+
+
Shares

भर्नाको मुखमा निजी मेडिकल कलेजको बखेडा : सिट र शुल्क बढाऊ, नत्र पढाउँदैनौं

चिकित्सक उत्पादन आवश्यकताभन्दा बढी

चिकित्सा शिक्षा आयोगले सिट र शुल्क निर्धारण गरेपछि निजी मेडिकल कलेज सञ्चालक फेरि असन्तुष्ट बनेका छन् । उनीहरूले भर्नाको मुखमा सिट र शुल्क बढाउन दबाब दिने पुरानै शैली दोहोर्‍याएका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ मंसिर ७ गते २०:१९

७ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक सत्र २०८३/०८४ का लागि सिट र शुल्क निर्धारण भइसकेको छ । अब विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउने चिकित्सा शिक्षा आयोगको तयारी छ । तर निजी मेडिकल कलेज सञ्चालक भने फेरि सिट र शुल्कको विषय उठाएर भर्ना प्रक्रियामै अवरोध खडा गर्न खोजिरहेका छन् ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले आयोगलाई पत्र लेख्दै यथास्थितिमा एमबीबीएस लगायतका विषयमा विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ । मेडिकल कलेजको सिट बढ्नुपर्ने र शिक्षण शुल्क पुनरवलोकन हुनुपर्ने उनीहरूको माग छ ।

भर्ना प्रक्रिया सुरु हुने बेला निजी मेडिकल कलेज सञ्चालकले सिट र शुल्कको विषय उठाएर दबाब सिर्जना गरेको यो पहिलो पटक भने होइन । वर्षौंदेखि उनीहरूको एउटै चेतावनी हुन्छ– सिट बढाऊ, शुल्क बढाऊ, नत्र पढाउँदैनौं ।

आयोगले भने मापदण्ड र पूर्वाधारका आधारमा सिट निर्धारण गर्दै आएको छ । यस वर्ष प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको आयोगको २८औँ बैठकले ८४ वटा शिक्षण संस्थाका लागि कूल ९ हजार ६९१ सिट निर्धारण गरेको छ । अघिल्लो वर्षको तुलनामा ४१८ सिट थपिएका छन् । एमबीबीएसमा मात्रै ११० सिट वृद्धि गरिएको छ ।

तर, यस पटक थपिएका सिट सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा मात्रै केन्द्रित भएको भन्दै निजी कलेज सञ्चालक असन्तुष्ट छन् । उनीहरू निजी कलेजमा पनि सिट थपिनुपर्ने अडानमा छन् ।

निजी मेडिकल कलेज सञ्चालकको सिट बढाउने दबाबले गत वर्ष पनि चिकित्सा शिक्षा क्षेत्रको बहस तातेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा निजी मेडिकल कलेज सञ्चालकको मागअनुसार एमबीबीएसको अधिकतम सिट संख्या १०० बाट १३० पुर्‍याइएको थियो । गत वर्ष निजी मेडिकल कलेजमा एमबीबीएसतर्फ ४९५ सिट थपिएको थियो ।

अघिल्लो वर्ष पनि मेडिकल कलेजले मोलमोलाइ गरेर नै एमबीबीएसतर्फको सिट बढाएका थिए । त्यसबेला स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएसका आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने विषय उत्कर्षमा पुगेको थियो । सरकारसँग निजी मेडिकल कलेजको एमबीबीएस र बीडीएस लगायतको सिट बढाउँदा मात्र पीजी चिकित्सकलाई निर्वाह भत्ता दिने सम्झौता भएको थियो ।

चिकित्सा शिक्षामा सिट बढाउने वा घटाउने निर्णय देशलाई चाहिने जनशक्ति आवश्यकताको आधारमा हुनुपर्ने हो । तर सिट निर्धारणको विषयलाई सञ्चालकहरूले संस्थाको आर्थिक अवस्थासँग मात्रै जोडेर हेर्छन् ।

सरकारी तथ्यांकले नै देशको आवश्यकताभन्दा बढी चिकित्सक उत्पादन भइरहेको देखाउँछ । आयोगले नै गरेको प्रक्षेपणले आगामी दिनमा नेपालमा चिकित्सकको अभाव होइन, उत्पादनको चाप बढ्ने देखाउँछ । त्यसविपरीत मेडिकल कलेजमा सिट थप्ने क्रम भने रोकिएको छैन ।

आयोगले २०८० सालमा सार्वजनिक गरेको ‘नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९–२०८७)’ प्रतिवेदनले २०८७ सम्म नेपाललाई एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहका गरी जम्मा ३२ हजार २१९ चिकित्सक आवश्यक पर्ने आकलन गरेको थियो ।

त्यो पनि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको जनसंख्या र चिकित्सकको अनुपात कायम गर्ने लक्ष्यसहितको प्रक्षेपण हो । अहिले नै नेपालमा दर्ता भएका चिकित्सकको संख्या ४३ हजार हाराहारीमा पुगिसकेको छ । विदेशिएका र सेवाबाट निवृत्त भएकाहरूलाई समेत घटाउँदा सक्रिय चिकित्सक मागभन्दा बढी नै छन् ।

यस्तो अवस्थामा पनि मेडिकल कलेजमा एमबीबीएसका सिट थप्ने क्रम रोकिएको छैन । २०८१/०८२ मा देशभर एमबीबीएसका सिट २ हजार १४० थिए । गत वर्ष एकै पटक ४९५ सिट थपेर २ हजार ६३५ पुर्‍याइयो । यस वर्ष फेरि ११० सिट थपिएपछि संख्या २ हजार ७४५ पुगेको छ ।

यसमाथि पनि निजी मेडिकल कलेजको एउटै रटान छ– सिट संख्या बढ्नुपर्‍यो ।

एमबीबीएसमा मात्रै होइन, बीडीएसतर्फ पनि उत्पादनको चाप उस्तै छ । नेपालमै वर्षेनी ६०० भन्दा बढी विद्यार्थीले बीडीएस पूरा गर्छन् । विदेशमा चिकित्सा शिक्षा पढेर फर्किनेहरूलाई समेत जोड्ने हो भने वार्षिक करिब ४ हजार चिकित्सक उत्पादन हुने अवस्था छ ।

अहिलेकै दरमा चिकित्सक उत्पादन भइरहने हो भने २०८७ सम्म दर्ता चिकित्सकको संख्या ५५ हजार नाघ्न सक्छ । विदेशिएका र सेवाबाट निवृत्त भएकाहरूलाई कटाउँदा पनि ४० हजारभन्दा बढी चिकित्सक सेवाका लागि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

जबकि, चिकित्सा शिक्षा आयोगकै प्रक्षेपणअनुसार त्यतिबेला देशलाई आवश्यक पर्ने चिकित्सकको संख्या ३२ हजार २१९ मात्रै हो ।

चिकित्सक अभावको तर्क देखाएर मेडिकल कलेजका सिट थप्दा केही वर्षमै नेपालमा आवश्यकताभन्दा बढी चिकित्सक उत्पादन हुने विज्ञ बताउँछन् ।

देशलाई कस्तो चिकित्सक चाहिएको छ, कुन विधामा जनशक्ति अभाव छ र कुन क्षेत्रमा उत्पादन भइसकेका जनशक्ति पर्याप्त छन् भन्ने प्रश्नमा राज्यको ध्यान गएको छैन ।

चिकित्सा शिक्षाको सर्वोपरि उद्देश्य गुणस्तरीय शिक्षा हो । यदि गुणस्तरीय चिकित्सा शिक्षा नहुँदा गुणस्तरीय जनशक्ति उत्पादन हुँदैन । जसका कारण गुणस्तरीय स्वास्थ्य सेवा र डेलिभरी हुन सक्दैन ।

समाजमा डाक्टर बन्ने र बनाउने ठूलो चाहना छ । विज्ञान विषय पढ्ने अधिकांश विद्यार्थी डाक्टर बन्न चाहन्छन् । तर इच्छा हुँदैमा सबैलाई डाक्टर पढाएर साध्य हुँदैन । डाक्टर बन्ने इच्छाले मात्र पुग्दैन, क्षमता चाहिन्छ ।

अहिलेको समयमा क्षमता मात्र भएर पनि पुग्दैन । अब समाजप्रति उत्तरदायी जनशक्ति आवश्यक छ । पैसा र इच्छाको भरमा मात्र डाक्टर बनाउने प्रवृत्ति उपयुक्त नहुने र देशलाई आवश्यकताको आधारमा जनशक्ति उत्पादन विज्ञ बताउँछन् ।

आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीको भनाइमा अहिले चिकित्सा शिक्षा नीति देशको आवश्यकताभन्दा बजारको माग र मेडिकल कलेज सञ्चालकको व्यावसायिक स्वार्थबाट निर्देशित छ ।

‘जति मन लाग्यो त्यति जनशक्ति उत्पादन गर्ने हो कि आवश्यकताका आधारमा उत्पादन गर्ने हो ?,’ डा. गिरी प्रश्न गर्छन्, ‘मेडिकल शिक्षामा पनि डिमान्ड एन्ड सप्लाइको सिद्धान्त लागु भयो । विद्यार्थी र अभिभावकको माग एमबीबीएसमा छ । त्यही पढेपछि बिक्छ भन्ने छ । त्यसैले व्यवसाय गर्नेहरू पनि त्यसमै सिट बढाउन चाहन्छन् ।’

डा. गिरीका अनुसार चिकित्सा शिक्षामा जनशक्ति उत्पादनको बहस एमबीबीएस र स्टाफ नर्सको सिटमा मात्र सीमित हुनु नै नीतिगत कमजोरी हो । देशमा आवश्यकताभन्दा बढी जनशक्ति उत्पादन भइरहेका विधामा थप सिटको माग गरिँदै छ । तर स्वास्थ्य प्रणालीलाई वास्तवमै आवश्यक पर्ने विधा भने राज्य र निजी क्षेत्र दुवैको प्राथमिकतामा परेका छैनन् ।

चिकित्सा शिक्षालाई सेवाको आवश्यकता पूरा गर्ने माध्यमभन्दा व्यापारको क्षेत्रका रूपमा हेरिएको डा. गिरी बताउँछन् । विद्यार्थीले बढी पैसा तिरेर पढ्न चाहने विषयमा निजी क्षेत्रको लगानी केन्द्रित छ । राज्यसमेत त्यही दबाबमा निर्णय गरिरहेको छ ।

चिकित्सा शिक्षाको असन्तुलनलाई औंल्याउँदै गिरी प्रश्न गर्छन्, ‘जहाँ जनशक्तिको ग्याप छ, त्यो पूरा गर्न उत्पादन बढाउनुपर्ने हो । तर पैसा तिरेर धेरै पढ्न चाहने विद्यार्थी जहाँ छन्, ध्यान त्यतै मात्रै गइरहेको छ । जनतालाई चाहिने जनशक्ति उत्पादन गर्नेमा कसैको ध्यान छैन ।’

विद्यार्थी भर्ना नै रोक्ने चेतावनी

यता, एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिन्छन् । सरकारले शुल्क समायोजन र सिट परिमार्जन नगरे एमबीबीएस लगायतका विद्यार्थी पढाउन नसक्ने उनको भनाइ छ ।

‘१० वर्षमा एमबीबीएसको शुल्क जम्मा दुई लाख रुपैयाँ मात्रै बढेको छ । जबकि, यही अवधिमा महँगी र सञ्चालन खर्च कैयौँ गुणा बढेको छ,’ डा. कार्की भन्छन्, ‘महिनाको ५५ हजार रुपैयाँ लिएर मेडिसिन जस्तो महँगो विषय कसरी पढाउने ? बैंकको ब्याज बढाएर मात्रै संस्था चलाउन सकिँदैन ।’

शिक्षण शुल्कलाई स्थिर राख्न नहुने तर्क गर्दै कार्कीले बजारको मूल्य, मुद्रास्फीति, सञ्चालन लागत र कलेजको कार्यसम्पादनका आधारमा शुल्क निर्धारण गर्नुपर्ने बताए ।

पछिल्ला पाँच आर्थिक वर्षमा मुद्रास्फीति करिब २६.६४ प्रतिशत पुगेको एसोसिएसनको दाबी छ । मुद्रास्फीतिसँगै सञ्चालन खर्च बढे पनि शुल्क समायोजन नहुँदा कलेजहरू आर्थिक दबाबमा परेको एसोसिएसनले जनाएको छ ।

आयोगको १८औँ पूर्ण बैठकबाट गठित शुल्क तथा सिट पुनरावलोकन कार्यदलले स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको शुल्क पुनरवलोकन गर्न सिफारिस गरे पनि कार्यान्वयन नभएको डा. कार्की बताउँछन् ।

आयोगले एमबीबीएस पढ्न उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकेको छ । त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ ।

तर, निजी मेडिकल कलेजको यस्तो चेतावनीपछि आयोगले के गर्छ भन्ने प्रश्नमा आयोगका सदस्य सचिव हरि निरौला स्पष्ट जवाफ नदिई पन्छिए ।

आयोगले सिट निर्धारण गरिसकेको अवस्थामा कलेजहरूले भर्ना लिन अस्वीकार गरे अबको प्रक्रिया के हुन्छ भन्ने प्रश्नमा निरौलाले आफूलाई यसबारे आधिकारिक जानकारी नभएको बताए ।

‘मलाई केही नसोध्नुहोस्, यसबारे मसँग त्यस्तो आधिकारिक सूचना छैन,’ उनले भने ।

बरु उनले आयोग एक्लैले केही गर्न नसक्ने भन्दै जिम्मेवारी अरू निकायमाथि सार्न खोजे । ‘सबैसँग समन्वय गरेर अगाडि बढ्दा राम्रो हुन्छ । आयोग एक्लैले गर्नसक्ने केही पनि छैन,’ निरौलाले भने ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?