुले’ भन्न भ्याएका थिए ।

धमलाले शुक्रबार रिपोर्ट्स क्लवमा आफ्नी श्रीमतीलाई उभ्याएर पत्रकार सम्मेलन गरे । सँधै अरुलाई गेस्ट बनाएर प्रश्न सोध्ने धमला आज आफैं उत्तर दिइरहेका थिए । प्राय फन्नी मुडमै हुने उनी आज भने भावुक बने ।

‘म अनुराग चलचित्रमा किन आएँ ? किनकी मलाई माया गर्ने धेरै हुनुहुन्छ । तपाईहरुलाई मेरो विगतपनि राम्रोसँग थाहा छ, र वर्तमान पनि । म आज हात जोडेर भन्न चाहन्छु, तपाईहरुको मायाले आज अनुरागको माहोल देशैभरि तातेको छ । मिडियाका साथीहरुले ठूलो साथ र सहयोग गर्नुभएको छ । त्यसैले यो चलचित्र निर्माण भएको दिनदेखि नै यसले ठूलो चर्चा तथा परिचर्चा पाएको छ । म तपाईहरुप्रति आभारी छु,’ धमलाले साँच्चिकै हात जोडेर भने ।

अनि थपे, ‘मैले प्रत्येक दिन अनुराग, अनुराग मात्रै भनिरहेको छु । मेरो मुखमा अनुराग झुण्डिएको छ । ऋषि धमलाको फिल्म भएकोले जो पनि यो फिल्म हेर्न चाहन्छन् ।’

त्यसपछि उनले पत्नी एलिजाको प्रशंसा गरे ।

उनले भने, ‘एलिजाजी ६ महिनाको बच्चा आमा हुँदा पनि यो फिल्मको सुटिङमा हुनुहुन्थ्यो । उहाँको अभिनय अब्बल दर्जाको छ ।’

आफूले दुई दशकको पत्रकारिता यात्रामा कहिल्यै पनि अस्वस्थ प्रतिष्पर्धा नगरेको भन्दै उनले फिल्म क्षेत्रमा नगर्ने बताए । उनले भने, ‘हामीले अनुरागको रिलिज डेट आजभन्दा तीन महिनाअघि नै सार्वजनिक गरेका हौं । असोज १२ गते हाम्रो मुभी देशैभरि प्रदर्शनमा आउँदैछ । अब त्यो दिन अरु पनि मुभी रिलिज हुँदैछन् । तर, ऋषि धमला भागेर पछि हट्दैन ।’

धमलापत्नी तथा चलचित्रकी नायिका एलिजाले पनि चलचित्र हेर्न दर्शकहरु हलसम्म आउने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment