News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्ने गृहकार्य अगाडि बढाएको छ।
- प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा राष्ट्रिय परिचयपत्रको तथ्यांक प्रयोग गर्न आवश्यक प्राविधिक तथा कानुनी प्रक्रिया अघि बढाउन आयोगलाई भनेकी छन्।
- मतदाता नामावली दर्ताको अन्तिम म्याद कात्तिक ३० भित्र छ, तर प्राविधिक समस्याका कारण समय थप गर्न सकिने सम्भावना छ।
२५ कात्तिक, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेका तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्ने गृहकार्य अगाडि बढेको छ । यसका लागि निर्वाचन आयोगले काम गरिरहेको छ ।
राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्न सकिने विषयमा सुझाव आएको र आयोगले आन्तरिक रूपमा काम गरिरहेको आयोगले जनाएको छ ।
‘यदि यो सम्भव हुने भयो र अगाडि बढ्ने भयो भने सार्वजनिक रूपमा यसबारे आयोगले धारण सार्वजनिक गर्नेछ’ आयोगका एक अधिकारीले भने ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले नै पनि यो सम्भावनाको विषयमा ख्याल गर्न निर्वाचन आयोगलाई भनेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेका तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्न मिल्ने व्यवस्था गर्न आवश्यक प्राविधिक तथा कानुनी प्रक्रिया अघि बढाउन आयोगलाई भनेकी हुन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र मतादता नामावलीमा नाम दर्ता गरिसक्नुपर्ने समयसीमा छ ।
मतदाता नामावली दर्ता गर्ने अन्तिम समय नजिकिँदा देशभरका दर्ता केन्द्रमा भीड बढेको र सर्भरमा समेत समस्या आएको भनेर कतिपयले गुनासो गरिरहेका बेला राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्ने विकल्पमाथि छलफल भएको हो ।
मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था भए समय थप गर्न सकिने प्रधानमन्त्री कार्यालयको सन्देश छ । प्रधानमन्त्री कार्यालयले आवश्यक परे मतदाता नामावलीमा नाम दर्ता गरिसक्नुपर्ने कात्तिक ३० गतेसम्मको म्याद पुनरावलोकन गर्न सकिने समेत भनेको छ ।
यसबारे आवश्यक सहजीकरणका लागि गृहमन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।
खासगरी प्री–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नपाइनु, नागरिकता नम्बर प्रविष्ट गरिँदा समेत सिस्टमले नाम दर्ता अस्वीकार गर्ने समस्या देखिनु तथा जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्य र अशक्त व्यक्तिले नाम दर्तामा कठिनाइ भोग्नुपरेको कतिपयको गुनासो छ ।
प्राविधिक समस्याले दर्ता कार्य प्रभावित भएपछि सरकारले देशभरका निर्वाचन कार्यालयहरूमा बढ्दो चापअनुसार कार्यसमय तथा सिफ्ट थप गर्न र आवश्यक परे अतिरिक्त कर्मचारी परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न माग गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग गरिएको हो ।
हाल सञ्चालन भइरहेको मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रममा बायोमेट्रिक दिने लगायतका प्राविधिक समस्याले निर्धारित मितिमा सबैले मतदाता नामावलीमा नाम दर्ता गराउन सम्भव नदेखिएको रास्वपाको निष्कर्ष छ ।
यस्तो निष्कर्षसहित रास्वपाले गृहमन्त्रीलाई पत्र बुझाउँदै भनेको छ, ‘मतदाता नामावलीमा नाम दर्ता गराउन बायोमेट्रिक दिनमा देखिएको समस्या समाधान गर्न तथा समयवधि थप गरिदिनुहुन अनुरोध गर्दछौं ।’
प्रतिक्रिया 4