Comments Add Comment

वीरगञ्जका मेयरको चेतावनीः प्रेमपूर्वक भनिरहेका छौं, नमाने कानूनी डण्डा चल्छ

१४ असोज, वीरगञ्ज । व्यापारिक पृष्ठभूमिका विजय सरावगीले वीरगञ्ज महानगरपालिकाको मेयरमा लड्दा ‘मेरो कसम’ नाममा आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए । प्रतिज्ञापत्रमा महानगरलाई व्यवस्थित गर्नेदेखि विकासका ठूला आश्वासनका फेहरिस्त थिए ।

मतदाताले उनलाई पत्याए पनि । तर, मेयर भएको एक वर्ष बितिसक्दा सरावगीले आफ्नो उपस्थितिको महसुस गराउन सकेका छैनन् । वीरगञ्जका प्रायः सबै क्षेत्रमा महानगरपालिकाको कामप्रति असन्तुष्टिका आवाज सुनिन्छ ।

स्थानीय उद्योगी-व्यवसायी पनि मेयरसँग खुशी छैनन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा मेयर सरावगीले एक वर्षे कार्यकालमा देखिने गरी काम गर्न नसकेको बताउँछन् । महानगरले जथाभावि कर बढाएको भन्दै शर्माकै नेतृत्वमा आन्दोलनसमेत चल्यो । अन्नतः महानगरले कर बढाउने निर्णय फिर्ता गर्‍यो । कवाडी कर र सम्पत्ति करमा महानगरले जनताको ढाड सेक्ने काम गरेकाले फिर्ता गराउनुपरेको अध्यक्ष शर्माको भनाइ छ ।

महानगरपालिकाका स्थानीय ताराप्रसाद गुप्ताले ९९ प्रतिशत जनता महानगरको कामबाट असन्तुष्ट रहेको प्रतिक्रिया दिए । ‘राजनीतिक दलका नेतामा भिजन छैन, भत्ता र सेवा सुविधाबाहेक उनीहरुको कुनै सरोकार छैन’ स्थानीय उद्योगीसमेत रहेका गुप्ताले भने, ‘महानगरमा बाटो, ढल, फोहर, पिउने पानीकै समस्या छ, महानगरको ध्यान कर उठाउनेतिर मात्रै केन्दि्रत छ ।’

अर्का स्थानीय विजय सर्राफ भने महानगरले अपेक्षाअनुसार विकासका काम गर्न नसके पनि केही सुधारका काम भएको बताउँछन् । तर, काम-कारबाहीको गतिप्रति उनी पनि सन्तुष्ट छैनन् ।

अहिलेसम्म प्रेमपूर्वक भनिरहेका छौं, यदि त्यसले पनि भएन भने कानुनी डण्डा चल्छ । खानेपानीका आयोजनामा पनि राजनीति गरिएको छ । यस्तो हुनु हुँदैन

आखिर किन महानगरपालिका जनआकांक्षा पूरा गर्न चुक्यो ? संघीय समाजवादी फोरमबाट मेयर जितेका सरावगी भन्छन्, ‘सोचेअनुकुल वातावरण नबन्दा काम गर्न अप्ठेरो भयो ।’

जनअपेक्षाअनुसार काम गर्न नसकेको उनी स्वयमलाई महसुस भएको छ । तर, त्यसको दोष उनले विपक्षीमाथि खन्याए ।

एउटा उदाहरण प्रस्तुत गर्दै सरावगीले भने, ‘बनिसकेको पुल सञ्चालनमा ल्याउन ऐलानी जग्गासमेत खाली गर्न दिइएन । संसद विकास कोषको खर्चमा बनेको पुलमा पनि राजनीति भयो,’ उनले भने, ‘पुल प्रयोग गर्न नपाएर स्थानीय जनता ३-४ किलोमिटर घुमेर यात्रा गर्न वाध्य छन् । यो राजनीतिक संस्कार रहेसम्म अप्ठ्यारो हुन्छ ।’

विकासमा साझा मुद्दामा राजनीतिक दलहरु मिलेर अघि बढ्न नसक्दा समस्या भएको उनको गुनासो छ । ‘अहिलेसम्म प्रेमपूर्वक भनिरहेका छौं, यदि त्यसले पनि भएन भने कानुनी डण्डा चल्छ,’ उनले भने, ‘खानेपानीका आयोजनामा पनि राजनीति गरिएको छ । यस्तो हुनु हुँदैन ।’

महानगरमा एक वर्षमा धेरै काम हुन नसक्नुमा जनशक्तिको अभाव अर्को समस्या भएको उनको तर्क छ ।

ब्यापारिक पृष्ठभूमिका मेयर सरावगीमा राजनीतिक नेतृत्व क्षमता नभएको आरोप विपक्षीहरु लगाउँछन् । मेयर सरावगी भने त्यसलाई स्वीकार्दैनन् । ‘व्यापारिक मान्छे भए पनि राजनीतिज्ञभन्दा कम जनतासँग जोडिएका मान्छे म होइन,’ उनी भन्छन्, ‘यो ८ महिनासम्म विपक्षी दलका साथीहरु चुनावकै ‘ह्याङ ओभर’मा हुनुहुन्छ । त्यसलाई नछोड्दासम्म अवस्था सहज बन्दैन ।’

महानगरले ल्याएको करको नयाँ दरको विरोध पनि त्यसैका कारण भएको उनको निष्कर्ष छ । व्यवसायीहरुको अगुवाइमा आन्दोलन भएपछि महानगर घरजग्गा करको मूल्यांकनबाट पछि हट्नु परेको थियो । यसले आन्तरिक आम्दानीको प्रक्षेपणमा ठूलो धक्का लागेको छ । अहिले १७ करोड आन्तरिक आम्दानी गरिरहेको महानगरले यो वर्ष ७० करोड पुर्‍याउने महत्वाकांक्षी योजना बनाएको थियो । तर, करका दर समायोजन गर्दा २६ करोड रुपैयाँ प्रक्षेपित राजश्व घट्ने अवस्था आएको छ ।

‘अब कति पैसा उठ्छ थाहा छैन,’ मेयर भन्छन्, ‘त्यसैले पुससम्मलाई विकासका कामहरु रोकेका छौं ।’

‘अब केन्द्रले हेरोस्’

वीरगञ्जका झण्डै ५ सय बिगाहा सार्वजनिक जमीनमध्ये आधाजसो भू-माफियाले कब्जा गरिसकेका छन् ।

हिजोसम्म पो हामी किंङ मेकर थियौं, अब त हामी किंङ बन्दैछौं, पाँच वर्षमा वीरगञ्जलाई एउटा गतिमा ल्याइसक्छु । त्यसपछि आउने मेयरले प्रणाली, कार्यशैली र भ्रष्टाचारसँग लड्नुपर्दैन

मालपोत र नापीका कर्मचारीसँगको मिलेमतोमै सार्वजनिक जग्गालाई हकभोग, भोगचलन लगायतका विभिन्न बाहनामा निजीकरण गर्ने क्रम जारी छ । महानगर एक्लैले त्यसलाई रोक्न नसक्ने भएकाले केन्द्र सरकारले आयोग बनाएर छानविन र नियन्त्रणको पहल गर्नुपर्ने मेयर सरावगी बताउँछन् ।

‘मालपोतका कर्मचारीले नयाँ नक्सा भन्छन् । २०२१ सालको नक्सा नै निकाल्दैनन्,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति बाँडीचुँडी खाने समस्या रोक्न जरुरी भइसकेको छ ।’

मेयर सरावगीको भनाइमा वीरगञ्जले सिंगो देशलाई पालेको छ, तर त्यसअनुसार माया पाएको छैन । अब महानगरलाई केन्द्र सरकारको लगानी चाहिएको उनी बताउँछन् । ‘यदि सही नियतका साथ वीरगञ्जलाई महानगर बनाइएको हो भने ग्रामीण क्षेत्रलाई अपग्रेड गर्न साधन र सोत दिनुपर्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस नाकाबन्दीपछि ४ कारणले सुस्ताएको वीरगञ्जको व्यथा

‘किंङ मेकर थियौं, अब किङ बन्दैछौं’

मेयर सरावगीसँग गुनासो मात्र छैन । वीरगञ्जलाई विकासको गति दिने आत्मविश्वास पनि बाँकी नै छ । आफूले लथालिंग अवस्थामा महानगरको नेतृत्व सम्हालेको भन्दै उनले एक वर्षमा विकासको जग खनेको दावी गरे ।

‘हिजोसम्म पो हामी किंङ मेकर थियौं, अब त हामी किंङ बन्दैछौं’ उनले भने, ‘पाँच वर्षमा वीरगञ्जलाई एउटा गतिमा ल्याइसक्छु । त्यसपछि आउने मेयरले प्रणाली, कार्यशैली र भ्रष्टाचारसँग लड्नुपर्दैन ।’

पाँच वर्षभित्र वीरगञ्जको यातायात सहज बनाउने उनको योजना छ । साथै महानगरलाई मेडिकल र शिक्षाको हब बनाउन निजी क्षेत्रलाई आकर्षित गर्ने सोच छ ।

वीरगञ्ज कोलकता बन्दरगाहबाट नजिक छ । भारतीय रेल्वे लिंकहरु रक्सौलसम्म आइसकेका छन् । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्दैछ । फास्ट ट्रयाकको काम धमाधम अघि बढेको  छ । अन्यत्रको तुलनामा ‘सस्तो’ श्रम शक्ति पनि उपलब्ध छ । सबै कारणले यहाँ औद्योगिक विकासको सम्भावना पनि उत्तिकै छ ।

मेयर सरावगी अबको वीरगञ्ज महानगरलाई औद्योगिक नगरीका रुपमा विकास गर्न केन्दि्रत भएर लाग्ने बताउँछन् ।

जनता पनि जाग्नुपर्‍यो

वीरगञ्जको अर्को समस्या भनेको फोहोर हो । जनचेतनाको कमी रहेका कारण सफाइ र स्वास्थ्यसम्बन्धी समस्या अत्यधिक देखिएको मेयर सरावगी बताउँछन् । पूर्वाधार बनाएर मात्रै नहुने भन्दै उनले त्यसको सदुपयोग र सरसफाइका लागि जनचेतना अभियान चलाउने बताए ।

उनका अनुसार अहिले साक्षरता अभियान र खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment