News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनका लागि १५ हजार १८६ नयाँ मतदाताले नामावली दर्ता गराएका छन्।
- कैलालीमा ६ हजार ९३ र कञ्चनपुरमा ३ हजार ७२२ नयाँ मतदाताले नामावलीमा नाम दर्ता गराएका छन्।
- मतदाता नामावलीमा सबैभन्दा धेरै युवाहरूको सहभागिता देखिएको छ र उनीहरूले परिवर्तनकारी युवा नेतृत्वको माग गरेका छन्।
२ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा मतदाता नामावली दर्ता उत्साहजनक देखिएको छ । सरकारले २१ फागुनमा तय भएको निर्वाचनका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक थालेपछि प्रदेशका सबै जिल्लामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार अभियानमा सहभागी भएर मतदाता नामावलीमा नाम दर्ता एवं अद्यावधिक गर्ने कार्य सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ । अहिलेसम्म प्रदेशका ९ वटै जिल्लामा १५ हजार बढी नयाँ मतदाता थपिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत प्रेमराज भट्टले सोमबारसम्म प्रदेशभर १५ हजार १८६ नयाँ मतदाताले नामवली दर्तामा सहभागिता जनाएको बताए । सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा मतदाता थपिने क्रम जारी छ ।
कैलालीमा ६ हजार ९३ जना र कञ्चनपुरमा तीन हजार ७२२ नयाँ मतदाताले नामावलीमा नाम दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत भट्टले बताए । उनका अनुसार दार्चुलामा एक हजार १४९, अछाममा ९०६, बझाङमा ८५८, बाजुरामा ७२५, बैतडीमा ६९५, डडेल्धुरामा ५३५ र डोटीमा ५०१ जना नयाँ मतदाता दर्ता भएका छन् ।
तराईका जिल्लामा नयाँ थपिनेसँगै अन्यत्रबाट बसाइँसराइ गरी आएकाहरूले मतदाता नामावली अद्यावधिक गरेर सार्नेहरूको संख्यामा पनि उल्लेख्य देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत भट्टले मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूमा सबैभन्दा ठूलो संख्या युवाहरूको देखिएको छ । अद्यावधिकतर्फ भने युवाको संख्या धेरै छैन ।
‘अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा युवाहरूको संख्या धेरै देखिएको छ । सुदूरपश्चिमका सबै जिल्लामा सहभागिता उत्साहजनक देखिन्छ,’ भट्टले भने, ‘कैलाली र कञ्चनपुरमा बसाइँसराइका कारण मतदाता नामावली अद्यावधिक गराएर स्थानान्तरण गर्नेको संख्या पनि धेरै छ ।’
मतदाता नामावलीमा नाम दर्ता गराएकाहरू अगामी निर्वाचनमा परिवर्तनकारी युवा नेतृत्व स्थापित गर्नुपर्ने बताउँछन् । उनीहरूले जेनजी आन्दोलनपछि सिर्जना भएको परस्थितिलाई सही ठाउँमा ल्याउनका लागि निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने मत राखिरहेका छन् ।

धनगढीस्थित निर्वाचन कार्यालयमा भेटिएका गौरीगंगा नगरपालिका–६ बनबेहडाका सन्तोश आउजीले जेनजी आन्दोलनपछि परिवर्तनको चाहना प्रमुख विषय भएको बताए ।
‘जेनजी आन्दोलनपछि परिवर्तनको चाहना राखेर युवाहरू अघि आइरहेका छन्, यो राम्रो कुरा हो । पुराना राजनीतिक दल कांग्रेस, एमालेका क्रियाकलापले देशमा अप्रिय घटना भयो । यो युवाको नेतृत्वमा विश्वकै विशाल जनविद्रोह हो जस्तो लाग्छ,’ आउजीले भने, ‘पुराना दलहरू दोहोरिन नदिन युवा जाग्नुपर्छ । नयाँ र परिवर्तनकारी युवामैत्री निर्वाचन हुनुपर्छ ।’

प्रतिक्रिया 4