Comments Add Comment

फुटबलबाहेक केही सोचिनँ, सोच्नु पनि परेन

मनाङ मर्स्याङ्दी छाडेर किन थ्रीस्टार ? यति छिटो राष्ट्रिय टिमबाट किन सन्यास ? अब के गर्ने त ? … अहिले मलाई सोधिने धेरैजस्तो प्रश्न यस्तै छन् । जवाफका लागि तपाइँहरुले मेरो फुटबल यात्रालाई हेर्नुपर्ने हुन्छ ।

छोरालाई लाहुरे बनाउने बुवाआमाको सपनालाई कुल्चिएर फुटबलमा करिअर बनाउन मलाई सजिलो थिएन । सहारा क्लबमा ४०० जनाबीच भएको छनोटबाट ३० जनाभित्र पर्न सजिलो थिएन । नाकको हड्डी भाँच्चिदा पनि हतोत्साही नभई फुटबलमा लागिरहन पनि त्यति सजिलो थिएन ।

आठ कक्षामा पढिरहेको बेला बिग्रेड ब्वाइजले ए डिभिजन लिग खेलाउन त्यसै ल्याएन होला । राष्ट्रिय टिममा १० वर्षसम्म १० नम्बर जर्सी लगाएर खेल्ने अवसर त्यसै पाइनँ होला ।

मलाई आशा छ, अन्त्यसम्म पढिसक्दा मेरोबारे तपाईंले थुप्रै प्रश्नहरुको जवाफ पाउनुहुनेछ ।

***

मेरो पुर्ख्यौली गाउँ स्याङ्जाको दरौं हो । त्यहीँको स्कुलमा चार कक्षासम्म पढें । दरौं पर्यटकीय गाउँ पनि हो । गुरुङ समाजको अरु वातावरण पनि राम्रो थियो । त्यहाँ जन्मिएर हुर्किन पाउनुलाई आफ्नो सौभाग्य मान्छु ।

दरौंमा भलिबललगायत खेलकुदका प्रतियोगिता हुने गर्दथे । स्कुलमा पनि खेलकुद गतिविधि राम्रो थियो । रमाइलोमै बाल्यकाल बितिरहेको थियो । तर, चार कक्षा पुगेपछि मैलै दरौं छाड्नुपर्‍यो ।

मेरो बाबा भारतीय सेनामा हुनुहुन्थ्यो । उहाँको अवकाशपछि परिवार पोखरामा बस्न थाल्यो । अहिले पनि हाम्रो घर पोखराको मालेपाटनमै छ । त्यहीँ बस्छौं । मालेपाटनमा पनि दरौंमा जस्तै रमाइलो लाग्छ ।

पाँच कक्षादेखि घर नजिकैको बाराही स्कूलमा पढें । स्कूल राम्रो थियो । मेरो लागि त त्यहाँ सबैभन्दा सम्झनायोग्य फुटबल मैदान नै हो । त्यो मैदान नभएको भए म अहिले यो ठाउँमा हुन्थेँ कि हुन्नथेँ । वास्तवमा खेल मैदानले नै खेलाडी जन्माउने हो नि ।

सिनियर दाइहरु खेल्ने, हामी हेर्ने । यसरी नै म फुटबलतिर तानिएँ । कालान्तरमा फुटबल एउटा नशा जस्तै भयो ।

पाँच कक्षादेखि बाराही स्कूलमा पढें । मेरो लागि त त्यहाँ सबैभन्दा सम्झनायोग्य फुटबल मैदान नै हो । त्यो मैदान नभएको भए म अहिले यो ठाउँमा हुन्थेँ कि हुन्नथेँ ।

हुन त मैले स्कूलमा धेरै खेलहरू खेलें । सबैजस्तो खेलमा पहिलो नै हुन्थेँ। त्यसमा पनि फुटबलमा निकै राम्रो हुँदै गयो । फुटबलले गर्दा नै दौडमा पनि राम्रो गरिरहेको थिएँ ।

सानोमा हामी स्कुलकै ड्रेस लगाएर खेल्थ्यौं तर, खाली खुट्टा । एकपटक देब्रे खुट्टाले कसेर बल हान्दा बुढी औंलाको कापमा ढुंगा छिर्‍यो । ढुंगा गडेर रगत बग्न थालिहाल्यो । साथीले गडेको ढुंगा निकालिदियो । साइकलमा राखेर घर लग्यो ।

अहिलेसम्म याद आउँछ, घरमा बज्यै आमा (आमाको आमा)ले असाध्यै गाली गर्नुभयो । अहिलेसम्म त्यो ढुंगा गडेको दाग खुट्टामा छ ।

त्यसपछि भने हामीलाई खाली खुट्टा खेल्न डर लाग्यो । स्कूलकै जुत्तामा खेल्न थाल्यौं । त्यो जुत्ता फाट्ने डर भइरहन्थ्यो । भोलि स्कूल लगाएर जानुपर्ने जुत्ता धुस्नो पारेर घर र्फकंदा गाली पनि खाइन्थ्यो ।

पछि मैले नेपाली बुट लगाएर खेल्न थालेँ । रबरको गिटी भएको त्यो कालो बुट कतिलाई त थाहा पनि छैन होला । बज्यैआमासँग धेरै किचकिच गरेर सय रुपैयाँमा किनाएको थिएँ । त्यसपछि खेल्न थप जोश आयो । राम्रो खेल्दै गएपछि ठूला दाइहरुले पनि खुब माया गर्थे । उनीहरुलाई सानो भएका पुराना बुटहरु हामीलाई दिन्थे ।

त्यो कालो नेपाली बुटपछि अरु कति बुट फटाइयो याद नै छैन । तर सबैभन्दा याद आउने त्यही कालो बुट नै हो ।

***

मालेपाटनमा नै हाम्रो ‘गोल्डस्टार फुटबल टिम’ थियो । नामै युनिक छ नि हैन ? आखिर नामाकरण गरेको कसले ?

टिम बनाएपछि हाम्रो फुटबल गतिविधि बढ्दै गयो । मलाई याद छ टिममा मभन्दा राम्रो खेल्ने चार-पाँच जना साथीहरु थिए । टोलमा खेल्दै जाँदा धेरै प्रतियोगितामा गोल्डस्टार टिमको नाम लेखाइयो । स्कूलस्तरमा हुने प्रतियोगिताहरु पनि जितिरहेका थियौं ।

म १२ वर्षको हुँदा सहारा क्लबले एकेडेमीका लागि साना खेलाडीहरु छान्दै छ भन्ने सुनियो । एफएम, पत्रपत्रिकातिर सहारा क्लबको नाम त हामीले पनि सुनिरहेका थियौं । पोखराकै राम्रा खेलाडीहरु भएको क्लबमा खेल्ने इच्छा पक्कै थियो । जाने सल्लाह गर्‍यौं र गोल्डस्टार टिमबाटै १६ जना ट्रायलका लागि गयौं ।

हामी एउटै क्लबबाट १६ जना जाँदा उत्साहित थियौं । फर्म भरियो र अभ्यासका लागि गइयो । पछि पो थाहा पाइयो, हामी जस्तै ३८४ जना अरु पनि आइसकेका रहेछन् ।

त्यत्रो खेलाडीबाट छानिने जम्मा ३० जना । पोखरा रंगशाला पूरै भरिभराउ थियो । एउटा क्लबको एकेडेमीका लागि त्यतिका मान्छे आउनु सानो कुरा हो त ? सहारा क्लबमा अलिहेसम्म त्योबेलाको फोटोहरु छन् ।

छानिएका ३० जनामा हाम्रो मालेपाटन गोलस्टार क्लबबाट मसहित ३ जना पर्‍यौं । त्यो बेला एकेडेमीको अभ्यासमा पनि त्यहीं बस्नुपर्ने वाध्यता थिएन । बिहान घरबाट नै अभ्यासका लागि जान पाइन्थ्यो । नियमित अभ्यास हुन थाल्यो ।

हामी सबैलाई क्लबले एउटा बल पनि दिएको थियो । त्यही बल साइकलको पछाडि बाँधेर म बिहानै रंगशाला पुग्थें । बुट, जर्सीसहित अरु सामानहरु क्लबले नै दिएको थियो । बिहान ६ बजे उठेर रंगशाला गयो, दुई घण्टा अभ्यास गरेर घर आएर खाना खायो, अनि स्कुल गयो । यसरी नै बित्नथाले दिनहरु ।

साहारा क्लबको एकेडेमीमा नपरेका अरु साथीहरु गोल्डस्टार क्लबमै थिए । हामी पनि साहाराको खेल नहुँदा गोल्डस्टारबाटै खेल्थ्यौं । साहाराबाट म्याच खेलेर सकिने बित्तिकै गोल्डस्टारको म्याच खेल्न पुगेको हुँथें । एक दिनमा दुई वटा म्याच धेरै खेलें ।

***

मेरो खेल राम्रो हुँदै गयो । अरुको हौसला पनि पाउँदै गएँ । साहारा क्लबका प्रशिक्षक डम्बर सिंह गुरुङले निकै सहयोग गर्नुभयो । तिमीले राम्रो खेल्छौ, राम्रो गर भनेर प्रेरणा दिइरहनुभयो । उहाँ बेलायती सेनाबाट अवकाश पाएपछि क्लबको प्रशिक्षक बन्नुभएको थियो ।

‘तिमीहरु भविश्यमा नेपालको झण्डामुनि बसेर खेल्नुपर्छ’ डम्बर सरले पटक-पटक दोहोर्‍याउने यो वाक्य अहिले पनि कानमा गुञ्जिन्छ । उहाँले आफ्ना खेलाडीमा ठूलो क्षमता देख्नुभएको थियो । अहिले साना भाइहरुलाई म उहाँले भनेका कुराहरु सुनाइरहन्छु ।

साहारा एकेडेमीमा अभ्यास गरिरहँदा मेरो खेल धेरै राम्रो भइरहेको थियो । एकैचोटि मलाई त ए डिभिजन लिग खेल्न काठमाडौंको बिग्रेड ब्वाइज क्लबले बोलायो ।

सानोमा यही पोजिसन भनेर कहिल्यै खेलिएन । कहिले गोलकिपर, कहिले डिफेन्डर त कहिले स्ट्राइकर । ‘अलराउन्डर’ नै थिएँ । टेलिभिजनमा बसन्त गौचन, हरि खड्कालाई हेरेर हामीले सिक्यौं । पोखरामा क्याराभान गोल्डकपमा अरु राष्ट्रिय खेलाडीको खेल हेरेर पनि धेरै कुरा जानियो ।

***

साहारा एकेडेमीमा अभ्यास गरिरहँदा मेरो खेल धेरै राम्रो भइरहेको थियो । अरुले पनि विचार गरिरहेका रहेछन् । एकैचोटि मलाई त ए डिभिजन लिग खेल्न काठमाडौंको बिग्रेड ब्वाइज क्लबले बोलायो । मलाई बोलाउँदा लिगको पाँच खेलजति सकिएको रहेछ ।

बिग्रेड ब्वाइजको खेलस्तर गतिलो नभएकाले उनीहरु बाहिर खेलाडी खोज्न हिँडेका रहेछन् । उनीहरु साहारा क्लबमा जाँदा शम्भु केसी गुरुले मसहित अरु दुई जनाको नाम लिनुभएको रहेछ । यसैले आठ कक्षा पढ्दा नै राष्ट्रिय लिगमा मेरो स्थान बन्यो ।

काठमाडौं फुटबल खेल्न जाने भनेर असाध्यै खुसी लागिरहेको थियो । जान त जाने तर, घरमा के भन्ने ? आखिर घरमा ढाँटेर काठमाडौं आएँ । काठमाडौंमा नै मलाई पढ्न दिन्छ, त्यहाँ खेल्दै पढ्ने हो भनेर ढाँटे । त्यति भन्दा पनि सजिलै अनुमति कहाँ पाउनू । जिद्दी गरेरै आएँ ।

अब मेरो फुटबलले नयाँ मोड लिने भयो । बिग्रेड ब्वाइजमा सम्झौता गरेँ । पहिलोपटक दशरथ रंगशाला छिर्दा छक्कै परियो । ओहो, कत्रो मैदान ! क्लबको पदाधिकारीसँग ट्रयाकमा हिँडिरहँदा पनि मेरो आँखा भने मैदानमा घुमिरहेको थियो । पहिलोपटक म रंगशाला छिर्दा महेन्द्र पुलिस क्लब र जावालाखेल क्लब भिडिरहेका थिए । स्टार खेलाडीलाई आफ्नो वरिपरी देख्दा म कति दंग परेँ होला ?

बिग्रेड ब्वाइजमा मैले राइट मिडफिल्डमा खेल्न सुरु गरेको थिएँ । पछि क्लबका विदेशी प्रशिक्षकले मलाई स्ट्राइकरमा उकालेका हुन् ।

हामी सुरुमा बिग्रेड ब्वाइजमा आउँदा प्रशिक्षक बेलायत जानुभएको रहेछ । उहाँको अनुपस्थितिमा पोखराबाट तीन जना र धरानबाट तीन जना नयाँ खेलाडी क्लबमा भित्रिएका थिए । हामी आएपछि खेलेको पहिलो खेलमा पुलिससँग नै ६-० ले हार्‍यौं । दोस्रो खेलमा थ्रीस्टारसँग दनादन १० गोल खायौं । दशैपटक सेन्टरबाट बल मैले चलाएको थिएँ । हाम्रो टिममा तालमेल ठ्याम्मै मिलिरहेको थिएन ।

दोस्रो खेल चलिरहँदा प्रशिक्षक विमानस्थलबाट सिधै रंगशाला आउनुभएछ । आउँदा त आफ्नो क्लबले गोलमाथि गोल खाइरहेको छ । त्यसमा पनि ६ जना त नौला खेलाडी । उहाँ कति जिल्ल पर्नुभयो होला ? खेलपछि पदाधिकारीसँग उहाँ पड्किनुभएछ ।

बिस्तारै उहाँ कुल हुनुभयो । हामी अभ्यास गर्दै जाँदा प्रशिक्षकले मेरो खेल मन पराउन थाल्नुभयो । बाहिरबाट आएका ६ जनामध्ये मसहित दुई जना प्लेइङ सेटमा पर्न थालेका थियौं ।

मैले त्यो लिगमा संकटाविरुद्ध पहिलो गोल गरेँ । डिएरिया बाहिरबाट मैले हानेको भलि सट उत्कृष्ट नै थियो । मैले गोल हानेको तस्वीर भोलिपल्ट पत्रिकामा छ्याप्छ्याप्ति । सट हानेको, किपर लडेको र बलले जाली चुमेको तीन वटा तस्वीर हेरेर मलाई कम्ता मजा लागेन । टेलिभिजन, रेडियोमा पनि मेरै नाम । अब त मलाई सबैले चिन्ने भए भन्ने सोचेँ ।

बिग्रेड ब्वाइजमा आए पनि मेरो क्लब भने अझै साहारा नै थियो । बिग्रेड ब्वाइजबाट एक म्याचको पाँच सय रुपैयाँ लिएर खेलेको थिएँ । त्यसरी १२ खेल खेल्दा ६ हजार रुपैयाँ जति हुन्थ्यो । अरु बोनसहरु आउँदा नौ हजारसम्म पुग्थ्यो ।

पहिलोपटक ६ हजार रुपैयाँ हातमा परेपछि म उफ्रिदै सपिङ गर्न बिशाल बजार गएँ । मनलाग्दी सामान किनेँ । केही पैसा अझै बचेको थियो । बचेको पैसा घर गएर आमाको हातमा राखिदिँदा मेरो छाति गर्वले ढक्क फुल्यो ।

घरमा काठमाडौंमा पढ्ने भनेर ढाँटेको पोल खुलिसकेको थियो । म खेल्न काठमाडौं आउँथे र स्कूलको परीक्षा भएको बेला उता जान्थें ।

***

बिग्रेड ब्वाइजमा आएपछि मेरो खेल अझ निखारिँदै गयो । राम्रो खेलेपछि ठूला क्लबले आँखा लगाउन थाले । हरेक खेल सकिएर बाहिर निस्कँदा अरु क्लबको प्रशिक्षकले अफर गर्नुहुन्थ्यो ।

बिग्रेड ब्वाइजबाट खेल्दा ५ सय पाउने गरेको मैले थ्री स्टारमा ६ हजार पाएँ । त्यहाँबाट मनाङ जाँदा १२ हजार लिएँ ।

त्यसपछि साहारा क्लबसँग सल्लाह गरेर नै म थ्रीस्टारमा गएँ । थ्रीस्टारले महिनाको ६ हजार रुपैयाँ दिन्थ्यो । त्यो बेला हस्ताक्षर समारोह नै भयो । त्यसअघि कुनै नेपाली खेलाडीले क्लब परिवर्तन गर्दा यस्तो कार्यक्रम राखिएको थाहा छैन । बलियो टिमबाट अवसर पाएर खुशी भएँ ।

थ्रीस्टारमा पहिलोपटक सन् २००५ मा एएफसी प्रेसिडेन्ट कप खेल्न जान पाएँ । त्यो नै देशबाहिर मैले खेलेको पहिलो प्रतियोगिता थियो । म सब्सिच्युडको रुपमा मैदान छिरेको थिएँ । थ्री स्टारमा राष्ट्रिय टिमका खेलाडीबाट धेरै कुरा सिक्ने अवसर पनि मिल्यो ।

टिममा एकसेएक खेलाडी भएकाले मेरो धेरैजस्तो समय बेञ्चमै बित्यो । प्रतिस्थापनमा आएर २० मिनेट जति मात्रै खेल्न पाउँथें । राम्रो खेल्दाखेल्दै पनि बेञ्चमा बस्नु परेपछि अर्को सिजनमा म थ्रीस्टार छोडेर मनाङ मर्स्याङ्दी क्लबमा गएँ । बसन्त गौचन, नविन न्यौपाने दाइहरुले त्यतिबेला सहयोग गर्नुभएको थियो ।

म आएपछि ए डिभिजन लिग मनाङ मर्स्याङ्दीले नै जित्यो । यसअघि थ्रीस्टारमा जाँदा पनि विजेता थ्रीस्टार नै थियो । मनाङबाट पनि एएफसी प्रेसिडेन्ट कप खेल्न पाएँ । त्यो बेला मलेसियामा भएको प्रेसिडेन्ट कपमा भने म प्लेइङ सेटमा नै परें । ताजकिस्तानको क्लबसँगको खेलमा मैले गोल पनि गरें ।

२०६२ सालमा मनाङले जितेको उपाधि ०६३ सालमा पुलिस क्लबले खोस्यो । त्यसपछि तीन वर्ष त लिग नै भएन । ०६६-०६७ को लिग र २०६८ को लिग पनि पुलिसकै पोल्टामा गया । ०६९ मा थ्री स्टारले जित्यो । र, ०७० मा मनाङले । लामो समयको मेहनतको फल मिलेजस्तो लाग्यो । तर, त्यसपछि फेरि लिग रोकियो ।

***

क्लब फुटबलसँगै राष्ट्रिय टिममा पनि मेरो बाटो बनिरहेको थियो । मैले यू-१९ र यू-२३ मा राष्ट्रको प्रतिनिधित्व गरिसकेको थिएँ । श्रीलंकामा आयोजित सागमा यू-२३ बाट हामीले कांस्य पदक जितेका थियौं ।

थ्री स्टारमा हुँदा म यू-१९ राष्ट्रिय टिममा परेको थिएँ । मनाङ-मर्स्याङ्दीमा हुँदा यू-२३ खेलेपछि राष्ट्रिय टिममा पर्न गाह्रो भएन । २००७ मा मस्कटमा ओमानविरुद्ध भएको विश्वकप छनोट खेलमा पहिलोपटक राष्ट्रिय टोलीको रातो जर्सीमा सजिएँ । तर मेरो डेब्यू खेल सुखद भएन । हामीले २-० ले म्याच हार्‍यौं । त्यसको २० दिनपछि दशरथ रंगशालामा पनि ओमनसँग हामी २-० ले नै हारेका थियौं ।

अन्तर्राष्ट्रिय खेलमा मैले गरेको पहिलो गोल पाकिस्तानविरुद्ध सन् २००८ मा थियो । दुई वटा मैत्रीपूर्ण खेलका लागि पाकिस्तान पोखरा आएको थियो । पहिलो खेल नेपालले २-१ ले जित्दा मैले पहिलो गोल गरेको थिएँ । अर्को गोल भरत खवासले गरेका थिए । दोस्रो खेलमा भने हामी २-० ले हार्‍यौं ।

***

क्लब फुटबलमा पनि बिस्तारै व्यावसायिकता बढ्दै गइरहेको थियो । खेल राम्रो हुँदै जाँदा मेरो भाउ बढ्दै गयो । बिग्रेड ब्वाइजबाट खेल्दा ५ सय पाउने गरेको मैले थ्री स्टारमा ६ हजार पाएँ । त्यहाँबाट मनाङ जाँदा १२ हजार लिएँ । २०६३ सालमा मनाङबाट पहिलोपटक लिग खेल्दा मैले ३२ गोल गरेको थिएँ । त्यसपछिको वर्ष लिग नै नभएपछि मनाङमा टिम नबनाउने जस्तो कुरा भयो र म एनआरटीमा गएँ ।

एनआरटीले मलाई महिनाको २६ हजार दिने गरी बोलायो । नेपालमा सबैभन्दा धेरै रकम लिने फुटबलर भनेर त्यो बेलाका पत्रपत्रिकामा समाचार पनि आएका थिए । ए डिभिजन लिग नभए पनि मोफसलका अरु प्रतियोगितामा एनआरटीबाट राम्रो गर्‍यौं । बुढासुब्बा गोल्डकप, सिक्किम गोल्डकप जितेका थियौं ।

***

फुटबल जीवनको कुरा गर्दा छुटाउनु नहुने अर्को पाटो भनेको लन्डनमा गएर अभ्यास गर्न पाउनु पनि हो । साहारा क्लब पोखरा र साहारा फुटबल क्लब युकेको सहकार्यमा म इंग्लिस क्लब चेल्सीको रिजर्भ टिमको लागि ट्रायल दिन गएको थिएँ ।

त्यहाँ भएको अभ्यासले मलाई धेरै फाइदा भयो । त्यहाँको वातावरण, व्यावसायिक खेलाडीले गर्ने व्यवहारहरु मैले बुझ्न पाएँ । यहाँ फुटबल यस्तो हुने रहेछ र पो खेलाडीले करोडौं रुपैयाँ पाउँछन् भन्ने लाग्यो ।

चेल्सीकै मैदानमा ट्रायल दिन नपाए पनि मैले लन्डनमा बसेर ६ महिना अभ्यास गरेँ । दक्षिण एसियामा हुने फुटबल र त्यहाँ हुने फुटबल निकै नै फरक थियो ।

म लन्डन जानुअघि नै भारतको सिलोङ लाजोङ क्लबले बोलाएको थियो । त्यसैले लन्डनको अभ्यासबाट फर्केपछि सिलोङ लाजोङ नै गएँ । त्यहाँबाट सन् २००९ देखि ११ सम्म तीन सिजन भारतको आई लिग खेलेँ ।

सिलोङमा सम्झौता गर्न जाँदा एक वर्षको लागि बस्ने भन्ने तय भएको थियो । तर, ट्रायल दिएपछि क्लबले मसँग एकैपटक तीन वर्षको सम्झौता गर्‍यो । ६३ लाख रुपैयाँमा त्यो सम्झौता भएको थियो, जुन कुनै पनि नेपाली फुटबलरले पाएको सर्वाधिक पारिश्रमिक हुनुपर्छ ।

यत्रो पैसा पाएपछि मलाई यो ठाउँमा कसरी राम्रो खेल्ने भन्ने पिरलो सुरु भयो । हाम्रो क्लब फेडेरेसन कपको फाइनलसम्म पुग्दा सन्तुष्ट भएँ । आई लिगमा पनि राम्रो नै गरेको थिएँ । क्लबमा अरु साथीहरुले निकै राम्रो व्यवहार गर्थे ।

सिलोङमा हुँदाको एउटा घटना भने कहिल्यै बिर्सन सक्दिनँ । एउटा नकआउट प्रतियोगिता खेल्न जाँदा अर्को खेलाडीसँग ठोक्किएर मेरो नाकको हड्डी भाँचिएको थियो । मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लानुपर्‍यो । अहिलेसम्म मेरो नाक अलि कमजोर छ ।

तीन वर्ष त्यहाँ बस्दा नेपालबाट अन्तर्राष्ट्रिय खेलहरु पनि खेलिरहेकै थिएँ । फिफा र एएफसीका खेलहरुमा हामीले राम्रो गरिरहेका थियौं । उपाधि नजिते पनि हाम्रो खेलले उचाइ लिइरहेको थियो । फिफा वरियतामा निकै सुधार भएको थियो ।

अर्को वर्ष सिलोङसँग सम्झौता भएन । त्यसपछि म मनाङ मर्स्याङ्दीमा नै फर्किएँ ।

सन् २०१५ मा म राष्ट्रिय टोलीको कप्तान चुनिएँ । एउटा खेलाडीको सबैभन्दा ठूलो सपना पूरा भएको क्षण थियो त्यो । म भाग्यमानी पनि हुँ । मेरो भाग्यसँगै कडा मेहनत र अनुशासनले मद्धत गरेको हो जस्तो लाग्छ । मेरो कप्तानीमा हामीले सोलिडारिटी कप जित्यौं । लामो समयपछि मिलेको ठूलो उपाधिले राष्ट्रिय महत्व पाएको थियो ।

***

गत वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएँ । उमेरको हिसाबले मैले सन्यास लिनुपर्ने बेला भइसकेको थिएन । तर, अन्तर्राष्ट्रिय म्याचमा नेपालको नतिजा राम्रो आउन सकिरहेको थिएन । नयाँ भाइहरु आएका थिए र राम्रो पनि गरिरहेका थिए । त्यसैले मैले यही समयमा सन्यास लिन राम्रो हुन्छ भनेर सोचेँ ।

सही निर्णय लिएँ जस्तो लाग्छ । ५० खेल पूरा गरेर राष्ट्रिय टिमबाट सन्न्यास लिँदा घरेलु दर्शकका अगाडि मलाई भव्य विदाइ गरियो । यस्तो विदाइको क्षणले हरेक खेलाडीलाई भावुक बनाउँछ । म पनि भएँ ।

हामीले विदेशी खेलाडीलाई नै हेर्दा पनि राष्ट्रिय टिमबाट चाँडै सन्यास लिएर क्लब फुटबलमा केन्द्रित भइरहेका हुन्छन् । म पनि अझै केही समय क्लब फुटबलमा खेल्नेछु ।

***

मलाई अहिले अलिक थकथकी लाग्ने कुरा भनेको २०१३ मा साफ जित्न सक्थ्यौं भन्ने लाग्छ । त्यो बेला टिम राम्रो थियो । खेल लयमा पनि गएको थियो । म आफैं पनि राम्रो फर्ममा थिएँ । भारत र बंगलादेशलाई हराउँदा गरेको गोल सम्झनाबाट मेटिएको छैन ।

गएको महिना बंगलादेशमा भएको साफ च्याम्पियनसिप टेलिभिजनमा हेरेँ । त्यसबाट एउटा कुरा थाहा भयो, मैले राष्ट्रिय टिमको खेल टिभीमा हेर्न नसक्ने रहेछु । असाध्यै व्यग्रता हुने । गोल खाएपछि त टिभी अगाडि बसिरहनै नसक्ने ।

मैदानमा आफू हुँदा नेदेखिने कुरा पनि टेलिभिजनमा छर्लंग देखिने रहेछ । मैदानमा ११ जना खेलाडीमा मात्रै ध्यान हुन्थ्यो भने दर्शक भएर हेर्दा २२ जनामा नै ध्यान हुन्छ । कहाँनेर के गल्ती भयो, के गर्दा सहज हुन्छ भन्ने कुरा बाहिरबाट हेर्नेले देख्ने रहेछन् ।

को खेलाडीले कत्तिको खेलेका छन्, कसले कति मेहनत गरे भन्ने पूरै बुझ्न सकिन्छ । साफमा माल्दिभ्ससँगको खेलमा सुजलले हानेको क्रसमा भरत खवासले इन साइड फुट हान्दा बल बाहिर गएको थियो । त्यसमा भरतले अलिकति सोच पुर्‍याउन सकेको भए गोल हुन्थ्यो । जुन मैले बाहिरबाट हेर्दा देखिएको न हो । मैदानमा भरतको मनोदशा उनलाई मात्र थाहा हुने कुरा हो ।

***

अहिले धेरैले सोधिरहने कुरा हो, मनाङ मर्स्याङ्दी छाडेर म किन थ्रीस्टार गएँ ? मनाङ र अनिललाई राम्ररी चिन्ने सबैले त्यो कुरा बुझ्नुभएकै छ । अरुका लागि भने एकदमै नौलो खबर भयो ।

घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार त चिरप्रतिद्वन्द्वी टिम नै हुन् । दर्शक पनि दुई क्लबको खेल हेर्न उत्साहित हुन्छन् । त्यस्तोमा म मनाङ छाडेर थ्रीस्टार जाँदा दर्शक अचम्ममा पर्नु सामान्य नै हो ।

मैले सन्यास लिने बेलामा भनेको थिएँ, क्लब फुटबलको अन्त्य मनाङ मर्स्याङ्दीबाट नै गर्छु । तर, अहिले १३ वर्षपछि थ्री स्टार जानुको एउटै कारण मनाङका केही पदाधिकारीको घटिया व्यवहार नै हो ।

मैले सन्यास लिने बेलामा भनेको थिएँ, क्लब फुटबलको अन्त्य मनाङ मर्स्याङ्दीबाट नै गर्छु । मैले सन्यास लिनुको कारण पनि मनाङमा फुटबलमा ध्यान दिनलाई थियो ।

तर, अहिले १३ वर्षपछि थ्री स्टार जानुको एउटै कारण मनाङका केही पदाधिकारीको घटिया व्यवहार नै हो । अहिलेको कार्यसमितिले क्लबभित्र चित्तबुझ्दो वातावरण बनाउन सकेन । खेलाडीलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञान नै उनीहरुमा थिएन । कप्तानलाई नै उनीहरुले सम्मान दिएनन् ।

आरोप-प्रत्यारोप गर्न खोजेको त होइन तर, मैले प्रष्ट पार्नुपर्छ भन्ने लाग्छ । मनाङ नराम्रो क्लब होइन । धेरै कुरा यहाँ राम्रो छ । एउटा परिवार जस्तो भएर नै बसेका थियौं । तर, केही मान्छेको व्यवहारले पूरा क्लबको नै छवि ध्वस्त भएको छ ।

अहिले चार वर्षपछि हुन लागेको लिगमा थ्री स्टारबाट खेल्दैछु । मैले पहिले पनि खेलेकै क्लब हो । यहाँ खेलाडीप्रतिको व्यवहार राम्रो छ । हामीले लिग जित्ने लक्ष्य बनाएर मेहनत गरिरहेका छौं ।

खेलाडी किनबेचमा पनि प्रतिस्पर्धा हुँदा खेलाडी र समग्रमा फुटबललाई नै फाइदा पुग्छ । नेपाली फुटबलमा राजनीति भने नहोस् भन्ने लाग्छ । चार वर्ष लिग नहुनुमा पनि त्यही फुटबलभित्रको राजनीति हाबी भएर नै हो । जसले खेल कमजोर बनाउँदै लैजान्छ ।

***

योजना र लक्ष्य बनाएर कहिल्यै काम गरिनँ । राम्रो खेल्ने मात्रै सोचे र खेल्दै गएँ । राष्ट्रिय खेलाडी बन्छु, देशको लागि खेल्छु भन्ने खालको महत्वकांक्षा नै थिएन ।

परिवारले मलाई लाहुरे बनाउन चाहन्थ्यो । खेलेर मात्रै जीवन चल्दैन भनेर बुुवाआमाले सम्झाइरहनुहुन्थ्यो । बाबा भारतीय आर्मीमा भएकाले छोरा पनि आफ्नै बाटोमा हिँडोस भन्ने थियो होला । तर, मैले लाहुरेमा जान कहिल्यै छाती नापिनँ । रुची नै भएन । लाहुरे बन्न छाति ननापे पनि खेलाडी बनेर छाति ठूलो बनाएको छु । सोच्छु, लाहुरे बनेको भए पैसा त कमाउँथे होला, तर मलाई कतिले चिन्थे ? खेलाडी भएर सबै नेपालीको माया पाउन सकेँ । यसमै सन्तोष लाग्छ ।

हेर्नुहोस् भिडियो

फुटबल खेलेरै राम्रो जीवनयापन गरिरहेको छु । ३२ वर्षको भएँ । अहिलेसम्म फुटबलबाहेक अरु केही सोच्नै पाएको छैन, सोच्न परेको पनि छैन । फुटबलबाट नै सबैथोक मिलेको छ । सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टी पाएको छु । आयआर्जनका लागि पोखरामा रेस्टुरेन्ट व्यवसाय पनि छ । साथीहरुले हेरिरहेका छन् । मेरो पूरा समय फुटबलमा नै छ । जहिलेदेखि बल छोएँ, त्यो बेलादेखि अहिलेसम्म पूरा क्षमता लगाएर खेलिरहेको छु भन्ने लाग्छ ।

खेल्न छाडेपछि पनि आफूले जानेका कुरा साना भाइहरुलाई सिकाएर फुटबलमा नै जोडिइरहने छु । पोखरामा एउटा एकेडेमी खोलेर काम गर्ने सोच पनि बनाएको छु । ज्ञान र सीप हस्तान्तरण हुँदै गयो भने पछिको पुस्तालाई बुझ्ने अवसर पनि मिल्छ र उनीहरुको लागि सहज पनि हुन्छ ।

आज एकदिनको लागि बाँच्ने त होइन नि । ‘तिमी’ले राम्रो गर्दा मात्रै ‘टिम’ले राम्रो गर्ने हो । पछिसम्म असल हुन्छु, राम्ररी खेल्छु भन्ने सोच्नुपर्छ । यसो हुँदा हिजो हाम्रा दिन थिए, भोलि उनीहरुको हुनेछ । यदि आजलाई विचार गरे भने … ।

सानो बेलामा मसँग खेल्ने कति साथी लाहुरे भएका छन् । मलाई लाहुरे बनाउने परिवारको सपना पूरा नभए पनि अहिले सबैजना खुशी छन् । लाहुरे साथीहरु भेट्दा मेरो प्रशंसा गर्छन् । ब्रिटिश वा भारतीय आर्मी बनेको भए पराई देशको लागि लड्नुपर्थ्यो, खेलाडी बनेर आफ्नै देशका लागि लडेँ । गर्व यसैमा छ ।

प्रस्तुति : ऋग्वेद शर्मा/सरोज तामाङ

तस्वीर : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment