+
+
Shares

महाधिवेशन मितिको विवाद बढ्दै जाँदा रोकियो कांग्रेस बैठक

दुई महामन्त्रीले महाधिवेशनका लागि १६ पुसको प्रस्ताव राखे । कार्यबाहक सभापतिले फागुनको पहिलो हप्तातिरको प्रस्ताव गरे । त्यसैमा कुरा मिलेन ।

केशव सावद केशव सावद
२०८२ कात्तिक १४ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरी आइतबार दिउँसो १ बजे बस्ने निर्णय गरिएको छ।
  • महामन्त्री थापा र शर्माले १६ पुसमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्दा खड्काले फागुनको पहिलो हप्तामा गर्नुपर्ने अडान राखेका थिए।
  • विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले आइतबार नयाँ बानेश्वरमा भेला बोलाएको छ।

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार १ बजेका लागि बोलाइएको बैठक सुरुवात नै नगरी आइतबारसम्मका लागि स्थगित गरेको नेताहरूले जानकारी दिए। अब कांग्रेसको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।

शुक्रबारको बैठक बस्नुअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग कार्यवाहक सभापति खड्काको छलफल भएको थियो। त्यसपछि उनले सानेपामा पूर्वपदाधिकारी र इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका थिए।

‘पहिले कार्यवाहक सभापति र महामन्त्रीहरूबीच छलफल भयो, त्यसपछि पूर्वपदाधिकारीसँग र शेखर कोइरालासँग गोप्य छलफल गर्नुभयो,’ एक केन्द्रीय सदस्यले भने, ‘त्यसकै निष्कर्षको आधारमा मुख्यसचिवले बैठक स्थगितको सूचना सुनाउनुभयो।’

महामन्त्री थापानिकट केन्द्रीय सदस्यले महाधिवशेनबारे सहमति नजुटाई बैठक बस्दा बाहिर राम्रो सन्देश नगएकाले सहमति जुटाउने प्रयासस्वरूप केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको बताए।

‘मुख्य सचिवले आएर सूचना सुनाइदिनुभयो। सुनाइसकेपछि स्थगित भयो। उपसभापतिले (कावा सभापति) प्यारेलल्ली मिटिङ गरिरहनुभएको थियो,’ ती नेताले भने, ‘महामन्त्रीहरू गएको देखिएन । कुरा नमिली मिटिङ गर्दा राम्रो म्यासेज गएन भनेर मिलाउने प्रयासस्वरूप स्थगित गरिएको देखियो।’

महामन्त्रीद्वयले महाधिवेशनका लागि प्रस्ताव गरेको कार्यतालिकामा कार्यवाहक सभापति खड्का सहमत नभएपछि कुरा नमिलेको उनले बताए। ‘महामन्त्रीहरूले पुस १६ को प्रस्ताव राख्नुभयो। पूर्ण दाइले फागुनको पहिलो हप्तातिरको प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘त्यसैमा कुरा मिलेन।’

महामन्त्रीद्वय थापा र शर्माले शुक्रबारको छलफलका क्रममा कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका थिए। ‘सभापतिले तपाईंलाई अधिवेशन गराउने जिम्मेवारी दिनुभएको हो। अधिवेशन गर्ने वातावरण बनाउनुस्,’ महामन्त्रीद्वयले उनीसँग भनेका थिए।

खड्काले आफू महाधिवेशनकै पक्षमा रहेको जवाफ दिँदै पार्टीका नेताहरूसँग छलफलमै रहेको बताएका थिए। संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशन गर्न सहमत नरहेको उनको भनाइ थियो।

महामन्त्रीद्वय १६ पुसमा महाधिवेशन गर्नुपर्ने लाइनमा छन् भने संस्थापन पक्ष २१ फागुनको चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा छ। दुवै पक्षलाई एक ठाउँमा ल्याउन थप छलफलको आवश्यकता महसुस गरेर कार्यवाहक सभापति खड्काले बैठक स्थगित गरेको संस्थापन पक्षीय नेताहरूको भनाइ छ।

‘सहमति गर्दै छन् । गुट, उपगुटमा छरपस्ट भएकाहरूलाई एकीकरण गरेर मात्रै बैठक बस्नुपर्ने आवश्यकता महसुस गरी बैठक स्थगित गरिएको हो,’ एक केन्द्रीय सदस्यले भने, ‘सबैको सहमतिमा अगाडि बढे पार्टीको बृहत्तर हित हुन्छ।’

एक महिला नेतृले आइतबार महाधिवेशनको कार्यतालिका ल्याउन थप छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताइन्। ‘आइतबार एउटै क्यालेन्डर ल्याउने कुरो छ । त्यसका लागि छलफल, वार्ता गर्नुपर्‍यो,’ उनले भनिन्, ‘त्यसका लागि थप छलफल गर्न बैठक स्थगित भएको हो ।’

उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यवाहक सभापति खड्काको निर्देशनअनुसार प्राविधिक कुरा व्यवस्थापन गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको सूचना सुनाएका थिए।

पार्टी केन्द्रीय कार्यालय स्रोतले भने महामन्त्रीद्वयले छलफलका लागि दुई दिनको समय मागेपछि बैठक स्थगित गरिएको दाबी गरेको छ। ‘महामन्त्रीज्यूले छलफलका लागि दुई दिनका लागि समय माग्नुभयो,’ स्रोतले भन्यो।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समझदारीको प्रयासस्वरूप केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको प्रतिक्रिया दिए। ‘अझै छलफल गर्ने कुरा गर्नुभयो कार्यवाहक सभापतिले, आइतबार गरौँ न त भन्नुभयो,’ उनले भने, ‘सकेसम्म समझदारी निकाल्न सकिन्छ कि भनेर बैठक स्थगित गरिएको हो।’

मुख्यसचिव पौडेलले सूचना जारी गरेर शुक्रबारको बैठक स्थगित भएको र आइतबार दिउँसो १ बजे सानेपामै अर्को बैठक बस्ने बताएका छन्। सूचनामा बैठक स्थगितको कारण खुलाइएको छैन।

शुक्रबार बिहान महामन्त्रीद्वय थापा र शर्मासँग नेता कोइरालाले पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरेर नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गरेका थिए।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्रीद्वय जीवन परियार तथा बद्री पाण्डे पनि सहभागी थिए । उनीहरूले २१ फागुनका लागि तय भएको निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशालनगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्नुपर्ने पक्षमा हामी छौँ।’

यसैबीच महाधिवेशनबारे अन्योल बढ्दै गएपछि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूह काठमाडौंमा भेला बोलाउने तयारीमा लागेको छ। केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिकासमेत पेस हुन नसकेको भन्दै उनीहरू पार्टीमाथि दबाब सिर्जना गर्न भेलाको तयारीमा लागेका हुन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरेले सल्लाहका लागि भेला बोलाइएको बताए। ‘सल्लाह गर्ने बैठक हो त्यो। केन्द्रीय समितिले के गर्छ, त्यो पनि हामी हेरिरहेका छौँ,’ उनले भने, ‘आजसम्म बैठकमा कुनै विषय प्रवेश भएको छैन। त्यही भएर हामी बस्न लागेका हौँ।’

नेता घिमिरेका अनुसार हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहको भेला आइतबारका लागि बोलाइएको छ। नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा मध्याह्न साढे १२ बजेबाट भेला सुरु हुने बताइएको छ।

यो समूहले २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाएको थियो। ३० असोजबाट छलफल सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको मागलाई एजेन्डाका रूपमा भने पेस गरिएको छैन।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?