२७ कात्तिक, काठमाडौं । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र लिएका नागरिकका लागि सहज हुनेगरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
आयोगले आजैबाट लागू हुनेगरी यो व्यवस्था अघि बढाएको हो ।
यो सँगै राष्ट्रिय परिचयपत्र लिएका नेपालीले अनलाइनबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन् ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने छन् ।
‘अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कूटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरूले अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौं ।’
त्यसपछि उनीहरूको विवरण स्वत: मतदाता नामावलीमा पनि दर्ता हुने उनले बताए ।
सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ ।
तर, ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको विवरण छुट्नसक्ने देखिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो ।
प्रतिक्रिया 4