Comments Add Comment

आजका पत्रपत्रिकाः प्रधानमन्त्रीनिवासको बगैंचा सिंगार्न ५ करोड खर्च

१६ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेताको विदेश मोह, चिनीमा भएको मनलाग्दी मूल्यवृद्धिदेखि महिला हिंसालगायतका विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

पहिलो पृष्ठमै पहाडमा २० वर्ष पुराना गाडी चलाउने तयारी गरिएको, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण पुसदेखि हुने भएको, बालुटारको बगैंचा रंगरोगनमा पाँच करोड खर्च भएको, खानेपानी संस्थानको पाइप खरिदमा २५ करोड घोटाला भएको लगायत समाचार प्रकाशित छन् ।

प्रदेश ७ को राजधानी तोकिएको स्थानबारे असन्तुष्टि बढिरहेका बेला कान्तिपुरले राजधानी तोकिएको गोदावरीमाथि १९६ वटा साना ठूला पहिरो रहेको लेखेको छ ।

कान्तिपुरका अनुसार चुरेमा बर्सेनि बढिरहेका पहिरो नियन्त्रण गर्नुको साटो त्यसको फेद (भावर) मा प्रेसर बढाउँदा तल्लो तटीय क्षेत्र मरुभूमि बन्न सक्ने भूगर्भविदहरुले औंल्याएका छन् ।

कान्तिपुर लेख्छ– गोदावरी नगरपालिकाको चुरे क्षेत्रमा मात्रै १ सय ९६ वटा साना–ठूला पहिरा छन् । गोदावरी नगरपालिकासँग जोडिएका आसपासका चुरे क्षेत्रमा ८ सय हाराहारीमा पहिरो छन् । विशेषज्ञहरुले ४ सय मिटरभन्दा बढी लम्बाइ भएका पहिरोलाई मात्र पहिरोको गणनामा राखेका छन् ।

सरकारले पहाडमा २० वर्ष पुराना गाडी चलाउन दिने तयारी गरेकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै ०७४ चैत १ देखि मुलुकभर २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाइएको थियो । प्रदूषण र दुर्घटनाको जोखिमका कारण त्यस्ता गाडी हटाउन लागिएको भए पनि सरकारले पुनः पहाडमा सञ्चालनको तयारी गरेको छ ।

माधव नेपालको बढ्दो विदेश मोहबारे समाचार लेखेको अन्नपूर्णले खानेपानी संस्थानको पाइप खरिदमा २५ करोड घोटाला भएको छापेको छ । समाचार अनुसार खरिद ऐन मिचेर संस्थानले ५० करोडको ठेक्का दिएर २५ करोडको मात्रै पाइप किनेको हो । जसमा संस्थानका महाप्रबन्धक स्वयं संलग्न रहेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री निवासको बगैंचा सिंगार्न पाँच करोड खर्च भएकोलाई अन्नपूर्णले एंकर बनाएको छ ।

अन्नपूर्ण लेख्छ– सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ ।

समाचार अनुसार भीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिन गरी बगैंचा व्यवस्थापनको काम गरेको हो । त्यो अहिले अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारभित्रै मुख्यसचिव बस्ने सरकारी आवास निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । हालसम्म बालुवाटारमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख मात्रै बस्दै आएकोमा मुख्य सचिवलाई समेत राख्न ४ करोडको लागतमा आवास निर्माण गर्न लागिएको हो ।

अदालतमा महिला मुद्दाको सुनुवाइबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण पुसदेखि हुनेदेखि दशैंमा यात्रुले पालो कुर्नुनपर्ने सम्मका खबर छापेको छ ।

नागरिकले निर्मला पन्त हत्या प्रकरणको छानबिनबारे प्रश्न उठाएको छ भने राजधानीले नेकपाका शीर्ष नेताको विदेश भ्रमण मोहबारे लेखेको छ ।

गोरखापत्रमा प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत् संयन्त्रको निरीक्षण गरिएको खबर छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment