News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था बिहीबारदेखि सुरु भएको छ।
- सर्भरमा धेरै आवेदन आएकाले सिस्टम ह्याङ भएर नाम दर्ता गर्न समस्या भएको निर्वाचन आयोगले जनाएको छ।
- प्रधानमन्त्री सुशीला कार्कीले सर्भर समस्या समाधान गर्न आयोगलाई आग्रह गरी नाम दर्ता समय ५ दिन थप गरिएको छ।
२८ कात्तिक, काठमाडौं । सर्भरमा आइरहने समस्याले मतदाता नामावलीमा नाम दर्ता गर्न कठिन भइरहेको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । अब राष्ट्रिय परिचयपत्र भएकाले घरबाट नै नाम दर्ता गराउन सक्छन् ।
तर, सर्भर डाउन भइरहने हुनाले नाम दर्तामा समस्या भएको जिल्ला–जिल्लाबाट निर्वाचन कार्यालयहरूले बताएका छन् । आयोगका अनुसार क्षमता भन्दा बढी सेवाग्राहीको चाँप भएकाले सिस्टमले थेग्न नसकेको हो ।

‘सेवाग्राहीको धेरै चाप भयो । सिस्टममा ह्याङ भएको छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘सेवाग्राही धेरै भएकाले सिस्टमले थेग्न नसकेको र स्लो भएको हो ।’
राष्ट्रिय परिचयपत्रको विज्ञ टिम र आयोगको आईटीे टिमले शुक्रबार बिहान आएको समस्या समाधान गरेको जनाएको छ ।
‘परिचयपत्रको विज्ञ टिम र आयोगको टिमले काम गरिरहेको छ,’ प्रवक्ता भट्टराईले भने । तर, सेवाग्रहीले पटक–पटक अनलाइनबाट आवेदन दिँदा स्वीकृत नभएको गुनासो गरेका छन् ।
राष्ट्रिय परिचयपत्र पनि नभएका र मतदाता नामवलीमा नाम दर्ता गराउन बायोमेट्रिक दिन कार्यालयमा पुगेका सेवाग्राही सर्भर ढिला चलेपछि कुरेर बस्न बाध्य छन् । आयोगको एउटै तर्क छ–७७ जिल्लाबाट एकैसाथ धेरैको आवेदन आइरहेकाले लोड धेरै भएको हो ।
देशभरबाट दैनिक ३० हजार संख्याको हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ । आयोगले समयमा सर्भरको व्यवस्था नगर्दा यतिको संख्या पनि थेग्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

आयोगका अधिकारीका अनुसार पर सेकेन्ड ४ हजारसम्म आवेदन आइरहेको छ । ‘पर सेकेन्डमा ४–५ सय आवेदन आउने हो भने समस्या हुँदैन । तर एकैपटक ४ हजारसम्मको आवेदन आउँदा ह्यान्डल गर्न नसकिएको हो । यस्तोबेला मेमोरी र सीपीयू रिफ्रेस भएको हो ,’ आयोगका एक अधिकारीले भने, ‘सर्भर कम भएर समस्या भएको होइन ।’
आयोगको सर्भरको क्षमता कति हो त्यो भने आयोगले जनाएको छैन । ‘एउटा ढोकाबाट दुई जना छिर्नुपर्ने हो तर तीन जना छिर्न खोज्दा एक जनालाई होल्ड गर्नुपर्यो,’ ती अधिकारीले भने, ‘सर्भरको क्षमता पूरा छ । ३५ प्रतिशत मात्र मेमोरी प्रयोग भइरहेको छ । पूरा क्षमता कति हो त्यो केही दिनपछि भन्न सकिन्छ ।’
मतदाता नामवलीमा नाम दर्ता गारउने काम निर्वाचनको मिति तोकिनु अघि १२ महिना नै चल्छ । यसपटक जेनजी आन्दोलका कारण निर्वाचनको मिति तोकिएपछि पनि मतदाता नामवलीमा नाम दर्ताको समय दिइएको हो ।
सर्भरको समस्या समाधान गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीको अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न आयोगलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरेर अनलाइनबाट नाम दर्ता गर्दा सर्भर अवरुद्ध भएर सेवा रोकिने समस्याको समधान गर्न आग्रह गरेकी हुन् ।

सर्भरका कारण मतदाता नामवलीमा नाम दर्ता गर्न धेरै बाँकी रहेकाले समय थप गरिएको छ । प्रधानमन्त्री कार्कीको आग्राहमा आयोगले ५ दिन समय थप गरेको हो । यसअघि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम समय सीमा ३० कात्तिकसम्म निर्धारण गरेको थियो ।
प्रतिक्रिया 4