News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ शिक्षण संस्थामा ९ हजार ६९१ सिट निर्धारण गर्दै ४१८ सिट थप गरेको छ।
- एमबीबीएसतर्फ ११० सिट थपिँदा गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक ५० सिट र बीपी तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३०/३० सिट दिइएको छ।
- बीएस्सी नर्सिङमा २१० सिट र बीएमएसमा ९८ सिट थपिएको आयोग स्रोतले जनाएको छ, भने निजी मेडिकल कलेजको सिट संख्या यथावत् राखिएको छ।
३० असोज, काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमतर्फ ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका शैक्षिक कार्यक्रममा गत वर्षको तुलनामा ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कूल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले बतायो ।
स्रोतका अनुसार, यस वर्ष एमबीबीएसमा मात्रै ११० सिट थप गरिएको छ ।
यस वर्षको सिट निर्धारणमा सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता आयोग स्रोतले बतायो । ‘आयोगले निजी मेडिकल कलेजहरूको सिट संख्या भने बढाएको छैन । सरकारी शिक्षण संस्थामा उपलब्ध पूर्वाधार, जनशक्ति र अनुगमन प्रतिवेदनका आधारमा सिट थप गर्ने निर्णय भएको हो,’ स्रोतले भन्यो ।
आयोगका अनुसार यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको थियो । अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ८४ वटा संस्थाको सिट निर्धारण गरिएको हो ।
शिक्षण संस्थाले सिट माग गर्दैमा स्वीकृति नदिइने र उपलब्ध भौतिक पूर्वाधार, शिक्षक तथा जनशक्तिको अवस्था र अन्य आवश्यक मापदण्डको अनुगमनपछि मात्रै सिट निर्धारण गरिने आयोग स्रोतको भनाइ छ ।
एमबीबीएस कार्यक्रममा यस वर्ष ११० सिट थप गरिएको छ । आयोगले कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरेको छ । यस निर्णयसँगै विश्वविद्यालयमा चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट सुनिश्चित भएको छ ।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएसका सिट बढाइएको छ । दुवै संस्थामा गत वर्षको तुलनामा ३०/३० सिट थप गरिएको आयोग स्रोतले जनाएको छ ।
गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई निर्धारण गरिएको ५० सिट र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप गरिएका ३०/३० सिट जोड्दा एमबीबीएसतर्फ कुल ११० सिट वृद्धि हुन्छ ।
आयोगले यस वर्ष बीएस्सी नर्सिङ कार्यक्रममा गत वर्षको तुलनामा यस कार्यक्रममा २१० सिट वृद्धि गरिएको आयोग स्रोतले जानकारी दिएको छ । यसैगरी, बीएमएस कार्यक्रममा गत वर्षको तुलनामा ९८ सिट थप गरिएको छ । आयोगले विभिन्न शैक्षिक कार्यक्रमको माग, संस्थाको क्षमता र अनुगमन प्रतिवेदनका आधारमा यस वर्षको सिट निर्धारण गरेको हो ।
‘एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसमा केन्द्रित छ । निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको छ,’ आयोग स्रोतले भन्यो ।
प्रतिक्रिया 4