Comments Add Comment

काठमाडौंमा ट्राफिक प्रहरीको द्रुत टोली परिचालन

२४ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्ययोजना (टीआरएस) बुधबारबाट लागू गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका हुन् ।

दशैं, तिहारजस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र जनताको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउन बुधबारबाट यो कार्ययोजना लागू गरिएको हो ।

चार पाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाइ भएपछि मोटरसाइकल परिचालन गरी कार्ययोजना संचालनमा ल्याउनु परेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए ।

एक महिने अभियानमा ५५ वटा मोटरसाइकल परिचालन गरिएको छ । टोलीमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।

टोली काठमाडौं उपत्यका अन्तरगतको काठमाडौं, ललितपुर र भक्तपुरमा परिचालित हुनेछन ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सो एक महिने कार्ययोजनालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

एक महिनापछि सो टोलीका लागि थप ४५ वटा मोटरसाईकलको पनि व्यवस्था गर्ने प्रहरी महानिरीक्षक खनालको योजना छ ।

उपत्यकाको नागरिकको सुरक्षा र ट्राफिकको उचित व्यवस्थापनका लागि सो टोली परिचालन गरिएको हो । टोलीले जनताको जीउधनको सुरक्षा गर्नेगरी आवश्यक अभियान पनि संचालन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment