+
+
Shares

ब्राह्मण र दलित समुदायले राखे सामूहिक जमरा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १९:५९

२४ असोज, बेत्रावती । दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् ।

बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्पराअन्तर्गत नीरञ्जना मन्दिरमा यो वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए । ‘ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ’, पुजारी पौडेलले भने, ‘यसको पूजाआरधना र जल पनि आलोपालोरुपमा चढाउने गरिएको छ ।’

नुवाकोट, रसुवा र धादिङका नौ कोटमध्ये बेलकोटगढी एक कोटका रुपमा महत्वपूर्ण मानिन्छ । नीरञ्जना भगवती मन्दिर पौराणिक र शक्तिपीठका रुपमा समेत परिचित छ । बडादशैँमा काठमाडौँ हनुमानढोकाको बैद्धिक विधिअनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।

सामूहिक जमराले गाउँमा छुवाछूत प्रथाविरुद्धको सचेतना प्रचारमा सहयोग पुगेको सामूहिक जमरा राख्नुभएका भीमबहादुर नेपालीको भनाइ छ । उनका अनुसार स्थानीय विश्वकर्मा, मिजार, नेपाली लगायत थरका १८ घरपरिवारसहित ब्राह्मण, क्षेत्री समुदायले एकै नीरञ्जना भगवति मन्दिर परिसरस्थित कोटघरमा जमरा राखेका छन् ।

मन्दिरमा सामूहिक जमरा राख्नेदेखि पूजा सञ्चालनका लागि गुठीको व्यवस्था भए पनि मन्दिरको गुठी जग्गाबाट कुतवाली उठ्न छाडेपछि परम्परा धान्न समस्या भइरहेको वडा नं १० का वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताए । ‘स्थानीय तह स्थापनापश्चात् बेलकोटगढी नगरपालिकाबाट सहयोग जुटाउन थालिएको छ’, वडाध्यक्ष त्रिपाठीले भने, ‘रु एक लाख बजेट छुट्याएकाले परम्परा र संस्कृतिको संरक्षण गर्न सहयोग पुगेको छ । ‘

उनका अनुसार बेलकोटको पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँका अधिकांश घरको जमरा सामूहिक रुपमा मन्दिरमा नै राख्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?