News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विगतमा मुद्दा बीचमै छोडेको स्वीकार्दै यसपटक महाधिवेशनको एजेन्डा निर्णायक तहमा पुर्याउने अठोट व्यक्त गरे।
- महामन्त्री शर्माले विधान अनुसार नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य सम्पन्न गर्नुपर्ने र २७, २८ मंसिरमा विशेष महाधिवेशन प्रस्ताव गरेको बताए।
- महामन्त्री थापाले आगामी निर्वाचनअघि गठबन्धन नगर्ने र कांग्रेस समर्थकहरूको पार्टीसँगको लोयलिटी कायम राख्नुपर्ने सन्देश दिए।
केशव सावद
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले विगतमा आफूहरूले मुद्दा उठाएर बीचमै छोड्ने गरेको स्वीकार्दै यसपटक उठाएको एजेण्डाबाट पछि नहट्ने सन्देश दिन खोजेका छन् ।
२८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्नो धारणा राख्ने क्रममा दुवैजनाले विगतका गल्तीको स्वीकारोक्तिसहित यसपटक उठाएको पार्टी पुनर्संरचनाको एजेन्डालाई निर्णायक तहमा पुर्याएरै छाड्ने सन्देश दिन खोजेका हुन् ।
सभापति शेरबहादुर देउवासँग विगतमा एजेन्डा राखे पनि निष्कर्षमा पुर्याउन नसकिएको तथ्य राख्दै महामन्त्रीद्वय थापा र शर्माले अब विगतमा जस्तै गल्ती दोहोरिन नदिने दृढता व्यक्त गरे ।
करिब एकघण्टा केन्द्रीय समितिमा विचार राखेका महामन्त्री थापाले आफूले विगतमा गरेका गल्तीको फेहरिस्त नै प्रस्तुत गरे । उनले सभापति देउवासँग १८ वटा मुद्दामा विमति राखे पनि निष्कर्षमा पुर्याउन नसकेको स्विकारे ।
थापाले विगतमा आफ्ना कुरा राखे पनि अन्तिममा ‘सभापति देउवाले भनेको’ र ‘बहुमतले निर्णय गरेको’ भनेर स्वीकार गर्नु आफ्नो भूल भएको स्वीकारे । ‘मैले गल्ती गरेकै हो । मैले त्यो बेलामा आफ्नो कुरा राखेँ । यस्तो हुन्छ भन्ने कुराको अनुमान लगाए,’ उनले बैठकमा भने, ‘तर, अन्तिममा गएर सभापतिले भन्नुभयो, बहुमतले भन्यो भनेर त्यसलाई मानेँ ।’
तत्कालीन समयमा आफूले सम्पूर्ण शक्ति लगाएर लड्नु पर्नेमा बीचमै आफू पछि हटेकोप्रति पश्चाताप गरे । ‘मैले मान्न हुँदैन थियोे । म घुँडा धसेर बस्नुपर्थ्यो । म लड्नु पर्थ्यो । मैले अस्वीकार गर्नुपर्थ्यो । मैले निर्णय गर्न दिन हुन्नथ्यो,’ उनको भनाइ थियो, ‘मेरो सम्पूर्ण ताकतबल लगाउनुपर्थ्यो । तर, मैले आफ्नो कुरा राखेँ । भएन त भएन, मैले मान्नु पर्छ भनेर मानेँ ।’
महामन्त्री थापाले विगतमा आफूले उठाएका एजेन्डा बीचमै छाडेर गल्ती गरेको स्वीकार गर्नुलाई अब विगतको गल्ती नदोहार्याउने प्रण गरेको ढंगमा ब्याख्या कांग्रेसवृत्तले गरिरहेको छ । उनीनिकट नेताहरू महामन्त्री थापाले अहिले उठाइएको महाधिवेशनको मुद्दालाई निर्णयमा पुर्याइ छाड्ने अठोट बैठकमा गरेको तर्क गर्छन् ।
‘मैले यहाँ कोसिस गरेको थिएँ, परिणाम आएको थिएन भनेर कार्यकर्तासँग आफ्नो तर्फबाट भएको गल्ती, कमजोरीलाई सार्वजनिक रूपमा स्वीकार गर्नुभएको हो । त्यसलाई लोकतान्त्रिक आचरणका रूपमा हेर्नुपर्छ,’ थापानिकट युवा नेता शंकर तिवारी भन्छन्, ‘उहाँले अब विगतको जस्तो गल्ती गर्दैन, अहिले उठाएको मुद्दालाई जसरी पनि निष्कर्षमा पुर्याउँछु भन्ने अठोट लिएको रूपमा बुझ्नुपर्छ ।’

अर्का महामन्त्री शर्माले बैठकमा अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नभएको जिकिर गर्दै ‘अघिको मनस्थिति’ अनुरुप नभएर ‘पछिको परिस्थिति’ अनुरुप सोच्नुपर्ने आवश्यकता औंल्याए । अहिलेको विषम परिस्थितिमा महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ ऊर्जा, नयाँ दृष्टि र नयाँ सन्देश दिन सकेमात्रै देशले पनि कांग्रेसलाई नयाँ विश्वासका लागि भरोसा गर्न सक्ने जिकिर गरे ।
महामन्त्री शर्माले आगामी निर्वाचनअघि महाधिवेशन गर्न आनाकानी गरिरहेको संस्थापन पक्षलाई विधान स्मरण गराएर समयमै नियमित अधिवेशन नगरिए विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको भन्दै सचेत गराउन खोजे । विशेष महाधिवेशनको माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने विधानको व्यवस्था संस्थापन पक्षलाई सुनाए ।
‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा अहिलेको मुल प्रश्न यो होइन । नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन,’ महामन्त्री शर्माले भने, ‘तर, विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७ (२) को स्पष्ट निर्देशन छ र यो हामी सबैका लागि बाध्यात्मक छ ।’
महामन्त्री शर्माभन्दा एककदम अघि बढेर अर्का महामन्त्री थापाले नियमित महाधिवेशनको अध्याय सकिएको जिकिर गर्दै २७, २८ मंसिरमा विशेष महाधिवेशनको मिति नै प्रस्ताव गरे । ‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भनेँ, तपाईंहरू सबै सदस्यताका कारण देखाएर पन्छिनुभयो,’ उनले संस्थापन पक्षीय नेताहरूलाई भने, ‘त्यसैले अब नियमित अधिवेशनको अध्याय बन्द भयो । अब मंसिर २७, २८ मा विशेष अधिवेशन हुन्छ ।’
महामन्त्री थापाले अधिवेशनबाट पार्टी नयाँ भएर अघि बढ्ने र नयाँ पुस्ताको मागअनुसार पार्टीलाई बदल्ने पनि उद्घोष गरे । ‘नेपाली कांग्रेस नयाँ भएर आउँछ । नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,’ उनले भने, ‘अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी अस्वीकार गर्दै जनादेश माग्न जानु हो ।’
महामन्त्री थापाले नागरिकमा रहेको असन्तुष्टि सम्बोधन गर्दै संविधान र प्रणाली जोगाएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने पनि बताए । ‘अब अगाडि कसरी जाने भन्ने विषयमा तीनवटा सम्भावनाहरू छन् । एउटा झन् थप ध्रवीकरण बढ्ने । थप हिंसा बढ्ने । दोस्रो, निर्वाचनबाट भदौ २३ भन्दा अगाडिको स्थितिमा पुग्ने अथवा केही सामान्य टालटुल भएर जाने । यो दुइटै कुराले नेपाललाई अगाडि बढ्न दिँदैन । त्यसैले हामी तेस्रो बाटोमा जानुपर्छ,’ थापाले भने, ‘तेस्रो बाटो भनेको अहिलेको असन्तुष्टिहरूलाई सम्बोधन गर्दै, त्यसलाई सम्हाल्दै, यो संविधानलाई पनि जोगाउँदै र प्रणालीलाई पनि जोगाउँदै अगाडि लिएर जानुपर्छ । यो काम नेपाली कांग्रेस पार्टीले नै गर्नुपर्छ ।’
नियमित महाधिवेशन हुन नसके विशेष महाधिवशेनको मुद्दामा दुवै महामन्त्री एकढिक्का देखिन्छन् । दुई महामन्त्रीको तदारुकतामा विशेष महाधिवेशनका लागि देशभर हस्ताक्षर संकलन सुरु भएको थियो ।
महामन्त्री थापाले १८ कात्तिकमा पेश गरेको कार्यतालिका अनुसार १६ देखि १९ मंसिरमा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्नेमा महामन्त्रीद्वय अडिग देखिन्छन् ।
निर्वाचन अघि महाधिवेशन आयोजना गर्दा असर पर्ने भन्दै आएका संस्थापन पक्षीय नेताहरूको भावनालाई आफूले सम्मान गरेको भन्दै महामन्त्री शर्माले बिहीबारको बैठकमा अहिले सुतेर बसेको पार्टीभन्दा अधिवेशनबाट जुर्मुराएको पार्टीले निर्वाचनमा सकारात्मक बल पुग्ने जिकिर गरे ।
‘म निवेदन गर्दछु– सुतेर बसेको पार्टी लिएर भन्दा अधिवेशन र विविध अभियानमार्फत् जुर्मुराएको पार्टी लिएर चुनावमा जाँदा त्यसले फागुन २१ को निर्वाचनमा पार्टीको प्रदर्शनलाई सकारात्मक बल पुग्नेछ,’ उनले भने ।
एकताबद्ध निर्णयमार्फत् कांग्रेसले आफ्ना शुभेच्छुकहरूमा नयाँ ऊर्जा भर्न सक्ने महामन्त्री शर्माको भनाइ थियो । ‘यो ऐतिहासिक दायित्व इमानका साथ निर्वाह गरेर रिफर्मसहित एकता अनि एकतामार्फत् पुरानो भावनाको कांग्रेस/नयाँ सम्भावनाको कांग्रेस बलियो ढंगले स्थापित गरौं,’ उनले भने, ‘बदलिएको र बलियो कांग्रेस, कांग्रेसका लागि भन्दा बढी देशका लागि जरूरी छ ।’
महामन्त्री थापाले आगामी दिनमा कांग्रेस निर्वाचनअघि गठबन्धन नगर्ने सन्देश पनि बैठकमा दिए । निर्वाचन अगाडि गरिने गठबन्धनले कांग्रेस समर्थकहरूको पार्टीसँगको ‘लोयलिटी’ समाप्त गर्ने कुरा विगतमा आफूले राखेको स्मरण गरे । ‘निर्वाचन अगाडि गर्ने गठबन्धन, त्यो पनि माओवादीसँग गर्ने गठबन्धनले हाम्रो पार्टीको तलका समर्थकहरूको जुन लोयलिटी पार्टीसँगको छ, त्यसलाई समाप्त गर्छ,’ महामन्त्री थापाले भने ।
महामन्त्री थापाले आफ्ना मतदातालाई कांग्रेसले नचिन्ने गरेको यथार्थ सुनाउँदै आगामी दिनमा त्यस्तो गल्ती पार्टीले नगर्ने पनि सन्देश दि खोजे । ‘पार्टी भनेको हामीहरू मेम्बरमात्र हुँदै होइनौँ । हामी चिन्दै चिन्दैनौँ हाम्रा पार्टीको मेम्बर्सहरू,’ उनले भने, ‘ती कहिले पनि पार्टीको झण्डा बोक्दैनन्, लेबी पनि तिर्दैनन् । ती लाखौंको संख्यामा छन् । तिनका लागि पार्टी भनेको कस्तो छ भने चार वर्ष, ३६४ दिन गाली गरे पनि अन्तिममा गएर रूखमा ढ्याप–ढ्याप भोट हाल्छन् । त्यो लोयलिटी छ । जेनरेशनल छ त्यो फेरि ।’
अर्का महामन्त्री शर्माले विगतमा पार्टी र नेतृत्वबाट भएका गल्ती पहिचान गर्ने, आत्मसात गर्ने, आत्मालोचना गर्ने कर्मले नयाँ ढंगले अघि बढ्ने संकल्पलाई विश्वसनीय बनाउने बताए । ‘जिम्मेवार व्यक्ति र जिम्मेवार दलले यसलाई सहज ढंगले ग्रहण गर्ने सामर्थ्य राख्नुपर्छ,’ उनले भने, ‘हामी जान्दछौं– हाम्रो नवीन यात्राको प्रारम्भ विन्दु यही हो ।’
उपचारका लागि सिंगापुर गएका सभापति शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने र संस्थापन पक्षका नेताहरू उनलाई महाधिवेशनको विपक्षमा उभ्याउन प्रयत्नमा लाग्ने संशय पनि दुवै महामन्त्रीमा देखिन्छ ।
सभापति देउवालाई पुन: सक्रिय बनाउन नेताहरू लाग्ने संशयसहित महामन्त्री थापाले बिहीबारको बैठकमा नम्र शैलीमा भने, ‘सभापति आउनुस् । पार्टी सम्हाल्नुुस् जो–जो भन्दै हुनुहुन्छ । जसले सभापतिलाई अहिले तान्दैछ । त्यो सभापतिकै अहितमा छ । सभापतिले सजिलो बनाइदिएको ठाउँमा दाइहरुले अप्ठ्यारो नबनाइदिनु होला ।’
गत असोज २८ मा सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारबाट नेताहरूको धारणा राख्ने क्रम सकिएको छ । कांग्रेसले महाधिवेशनबारे देखिएको विवाद समाधानका लागि थप अनौपचारिक र औपचारिक छलफल गर्न आज (शुक्रबार) एक दिन बैठक स्थगित गरेको छ । अर्को बैठक भोलि (शनिबार) दिउँसो २ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया 4