Comments Add Comment

भरत शाहको भलिबलमा बितेका २५ वर्ष : कतै घाम, कतै छाया

हो, मैले आफ्नो जीवनका अमूल्य २५ वर्ष भलिबललाई दिएँ । १६ वर्ष त राष्ट्रिय टिमबाटै खेलेँ । तर, मैले १८ वर्षको उमरसम्म भलिबल राम्ररी छुनसमेत पाएको थिइनँ भनेँ भने तपाईलाई पत्याउन गाह्रो पर्ला ।

मनोरञ्जनका लागि खेलेको खेल मेरो जीवनकै अभिन्न अंग कसरी बन्न पुग्यो ? क्याम्पस पढ्दा मात्र भलिबल समाएको म छोटो समयमै कसरी राष्ट्रिय खेलाडी बन्न सकेँ ? सबै कुरा अहिले बताउन सम्भव नभए पनि मेरो खेलजीवनको सानो आँखीझ्याल खोल्दै छु । त्यसैबाट तपाईंले बाँकी पाटो अनुमान गर्न सक्नुहुन्छ ।

***

हाम्रोतिर खेलकुदलाई हेर्ने दृष्टिकोण अहिलेसम्म त राम्रो छैन भने त्यो बेला कस्तो थियो होला । अछामको रिडिकोटमा जन्मिएको मैले एसएलसीसम्मका अध्ययन महेन्द्र माध्यमिक विद्यालय बयलपाटामा गरेँ । सो विद्यालयमा ठूला दाइहरुले भलिबल खेलेको हेर्दा आफूमा पनि रहर जाग्थ्यो । तर, हामीलाई कसले अवसर दिने ?

स्कूलमा अरुले खेलेको देखेर घरमा आएर मोजामा कागज कोचेर त्यसरी नै खेलिन्थ्यो । आँगनमा लुगा सुकाउन टाँगेको डोरीलाई नेट बनाएर मोजाको बल हान्थ्यौं ।

ठूला दाइहरुले फुटाएको बल घर ल्याएर पनि खेल्थ्यौंं । त्यही फुटेको बल खेल्न पनि गाउँमा केटाहरु हानाथाप गर्थे । स्कूलबाट फर्केर खेल्न निस्केपछि घर फर्कन असाध्यै ढिलो हुन्थ्यो । त्यही भएर घरमा गाली खानुपर्थ्यो । कहिलेकाहीँ त रिसाएर भोकै सुतिदिन्थेँ ।

खेलेर खान पुग्ने अवस्था थिएन । काम धेरै नै गर्नुपर्ने । ‘खेलमा लागेर बिग्रियो’ भन्ने कुरा हरेक दिन सुन्नुपर्थ्यो । आमाबुबाले मात्रै होइन वरपर दाजुभाइले पनि नखेल्नलाई खुबै सम्झाउँथे ।

जसले जति सम्झाए पनि त्यो बेला स्कूलबाट फर्केर झोला फालेपछि एकैपटक बेलुका घर पुगिन्थ्यो । घरमा कुनै दिन त आमाबुबाले ढोका नखोलेर ‘जहाँबाट आएको हो त्यहिँ जा’ भन्दै गाली गर्नुहुन्थ्यो । चुपचाप साथीकोमा सुत्न गएका रातहरु पनि सम्झनामै छन् ।

स्कूल जाँदा पनि राम्ररी हिँड्ने चलन थिएन । बारीका कान्ला नाघ्दै, कुद्दै गइन्थ्यो । को अगाडि पुग्ने भनेर प्रतिस्पर्धा नै चल्थ्यो ।

कहिँलेकाहीँ त खेल्दाखेल्दै स्कूलै जाँदैन थियौं । कहिलेकाहीँ स्कुलबाट भागेर पनि खेल्थ्यौं । खेल्ने रहर जसरी हुन्छ पूरा गर्दै १० कक्षासम्म पुगें । अरुले जति बिग्रियो भने पनि एसएलसी पहिलोपटकमा नै पास गरें । गाउँमा राम्रो पढ्ने भनिएकाहरु पनि फेल भएका थिए ।

एसएलसी पास भएपछि बल्ल गाउँलेले पनि ‘यो त पास भयो, बाहिर पढ्न पठाउनुपर्छ’ भन्ने कुरा गर्न थाले । त्यो समय गाउँमा एसएलसीपछि पढ्ने कुनै विकल्प थिएन । धनगढी, बर्दिया, नेपालगञ्ज, डोटी जानुपर्थ्यो ।

***

म बर्दिया गएर पढ्न थालेँ । ०४३ सालमा एसएलसी पास गरेपछि मात्रै मैले ‘आधुनिक’ समाज देखेको हो ।

अछामबाट प्लेन चढेर धनगढी झरेपछि पहिलोपटक सम्म भूभाग देखेको थिएँ । गाडी, मोटरसाइकल देखेर अचम्म मानिरहेको म समतल जमिन देखेरै दंग परेँ । एरपोर्टबाट बाहिर आएपछि त टोलाएर हेरकोे हेर्‍यै भएँ ।

धनगढीबाट नेपालगञ्ज आउन पनि भारतको बाटो प्रयोग गर्नुपर्थ्यो । भारतमा गएर एक रात पलियामा बास बसियो । त्यहीँ सर्कस पनि हेरें । त्यहाँबाट भोलिपल्ट रेल चढेर नेपालगञ्जतिर आयौं ।

अछामको डाँडा कटेर कतै नगएको मैले पहिलोपटक प्लेन देखें, चढें । पहिलोपटक बस देखें, चढें । पहिलोपटक रेल देखें, चढें ।

***

बर्दियामा बबई बहुमुखी क्याम्पसमा भलिबल म्याच भइरहेको हुन्थ्यो । मैले विद्यालयस्तरमा हुने वीरेन्द्र रनिङ शिल्डमा पनि कहिल्यै भाग लिएको थिइनँ । त्यही फुटेको बल र मोजामा कागज कोचेको बलबाहेक अरु खेलेको पनि थिइनँ ।

गाउँमा हुँदादेखि भलिबल खेलेको हेर्न भने रमाइलो लाग्ने भएर बेलुका बबईमा पनि म भलिबल हेर्न गइरहन्थें । संयोग के भयो भने एक दिन भलिबल हेरिरहँदा चिनेकै एउटा साथी पनि खेलिरहेको रहेछ ।

अछाममा उसको बुबा जागिरे भएर आउँदा ऊ हाम्रै स्कूलमा पढेको थियो । उसको नाम रामजी श्रेष्ठ । मैले उसको अनुहार बिर्सिए पनि उसले मलाई चिन्यो ।

‘ल हामी बारीको पाटोमा खेल्दादेखिको साथी’ भनेर निकै खुसी मान्यो । कोही नचिनेको ठाउँमा चिनेको मान्छे भेट्दा मलाई पनि रमाइलो भयो । ‘आउ खेल्न’ भनेर उसले बोलायो ।

एक दिन, दुई दिन हुँदै म त्यहाँ नियमित खेल्न थालें । खेल्ने मान्छे धेरै नै हुन्थे । तर, साथीले गर्दा मैले हरेक दिन खेल्न पाएँ ।

एक महिना जस्तो खेलेपछि नै म त्यहाँको सबैभन्दा राम्रो खेलाडी भएर निस्किएँ । मलाई कसको टिममा राख्ने भनेर होडबाजी हुन थाल्यो ।
त्यसैको दुई महिनापछि जिल्ला स्तरीय भलिबल प्रतियोगिता भएको थियो । म बर्दिया जिल्लाबाट टिममा परें । हामीले प्रतियोगिता नै जित्यौं ।

जिल्लाको छनोटबाट पनि अञ्चलको टिममा परें । त्यसबाट २०४५ सालमा विराटनगरमा १५ औं राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न पाएँ ।
यसरी स्कूल हुँदासम्म कहिल्यै भलिबल खेल्न नपाएको मैले क्याम्पसमा आएर एकपछि अर्को प्रतियोगिता खेल्दा मानिसहरुले चिन्न थाले ।

***

भारतको सीमा क्षेत्रनजिक भएकाले हामी बेला बेला भलिबल खेल्न भारत पनि जान थालेका थियौं । भारतको लखनउसम्म पुगेर धेरै प्रतियोगिताहरु खेलियो ।

मेरो उचाई ६ फिट ३ इन्च छ । गाउँघरमा बारीका कान्ला नाघेरै भए पनि फुर्तिलो ज्यानको थिएँ । भारतमा प्रतियोगिता खेल्न जाँदा पनि मैले राम्रो गरेँ । त्यहीँ बसेर खेल्ने अवसर पनि आएको थियो । भारत लखनउको चिनीमिलले आफ्नो टिमबाट खेल्ने हो भने पढ्ने र खाने-बस्ने सुविधा तथा पकेट खर्च दिने बताएको थियो । तर मलाई भारतमा बस्न मन लागेन । घरबाट दिनु हुन्न भन्ने बाहना बनाएर फर्किएँ ।

***

नेपालमा पनि धेरै नै प्रतियोगिता भइरहेका हुन्थे । म सबैजसोमा खेल्थें । त्यसरी भलिबल खेल्दै मैले आईए पास गरें ।

त्यो बेला पहिलोपटक घुम्न भनेर काठमाडौं आएको कुरा पनि रोचक छ । काठमाडौंमा केही दिन बस्दा त म यतै रत्तिएँ । फर्कने बेला धरधरी रोएको थिएँ । छोडेर हिँड्नै मन लागेको थिएन । काठमाडौं शहरले मोहनी लगाएको थियो ।

तर, अहिले लाग्छ सुरुमा आउँदा काठमाडौंलाई मैले बुझेको रहेनछु । म ठूला विल्डिङ र झिलिमिलीमै रमाएको थिएँ । भित्री पाटो बुझ्दै गएपछि काठमाडौं निरश लाग्यो । अहिले त काठमाडौंमा रमाउनै सक्दिनँ ।

***

केही समयपछि दोस्रो पटक काठमाडौं घुम्न आएँ । त्यो बेला असईको लागि फर्म खुलेको रहेछ । प्रहरीमा जाने मन त थिएन तर, सबैले भरिरहेकाले मैले पनि फर्म भरिदिएँ ।

राष्ट्रिय स्तरको भलिबल खेलिसकेकाले मलाई कुनै समस्या भएन । सुगठित र फुर्तिलो पनि थिएँ । नतिजा आउँदा पास भएँ ।

असईको परीक्षामा पास भइसक्दा पनि मलाई प्रहरीमा जान मन भएन । भलिबलमा राष्ट्रिय खेलाडी बनेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र पछि प्रशिक्षककै रुपमा काम गर्ने सपना बनाइसकेको थिएँ । तालिमको लागि बोलाउँदा पनि म नजाने मुडमा ढुक्क भएर बसिरहेको थिएँ ।

तर, घरमा म पास भएर पनि तालिममा नगएको थाहा पाएर असाध्यै कराउनु भयो । खेलेर के हुन्छ ? मुखमा आएको जागिर छाड्ने ? अहिलेको जमानामा जागिर कहाँ पाइन्छ ? भनेर घरबाट कराउनुभयो । अति गरेपछि मन नलागी-नलागी पनि आएँ ।

इच्छा एकातिर बाटो अर्कोतिर भएपछि जिन्दगीमा धेरै पीडा महसुस हुने रहेछ । प्रहरीको तालिममा आएपछि मेरो खेल जीवन सकियो भनेर मलाई निकै दुःख लाग्यो ।

तालिम लिइरहँदा पनि कहिलेकाहीँ त भागौ कि जस्तो झोक चल्थ्यो । केही साथीहरु त भागे पनि । तर, घरको अवस्था सम्झिएर म भाग्न सकिनँ । अहिलेका कलाकार दीपकराज गिरी हामीसँगै तालिममा थिए । उनीसहित केही साथी भने तालिम छाडेर भागे । अहिले पनि हामी भेट हुँदा त्यो कुरा निस्किन्छ । ‘भगौडा’ भनेर जिस्काउँछौं ।

***

भन्छन् नि जे हुन्छ राम्रैका लागि हुन्छ । वाध्यतावश प्रहरीमा जागिर खाएर मलाई राम्रै भयो । अहिले जति सफलता पाएको छु त्यो प्रहरीमा आएकैले सम्भव भएको हो ।

प्रहरीमा आएर मैले आफ्नो सीप, आफ्नो खेललाई अझै निखार्ने अवसर पाएँ । त्यो बेलामा महेन्द्र पुलिस क्लब खेलकुदका लागि प्रख्यात थियो । मैले महेन्द्र पुलिसको भलिबल टिममा खेल्न पाएँ । तालिम सकाएपछि अरु राष्ट्रिय प्रतियोगिताहरु पनि खेलेकाले त्यो अवसर जुरेको थियो ।

जागिरमा नआएको भए एक-दुई वर्ष खेलेर म पलायन भइसकेको हुन्थें । अहिलेसम्म पनि वास्तविकता त्यस्तै छ । विभागबाहिरका खेलाडीलाई बाँच्न कठिन छ ।

विभागको टिममा हरेक दिन अभ्यास हुने भएकाले मेरो भलिबल नयाँ उचाइमा पुगेको थियो । उत्कृष्ट खेलाडीको दर्जामा नाम आउँथ्यो । २०४९ सालदेखि अहिलेसम्म प्रहरीभित्र खेलकुदमा नै संलग्न छु । पहिले खेलाडीको रुपमा, अहिले व्यवस्थापकको रुपमा छु ।

हामीले खेल्ने समयमा अहिलेजस्तोे खेल सामग्री थिएन । केही नहुँदा पनि हाम्रो दृढ इच्छा शक्ति भने थियो । जोशमा खेलिरहेका हुन्थ्यौं ।
त्यत्तिको लगनशीलता र तत्परता अहिलेका खेलाडीमा पाइँदैन । हामी कुनै प्रतियोगिता खेल्न जाँदा खाजा खाने पैसा पनि हुँदैन थियो ।

पुरस्कारमा शिल्ड मात्रै हो । बेस्ट प्लेयर पाइयो भने थाल वा गिलास दिन्थे । घर लगेर सजाएर राख्थ्यौं ।

***

म २०५२ सालमा पहिलो पटक राष्ट्रिय टिममा छनोट भएको हुँ । बाहिर प्रतियोगितामा जाने भनेर हामीले अभ्यास पनि गरेका थियौं । तर, क्याम्पमा बसेर अभ्यास सकाएपछि पनि हामी जान पाएनौं ।

त्यसअघि २०४८ र २०५० को राष्ट्रिय क्याम्पमा परेर पनि फालिएको थिएँ । मैले नराम्रो खेलेकाले फालिएँ भन्ने लाग्ला । तर, त्यस्तो होइन । म कस्तो थिएँ र अरु कस्ता थिए भन्ने त्यो बेलाको भलिबल बुझ्ने सबैलाई थाहा छ ।

२०५२ सालमा भारतमा भएको सातौं दक्षिण एसियाली खेलकुदमा मैले पहिलोपटक राष्ट्रिय टिमबाट खेलेँ । अरु कसैसँग १९/२० को फरक भएको भए त्यो मौका पनि पाउँदैन थिएँ । अंकमा हेर्दा अरु २० थिए भने म २५ थिएँ होला, यसैले टिममा परें । म देब्रे हातले हान्ने भएकाले पनि अलि भिन्न थिएँ । अरु राम्रा खेल्ने कति साथीले कहिल्यै राष्ट्रिय टिममा खेल्नै नपाएका घटना पनि छन् । उनीहरुको क्षमता त राम्रो थियो तर अन्तिममा जहिले पनि फालिन्थे ।

एकपटक राष्ट्रिय टिमको लागि छनोट हुँदा मलाई नै सिकाउने प्रशिक्षकले भन्नुभयो, ‘भरत तँ छनोटमा भाग नलि । माथिबाट प्रेसर छ । म तँलाई छनोट गर्न सक्दिन ।’

‘मैले पनि जागिर खानुपर्छ,’ भन्ने उहाँको कुराले मलाई अचम्मित बनायो । त्यस्तो अवस्थामा निराशा नआउने त कुरै हुँदैन । बेकार खेलमा लागेछु भन्ने भयो ।

तर, मैले पनि नडराई भनिदिएँ – ‘गुरु म यत्तिकै आउन लागेको होइन । कसैको चाप्लुसी गरेको छैन । गलत कुराको विरोध नै गर्छु । तपाईंको सिनियरलाई पनि भनिदिनु होला, मभन्दा राम्रो खेल्ने कोही आए म खुसीसाथ आफ्नो स्थान छाडिदिन्छु । तर, कसैको आफन्तको लागि आफ्नो खेललाई मार्न सक्दिनँ ।’

त्यसपछि म छनोट भएँ । यो एउटा उदाहरण हो । यस्ता कुरा त कति भए कति । सुनाएँ भने ५० औं घटना छन् ।

***

सातौं, आठौं दक्षिण एसियाली खेलकुदमा सहभागी भइसकेपछि पनि नवौं, दशौं र एघारौंका बेला टिममा पर्दिन कि भन्ने डर हुन्थ्यो । शारीरिक, प्राविधिक परीक्षा लिँदा सधैं तीन जनाभित्र पर्ने मलाई त्यस्तो डर किन हुन्थ्यो त ? यो मेरो मात्रै कुरा होइन । सबैलाई त्यस्तै नै हो ।

अहिलेसम्म पनि खेलमा राजनीति र तेरो-मेरो भन्ने भावना छ । माथि पहुँच नभएका खेलाडीमाथि थिचोमिचो छ । आफ्नै सामर्थ्यमा विश्वास गरेर मेहनत नगरेको भए म पनि कतै हराइरहेको हुन्थें ।

आफैले भोगेका कुरा पनि सम्झँदा विश्वास गर्न अप्ठेरो हुन्छ । कहिँलेकाहीँ जित्दाजित्दै हानुपर्ने, कहिलेकाहीँ हातमा आइसकेको उपलब्धी गुमाउनुपर्ने त खेलमा भइ नै राख्छन् ।

अहिलेसम्म पनि खेलमा राजनीति र तेरो-मेरो भन्ने भावना छ । माथि पहुँच नभएका खेलाडीमाथि थिचोमिचो छ । आफ्नै सामर्थ्यमा विश्वास गरेर मेहनत नगरेको भए म पनि कतै हराइरहेको हुन्थें ।

राष्ट्रिय टिममा आएपछि सहज होला भन्ने लाग्ला । तर, अवस्था त्यस्तो थिएन । हरेक प्रतियोगितामा मैले राम्रो नै गरिराख्दा पनि अर्को पटक टिममा पर्छु कि पर्दिन भनेर ढुकढुक भइरहेको हुन्थ्यो । कसैका मान्छे छिराउनु पर्‍यो भने को कुन बेला टिमबाट फालिन्छ भन्ने ठेगान हुँदैन थियो ।

म २०५६ सालमा राष्ट्रिय टिमको कप्तान भएँ । कम गर्वको कुरा होइन यो । तर, यसभित्रको निराशाको पाटो अरुले देख्न पाएकै हुँदैन । यो भलिबलमा मात्रै होइन नेपाली खेल क्षेत्रमा सबैतिर देखिने कुरा हो ।

आफ्नो स्वार्थका लागि देश, खेल, स्वाभिमान केही नहेर्ने मान्छेले नै हामीलाई निमोठ्दै लगिरहेका छन् । कालो देख्दादेख्दै रातो भन्नुपर्ने अवस्था छ । यो नियती कहिलेसम्म रहने हो यकीन छैन । कालोलाई कालै भन्नेले क्षमता भएर पनि अगाडि आउन पाउँदैन । यसबाट बाहिर ननिस्किएसम्म हामीले खेलकुदमा धेरै आश गर्न मिल्ने ठाउँ छैन ।

***

मैले सन्यास लिँदा पनि राष्ट्रिय टिममा खेल्न नसक्ने अवस्थामा थिइनँ । राम्रो खेल्दाखेल्दै सन्यास लिएँ ।

४२ वर्षको हुँदासम्म प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरिरहेको थिएँ । २०६६ सालमा बंगलादेशमा भएको ११ औं साफमा खेल्दा नेपालको टिम कप्तान मै थिएँ ।

नेपालमा भएको जति पनि प्रतियोगितामा जान्छु, सबैले सोध्थे – तपाईं प्रशिक्षक हो ?

म भन्थें – होइन, खेलाडी नै हुँ ।

उनीहरु भन्थे -मजाक नगर न ।

आफूसँग खेल्नेहरु को कहाँ पुगिसके, म भने अझै खेलिरहेको थिएँ । तेस्रो पुस्तासँग पनि खेलिरहँदा अब मैले छाड्नुपर्छ भन्ने लाग्यो ।
‘राम्रो खेल्ने खेलाडी आइसके, मैले ओगटेको जस्तो हुन्छ’ भन्ने लागेर सन्यास लिएँ । योभन्दा माथि मेरो प्रगति हुँदैनथ्यो । अरु आउँदा त प्रगति गर्न सक्छन् भन्ने लागेको थियो ।

***

विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदाका दुःख त धेरै नै छन् । २०५९ सालमा नवौं साफ गेम पाकिस्तानमा हुँदा हामी भारतको बाटो हुँदै रेल र बसमा तीन दिन यात्रा गरेर पुगेका थियौं ।

भैरहवाबाट गोरखपुर गयौं । गोरखपुरमा रेल ११ घण्टा ढिलो भयो । राति सुत्ने ठाउँ छैन । मच्छर लागिरहेको छ । झोला अर्कोले टिपेर लैजाला भनेर काखमा च्यापेर रात कटायौं । झोला पनि बचाउनु छ, सुत्नु पनि पर्नेछ ।

भोलिपल्ट त्यहाँबाट २७ घण्टा रेल चढेर अमृतसर र त्यहाँबाट दिनभरको यात्रा गरेर पाकिस्तान पुगियो । अमृतसरमा भारतीय पुलिसले हाम्रो सबै कुरा ठीक हुँदा पनि गलहत्याएर बाहिर निकाल्यो । खेलाडी हौं, गेम खेल्न जाँदै छौं भनेर सबैले परिचय पत्र देखाउँदा पनि मानेन ।

उनीहरुलाई घुस चाहिएको रहेछ । दियौं र गयौं । राष्ट्रिय खेलाडीको यो पीडा अरुले बुझलान् र ? यस्ता दुःख त कति छन् कति ।

एकपटक यहाँबाट राष्ट्रिय टिम काँकडभिट्टा हुँदै बंगलादेश गएका थियौं । राति भारतमा बस पुगेर रेस्टुरेन्टमा रोक्यो । मंहगो रिसोर्ट रहेछ । प्लेनमा जाने पैसा नभएर गाडीमा गएका हामीलाई त्यति महंगोमा खान सम्भव नै थिएन । भोकै रात काट्न वाध्य भयौं ।

यस्ता कुरा सुन्दा साना नै लाग्छन् । दुःख मानेनौं पनि । देशको परिस्थिति पनि हामी महसुस गर्छौं । हाम्रो देश सम्पन्न छैन भन्ने हामीलाई थाहा छ । तर भएसम्म र मिल्नेसम्म गलत काम हुनुहुँदैन भन्ने लाग्छ ।

***

मैले खेल्न छोडेको पनि ७ वर्ष भयो । यतिका वर्षमा पनि पहिलेभन्दा राम्रो पूर्वाधार विकास हुन सकेको छैन । मैले आफ्नै सन्तानलाई खेलमा नलाग भनेर सुझाव दिनुपर्ने अवस्था छ । खेलेर सहज जीवनयापन गर्नु हाम्रो जस्तो देशमा कठिन काम हो ।

जीवनमा चाहिने के नै हो र ? २५ भन्दा धेरै देशमा घुमेको छु । संसार बुझ्ने अवसर पाएको छु । यो सानो कुरा होइन । मान्छेले अनुभवले पाउने ज्ञानभन्दा ठूलो केही रहेनछ ।

मैले यत्रो वर्ष खेलेर के पाएँ त भनेर खोज्दा उत्तर भेट्न मुस्किल हुन्छ । तर, मलाई यसमा कुनै दुःखेसो छैन । सकारात्मक रुपमा लिएको छु । राष्ट्रिय टिममा मात्रै होइन खेल क्षेत्रमा नै मैले जति लामो समय बिताएको सायदै कोही होला । अहिले म नेपाल भलिबल संघको सदस्य छु ।

नेपाल प्रहरीको खेलकुद हेर्ने गरी व्यवस्थापकको काम गरिरहेको छु । यी कामहरुले खुसी दिएको छ । फर्केर हेर्दा गर्व लाग्छ । किनभने मैले जति गुमाएको छु, त्योभन्दा धेरै गुणा बढी पाएको छु ।

म आज भरत शाह भनेर यसै चिनिएको होइन । देश-विदेशमा आफन्त कमाएको छु । रगतको नाताभन्दा ठूलो भावनाको नाता पाएको छु । स्वागत र सम्मान पाएको छु ।

जीवनमा चाहिने के नै हो र ? २५ भन्दा धेरै देशमा घुमेको छु । संसार बुझ्ने अवसर पाएको छु । यो सानो कुरा होइन । मान्छेले अनुभवले पाउने ज्ञानभन्दा ठूलो केही रहेनछ ।

आउँदो पुस्तालाई म निराश बनाउन चाहँदिन । नराम्रा काम गर्नेहरु आफै सजग होउन् । म केही दुःख, केही रमाइलो र केही संघर्षका कुरा भनिरहेको छु । खेलकुदभित्रका विसङ्गतिका कतिपय कुरा त यहाँ भन्न नसकिने खालमा पनि छन् ।

हुन त अहिले पहिलेको तुलनामा परिवर्तन भएको छ । प्रतियोगिताहरु धेरै भएका छन् । अहिले टिम व्यवस्थापक बनेर कतै जाँदा आफ्नो बेला सम्झन्छु । हामीलाई के भइदियोस् भन्ने लागेको थियो त्यो अहिलेका खेलाडीले पाउन् भन्ने सोच्छु । खेलाडीमा पनि त्यो रहर, त्यो इच्छाशक्ति होस् भन्ने लाग्छ ।

प्रस्तुति : ऋग्वेद शर्मा 

तस्वीर : चन्द्र अाले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment