२७ कात्तिक, काठमाडौं । राष्ट्रिय परिचयपत्र पाएका व्यक्तिले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय पुग्न नपर्ने भएको छ । आफूलाई सहज हुने स्थानबाटै फारम भरेपछि स्वत: राष्ट्रिय परिचयपत्रमा भएको विवरण मतदाता नामावलीका लागि प्रयोग गर्ने व्यवस्था मिलाइएको हो ।
निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट फारम मात्रै भरे हुने व्यवस्था गरेको हो ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अुनसार, अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडि कार्ड (राष्ट्रिय परिचयपत्र) बाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइएको जानकारी दिए ।
‘अहिले हाम्रो नेशनल आइडि (राष्ट्रिय परिचयपत्र) को भण्डारमा जम्मा भएको बायोमेट्रिक अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरूका सबै मागलाई सम्बोधन गर्दछ,’ भण्डारीले भने ।
जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो व्यवस्था गरेको उनको भनाइ छ ।
यसका लागि आयोगले बुधबार रातभर प्राविधिक काम गरेको थियो ।
अहिले धेरै नागरिकहरूले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले मतदाता नामावलीका लागि थप सहज हुने विश्वास आयोगले लिएको छ ।
राष्ट्रिय बनाइसकेका नागरिकहरू भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरूको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ ।
सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ ।
तर, ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको विवरण छुट्नसक्ने देखिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो । आयोगको निर्णयसँगै जिल्ला निर्वाचन कार्यालयहरूले कार्यान्वयनमा ल्याइसकेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।
‘राष्ट्रिय परिचयपत्र भएका नागरिकले अब मतदाता नामावलीका लागि फोटो खिच्ने, बायोमेट्रिक गर्ने लगायतका कार्यका लागि धाउनुपर्दैन । नभएकाले भने अनलाइन फारम भनेर बायोमेट्रिकका लागि आउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया 4