+
+
Shares

‘अब राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि लाइन लाग्नु पर्दैन’ (भिडियो)

निर्वाचन आयोगलाई पञ्जीकरण विभागले नागरिकले राष्ट्रिय परिचयपत्रका लागि भरेको  बायोमेट्रिक लगायतका विवरण उपलब्ध गराएपछि सहज भएको हो ।

दिनेश गौतम दिनेश गौतम
२०८२ कात्तिक २७ गते १८:०६

२७ कात्तिक, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौंको प्रांगणमा बिहीबार दिउँसो मतदाता नामवलीमा नाम दर्ता गर्न आएका सेवाग्राहीको भिड थियो । युवादेखि ज्येष्ठ नागरिकसम्म नामावलीमा नाम दर्ता गर्न पुगेका थिए ।

त्यहीबीचमा एउटा सूचना आयो- अब राष्ट्रिय परिचयपत्र भएकाहरू कार्यालयमा नाम दर्ता गर्न आउनु पर्दैन ।

हामीसँग राष्ट्रिय परिचयपत्र छ भन्दै लाइनमा बसेकाहरू एकाएक घरतिर लागे । एकाएक भिड पनि कम भयो । निर्वाचन आयोगलाई पञ्जीकरण विभागले नागरिकले राष्ट्रिय परिचयपत्रका लागि भरेको  बायोमेट्रिक लगायतका विवरण उपलब्ध गराएपछि सहज भएको हो ।

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम समावेश गर्न सकिने भएसँगै निर्वाचन कार्यालयहरूमा भिड कम हुने भएको छ ।

‘मतदतालाई निकै सहज हुने भयो । मतदाता यहाँ आउनु पर्दैन । जसको राष्ट्रिय परिचयपत्र छ उसले घरमै बसेर आवेदन भर्न सक्ने भयो,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले भने, ‘राष्ट्रिय परिचयपत्रको विवरणबाट नै मतदाता नामवलीमा नाम दर्ता गर्न सकिन्छ । फोटो खिच्न अब कार्यालयमा आउनै पर्दैन ।’

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराई

राष्ट्रिय परिचयपत्र भएकाले पनि अनलाइनबाट आवेदन भने दिनुपर्छ । सम्बन्धित व्यक्तिले आवेदन दिए पश्चात आवेदन नम्बर प्राप्त गर्नुहुन्छ र प्रदेश/जिल्ला निर्वाचन कार्यालयले अनुमोदन गरेपछि मोबाइल वा इमेलमा मतदाता परिचयपत्र नम्बर प्राप्त हुन्छ ।

‘धेरैको राष्ट्रिय परिचयपत्र छ । थोरैको मात्र नभएको हो । राष्ट्रिय परिचयपत्र नभएकाले पुरानै शैलीमा अनलाइनबाट फारम भरेर फोटो खिच्नको लागि कार्यालयमा नै आउनुपर्छ,’ भट्टराईले भने ।

तर राष्ट्रिय परिचयपत्र छ भन्दैमा स्वत: मतदाता परिचयपत्र भने बन्दैन । यसका लागि निर्वाचन आयोगको वेबसाइटमा भएर अनलाइन आवेदन दिनुपर्छ । त्यसपछि मतदाता नामवली तयार हुन्छ ।

सबैभन्दा धेरै भिड निर्वाचन कार्यालय काठमाडौंमा हुने गरेको छ । ७७ जिल्लाकै नागरिक काठमाडौं कार्यालयमा पुग्ने गरेकाले भिड भएको हो । ‘सुरुमा चाप कम थियो । अन्तितमा धेरै आउने चलन छ । नयाँ थप गर्ने, सार्ने, सच्याउने सबै काम एकैपकट हुँदा सर्भरमा समस्या आएको हो,’ उनले भने ।

बिहीबार दिउँसो पनि सर्भरमा समस्या आएको थियो । राष्ट्रिय परिचयपत्रसँग जोड्ने प्रक्रियाका कारण सर्भरमा समस्या आएको कार्यालयको भनाइ छ ।

‘राष्ट्रिय परिचयपत्रमा जोड्न लागेकाले १ घण्टा सर्भरमा समस्या आएको थियो । त्यसपछि सहज भयो,’ भट्टराईले भने । उनका अनुसार ८ वटा कम्प्युटर राखेर बायोमेट्रिक संकलन भइरहेको छ । ‘बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म काम गरिरहेका छौँ,’ उनले भने ।

निर्वाचनको मिति घोषणा भएदेखि हालसम्म काठमाडौं कार्यालयले २५ हजार ७ सय ७९ जनाको नाम दर्ता गरेको छ । राष्ट्रिय परिचयपत्रको आधारमा नाम दर्ता गर्न सक्ने भएपछि मतदाताको संख्या अझैं बढ्ने छ । तर सर्भरको समस्या पनि समाधान गर्नुपर्ने चुनौती आयोगलाई छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?