+
+
Shares

दशैंको अर्थशास्त्र : गाडीदेखि साडीसम्म, मासुदेखि मदिरासम्म सबै विदेशी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते १:३०

१९ असोज, काठमाडौं । मूलतः पारिवारिक मिलनको चाड हो दशैं । तर, यसको आयाम यत्तिमै सीमित छैन । खासगरी, आर्थिक दृष्टिकोणबाट हेर्दा दशैंको महत्व र प्रभाव विशाल छ ।

मीठो खाने र राम्रो लाउने चाड भएकाले दशैंमा वस्तु तथा सेवाहरुको अत्यधिक खपत हुन्छ । हुनेखानेहरुलाई समस्या भएन, तर विपन्न परिवारले ठूलै भार बोकाएर जान्छ यसले । किनकि उनीहरुसँग ऋण काढेर दशैं मनाउनुको विकल्प हुँदैन ।

देशको अर्थतन्त्र अत्यधिक चलायमान हुने बेला यही हो । अर्को शब्दमा दशैंले देशको अर्थव्यवस्थालाई नै हल्लाउँछ । अर्थशास्त्रीहरुका अनुसार देशको कुल वाषिर्क खपतको २० प्रतिशत दशैं र तिहारमा मात्रै हुन्छ ।

राष्ट्रिय योजना आयोगका पूर्वाउपाध्यक्ष तथा अर्थविद् मीनबहादुर श्रेष्ठ दशैंलाई ‘उपभोगको पर्व’को संज्ञा दिन्छन् । तर, यसबाट देशको अर्थतन्त्रलाई लाभ हुनेमा चाहिँ उनको संशय छ ।

‘यदि देशभित्र आन्तरिक उत्पादन पर्याप्त हुन्थ्यो भने दशैंका कारण नै नेपालले ठूलो लाभ लिन सक्थ्यो,’ श्रेष्ठ भन्छन्, ‘तर, अहिले नेपालमा आवश्यक उपभोग्य सामान प्रायः विदेशबाट आयात हुने भएकाले ठूलो स्वदेशी पूँजी बाहिर जान्छ । हामी चाड मनाउँछौं, विदेशीले पैसा कमाउँछन् ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको विचारमा दशैंले शहरको अर्थतन्त्रलाई गाउँतिर लैजान्छ । आयोगका अर्का पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ भने नेपालको आन्तरिक उत्पादन कमजोर हुँदा दशैंका अधिकांश ठूलो रकमको उपभोग्य समानसँगै आयातमा विशाल खर्च भइरहेको बताउँछन् ।

गाडीदेखि साडीसम्म, मासुुदेखि मदिरासम्म

अधिकांश वस्तुका लागि अत्यधिक व्यापार हुने सिजन दशैं नै हो । त्यसैले व्यापारीहरुका लागि दशैंले दोब्बर खुशी लिएर आउँछ । साडीदेखि गाडीसम्मको ब्यापार गर्नेहरु यस चाडको प्रतिक्षामा हुन्छन् ।

कपडा, खाद्यवस्तु, मासु, घरायशी सामान बिक्ने मुख्य सिजन हो यो । आर्थिक अवस्था जस्तो भए पनि दशैंमा मीठो-मसिनो नै खानैपर्ने मान्यता छ । यसका कारण दैनिक उपभोग्य खाद्यवस्तुको बढी माग हुन्छ । यसैगरी दशैंमा नयाँ कपडा लगाउनुपर्ने परम्परागत मान्यता छ । गरिब परिवारमा त नयाँ लुगा किन्ने भनेकै दशैंमा हो । त्यसैले लुगा र जुत्ताको अत्यधिक व्यापार हुने नै भयो ।

दशैं बालबच्चाका लागि अझ विशेष हुन्छ । आफू जे-जस्तो लगाएर भए पनि बालबच्चाको रोजाईका लुगा किनिदिन चाहन्छन् बाबुआमा । लुगा मात्र नभएर बच्चाका खेलौना पनि अधिक विक्री हुन्छन् ।

दशैंमा पशुवध गर्ने र मासु खाने चलनले पनि संस्कृतिकै रुप लिएको छ । सन्पन्न परिवारमा मासु खान दशैं कुर्नु पर्दैन, तर विपन्न परिवारको भान्सामा दशैंमा मात्र मासु भित्रिन्छ । यतिबेला जिउँदो खसीबोका, च्याङ्ग्रा, कुखुरा, राँगा, बुंगुर र यिनीहरुका मासुको ब्यापार ठूलो परिमाणमा हुन्छ । मासु व्यवसायी अत्यधिक चटारोमा हुनेबेला हो यो ।

दशैंमा उच्च खपत हुने अर्को वस्तु हो मदिरा । जमघटलाई विशेष बनाउन मदिराको प्रयोग बढी हुन्छ । शहरमा आफ्नै परिवारभित्र मदिराको चुस्की लाउने चलन व्यापक बनिरहेको छ । मदिरा नपिउनेहरुले कोक, पेप्सी, इनर्जी ड्रिंक्स, तयारी जुसलगायतका बेभरेज रोज्छन् ।

चाउचाउ, आलु चिप्स, दाललोठ लगायतका जंकफुड पनि दशैंमा खुब विक्री हुन्छ । यसैगरी फलफूल ब्यापार हुने प्रमुख सिजन पनि यही हो । दशैंमा घरायसी प्रयोजनसँगै कोसेलीका लागि फलफूल अनिवार्य मानिन्छ ।

यस्तै घरहरु सजाउन आन्तरिक सजावटका समानहरु पनि धेरै कारोबार हुन्छ । घर रंग्याउने काम पनि यही समय बढी हुने भएकाले रंगको बिक्री बढ्छ ।

दशैंका बेलामा नयाँ सामान जोड्न चाहनेहरु पनि उत्तिकै हुन्छन् । जागिरेहरुको दशैं पेस्की आउने भएकाले उनीहरुलाई यतिबेला महंगा सामान जोड्न सहज हुन्छ । अरुले पनि दशैंमा यी सामान किन्न भनेर पैसा जोगाड गरेर राखेका हुन्छन् । त्यसैले मोबाइल, टीभी, रेपि|mजेरेटर, वासिङ मेसिनलगायत इलेक्ट्रिक  तथा होम अप्लाइन्सेस यतिबेला खुब बिक्छन् ।

दशैंमा धेरै बिक्ने अर्को महंगो वस्तु हो सवारी साधन । मोटरसाइकल र कार यतिबेला अत्यधिक बिक्री हुन्छन् । अब त मध्यम वर्गले समेत कारमा आँखा लगाउन थालेका छन् । सवारी विक्रेताहरुको वर्षदिनको ४० प्रतिशत ब्यापार दशैंको सेरोफेरोमै हुन्छ ।

पछिल्लो समय नेपालमा पठन संस्कृति विकास भइरहेको छ । बजारमा आएका नयाँ किताब पढ्न फुर्सद निकाल्न नसकेकाहरुले दशैंको छुट्टीमा यो अवसर जुराउँछन् । दशैंमा पढ्ने भनेर पहिल्यै किताबको जोगाड गर्नेहरु बढिरहेका छन् । दशैंको फुर्सदमा फिल्म हेर्नेको संख्या पनि बढी हुने गरेकाले चलचित्र निर्माताहरु यही मौसमलाई हलमा नयाँ फिल्म लगाउने अवसरको रुपमा प्रयोग गर्छन् ।

गाडी र जहाजमा चाप

यातायात व्यवसायीको मुख्य कमाउने सिजन यही हो । दशैंको समयमा घर फर्किनेहरुको चाप सवारीसाधनमा उच्च हुन्छ । बसभित्र मुढामा बस्न पाउनेहरुले पनि आफूलाई भाग्यमानी ठान्नुपर्छ । अरुबेला यात्रुको पाखुरा तान्दै गाडी चढ्न आग्रह व्यवसायीहरुको यतिबेला यात्रुसँग बोल्ने पनि फुर्सद हुन्न । उपत्यका बाहिर जाने गाडीले दुई सिफ्टमा यात्रु बोक्छन् ।

गाडीको झण्झटिलो यात्रा गर्न नचाहने र आयस्तर उच्च भएकाहरुले यात्राका लागि हवाई यातायात रोज्छन् । त्यसैले एयरलाइन्स कम्पनीहरुको पनि यो कमाईको मुख्य सिजन हो ।

दशैं मनाउने तरिकाहरु पनि विस्तारै परिवर्तन हुँदै गएका छन् । अब घरमै बसेर दशैं मनाउनुपर्छ भन्ने मान्यता विस्तारै तोडिँदै गएको छ ।

पछिल्लो वर्षहरुमा दशैंमा घुमफिरको संस्कृति निकै मौलाएको छ । लामो छुट्टि  हुने भएकाले अहिले दशैंमा साथिभाई वा स-परिवार नै मिलेर वभिन्न पर्याटकीय स्थानमा घुम्न जाने क्रम बढेको छ । त्यसले पनि गाडी र जहाजमा यात्रुहरु बढ्ने गर्छन् । देशभित्र मात्र नभएर दशैंमा देशबाहिर घुम्न जाने क्रम पनि बढिरहेको छ ।

बाहिर जान चाहनेहरुले खासगरी सिंगापुर, मलेसिया, बैंकक, थाइल्यान्ड, इन्डोनेसिया, दुबई लगायत गन्तव्य रोजिरहेका छन् । यो समयमा ट्राभल एजेन्सीका टूरका प्याकेजहरु निकै बिक्री हुन्छन् ।

आन्तरिक उत्पादन भने न्यून

पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको  भनाइमा दशैंले अर्थतन्त्रलाई चलायमान त बनाइदिन्छ तर, उत्पादन भने न्यून हुन्छ । कामदारलाई छुट्टि  दिनुपर्ने भएकाले धेरैजसो कलकारखाना र सेवा उद्योग बन्द हुन्छन् । विकासका काम पनि रोकिन्छन् । यतिबेला वस्तु आयात भने अत्यधिक हुन्छ । दशैंलाई लक्षित गरेर साउन/भदौबाट नै आयातको क्रम तीव्र हुन्छ ।

दशैंमा टिका लगाएपछि दक्षिणा दिने चलन हुनाले नयाँ नोटको माग हुन्छ । राष्ट्र बैंकले दशैंका लागि भनेर यो वर्ष मात्रै ४० अर्बको नयाँ नोट बजारमा ल्याउँदैछ । खुद्रा नोटको संकट पर्छ । दशैं सकिनासाथ फेरि बजारमा खुद्रा नोटको ओइरो लाग्छ । अर्थात् बैंकिङ कारोबारहरुमा पनि खुद्रा नोटले ब्यापकता पाउँछ ।

रेमिट्यान्स अत्यधिक वषिर्ने समय पनि यही हो । विदेशमा रहेका प्रायः व्यक्तिले घरमा दशैं खर्च पठाउँछन् । रेमिट्यान्स कम्पनीहरुले धेरै कमाउने अवसर बन्छ दशैं । रेमिट्यान्सबाट अाएको रकमको ठूलाे हिस्सा पनि उपभोगमै सकिन्छ ।

दशैंमा किनिने प्रायः धेरै मालसमान विदेशबाटै अायात हुने गर्छन् । अान्तरिक उत्पादन कमजोर हुँदा दशैंका लागि नेपालमा ब्यापार फस्टाएपनि अन्ततः त्यसको ठूलाे लाभ भने विदेशले नै पाउँछ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको भनाइमा दशैंले शहरको अर्थतन्त्रलाई गाउँतिर लैजान्छ । गाउँमा पनि आर्थिक गतिविधि बढ्छ ।

पूर्वअर्थसचिव रामेश्वर खनाल दशैं र तिहारजस्ता चाडपर्वमा कुल राष्ट्रिय उपभोगको २० प्रतिशत बराबर उपभोग हुने गरेको बताउँछन् । यसलाई आधार मान्दा यी दुई चाडमा मात्रै करिब साढे ४ खर्ब रुपैयाँ बराबर उपभोगमा खर्च हुने देखिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?