Comments Add Comment

अझै पैदल मार्गबाट अमेरिका, १५ वर्षमा गयो ४ हजारको ज्यान

२१ असोज, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपालबाट अमेरिकातर्फ भइरहेको मानव तस्करीदेखि संसदीय समितिका गतिविधि, स्थानीय तहको बजेट प्राथमिकतालगायत विषयमा खबर लेखेका छन् ।

त्यसैगरी, जुवाखालबाट भाग्न खोज्दा कागेश्वरी मनहरामा २ जनाको मृत्यु भएको , नेपाल ल क्याम्पसले क्षमताभन्दा निकै बढी संख्यामा विद्यार्थी भर्ना गरेको, घुससहित डीएसपी कार्यालयबाटै पक्राउ परेको, कर्मचारी समायोजनमा केन्द्र सरकार उदासीन बनेकोलगायत खबरले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।

अन्नपूर्णले आज मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रुपमा अमेरिका पठाउने गरेको लेखेको छ । समाचार अनुसार तस्करहरुले १२ देखि १६ मुलुक पार गराएर अमेरिका लैजान प्रतिव्यक्ति ३० देखि ७५ लाख रकम लिने गरेका छन् । पछिल्लो १५ वर्षमा यसरी अमेरिका जाने करिब ४ हजारको बाटैमा मृत्यु भएको छ ।

अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तरनिकाय समन्वय यो समस्या समाधान नभएको अन्नपूर्णको ठम्याइ छ । अन्नपूर्ण लेख्छ– केही सरकारी अधिकारीकै मिलेमतोमा यस्तो धन्दा भएको आशंका अमेरिकाले नेपाली कूटनीतिसमक्ष व्यक्त गर्न थालेका छन् । सरकारलाई दिएका जानकारी दलाल कहाँ पुगने र रुट परिवर्तन हुने गरेको अध्ययनले देखाएपछि अमेरिकी अधिकारी सशंकित भएका छन् ।

नेपाली विद्यार्थीले चुरोटका ठुटा कुहाएर मल बनाएकोलाई अन्नपूर्णले एंकर बनाएको छ । कुहिनका लागि बढीमा १० देखि १२ वर्षसम्म लाग्ने ठुटा कुहाउने प्रविधि त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेशनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले पत्ता लगाएको हो ।

कान्तिपुरमा संसदीय समितिपिच्छे निर्देशनको होड चलेको समाचार छ । कान्तिपुर लेख्छ– संसदका समितिबीच चर्चामा रहेको इस्यूमा कसले पहिला छलफल चलाउने भन्ने होडबाजी छ । उनीहरु कार्यक्षेत्र मिचेर सरकारलाई निर्देशन दिइरहेका छन् । एउटै विषयका फरक फरक निर्देशनले कार्यान्वयन गर्नुपर्ने निकाय रनभुल्लमा छन् ।’

जुवाखालबाट भाग्न खोज्दा कागेश्वरी मनोहरा–७ मा २ जुवाडेको मृत्यु भएकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ पहिलो पृष्ठमा कभरेज गरेको छ ।

नयाँ पत्रिकाले स्थानीय तहको बजेटबारे चिरफार गरेको छ । अनुभवको कमी, कर्मचारी समायोजनामा केन्द्र सरकारको ढिलासुस्ती, ऐनको अस्पष्तामाझ स्थानीय तहले ल्याएको बजेटमा सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ । नयाँ पत्रिका लेख्छ–नमूनाका लागि लिइएका १०६ स्थानीय तहमध्ये ८४ वटाले सडक निर्माणका लागि सबैभन्दा धेरै बजेट छुट्याएका छन् । डोजर अपरेटरले इन्जिनियरिङ गरेका सडकले पाखापखेरामा मात्र होइन, ढुकुटीमा पनि धुलो उडाएको नयाँ पत्रिकाको ठहर छ ।

नयाँ पत्रिकामै अरुण तेस्रोको बिजुली ७ जिल्ला हुँदै भारत लैजान लागिएको, डीएसपी श्यामकुमार राई घुससहित पक्राउ परेको खबर पनि छन् ।

नागरिकको पहिलो पृष्ठमा महँगी, बाँकेमा भएको माइक्रोबस दुर्घटनालगायतका खबर छन् ।

राजधानीमा कर्मचारी समायोजनमा केन्द्र सरकार उदासीन बनेको खबर छ भने गोरखापत्रले सरकारका कामको प्रचार नभएको भनेर नेकपाका अध्यक्ष प्रचण्डले व्यक्त गरेको भनाइलाई महत्त्वका साथ छापिएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका पहिलाे पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment