Comments Add Comment

१२ वर्षअघि नै मृत्यु भएकी राजपतिलाई खोजपछि …

२४ असोज, रौतहट । अपरिचित मानिसहरु आएर ‘राजपति देवीसँग भेट्नु छ, बोलाइदिनुस् न’ भनेपछि गौर नगरपालिका ४ का वडाअध्यक्ष भुवनेश्वरकुमार शाही छक्क परे । नपरुन् पनि किन ? उनकी आमा राजपतिको निधन भएको पनि १२ वर्ष भइसकेको थियो ।

शाहीले ठट्टा गर्दै भने, ‘उहाँलाई भेट्न त माथि जानुपर्छ ।’ उनले आमा बितेको १२ वर्ष भएको भन्दै मृत्युदर्ताको प्रमाणपत्र देखाए । त्यही प्रमाणले खुल्यो, नगरपालिकाको बदमासी ।

शाही घरमा गएर राजपति देवीलाई खोज्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी थिए । ‘अख्तियारका कर्मचारीहरु दैलोमा आएर राजपति देवीसँग भेट्नु छ भने’ शाही भन्छन्, ‘१२ वर्षअघि निधन भएको आमासँग कसरी भेटाइदिनू ?’

शाहीका अनुसार राजदेवीको नाममा जेष्ठ नागरिक भत्ता बुझेको देखिएपछि अख्तियारको टोली आएको रहेछ । राजपतिको नामबाट आफूहरुले समाजिक सुरक्षा भक्ता नबुझेको भन्दै वडाध्यक्ष शाहीले नगरपालिकाकै कर्मचारीले रकम बुझेको दाबी गरे ।

नगरपालिकाका कर्मचारीले वडा नम्बर ४ मा मात्र २५९ जना व्यक्तिको नाममा फर्जी लगत तयार गरेर बर्षौंदेखि सामाजिक सुरक्षा भक्ता बुझेको पाइएको छ ।

हेटौंडा कार्यालयमा उजुरी परेपछि अख्तियारका कर्मचारीले भत्ता बाँडिएको भनिएका व्यक्तिहरुको घरघरमा पुगेर अध्ययन गर्दा भ्रष्टाचारको पोल खुलेको वडाध्यक्ष शाहीले बताए । उनका अनुसार उमेर नपुगेकालाई समावेश गर्नेदेखि मृत्यु भइसकेकाहरुको नाममा रकम निकासा गरेरको पाइएको छ ।

समाजिक सुरक्षा फाँटका अधिकृत तथा कर्मचारीको बदनीयतपूर्ण कार्यका कारण नगरपालिकाको एउटा वडामा २५९ जनाको भत्तामा अनियमितता भेटिएको छ ।

गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले सामाजिक सुरक्षाको रकममा अनियमितता भएको स्वीकार गर्दै अहिले सच्याउने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment