२७ कात्तिक, काठमाडौं । कांग्रेसको एउटा पहिचान थियो, लामा बैठक नगर्ने । कम्युनिस्ट पार्टीहरूका जस्ता ठेलीका ठेली दस्तावेज पेश गरेर हप्तौं बहसमा नअल्मलिने । यसपटक कांग्रेस पुरानो शैलीमा रहेन ।
एक महिनाअघि सुरु भएको केन्द्रीय समितिको बैठक अझै सकिएको छैन । नियमिति कि विशेष महाधिवेशन अनि चुनाव अघि कि पछि भन्ने गलफत्ती चलेको चल्यै छ ।
जुन गलफत्तीको टुंगो कहिले लाग्ने हो अझै निश्चित छैन । २८ असोजबाट केन्द्रीय समितिको बैठक सुरु भएको थियो । यो बीचमा एक दर्जन बैठक बसिसके सबै नेताहरूले बोल्ने क्रम बिहीबारसम्म सकिएको छ। तर निर्णयमा पुग्न नसकेपछि अर्को बैठक २९ कात्तिक दिउँसो २ बजे बस्ने गरी बोलाएको छ ।
धेरै नेताहरूले बोलेपछि बिहीबार पदाधिकारी तहका नेताहरूले धारणा राख्ने क्रम चल्यो । उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ–आफ्नो धारणा व्यक्त गरे । शीर्ष तहका यी नेताहरूका धारणा पनि एकरुपता छैन ।
उनीहरूले बिहीबारको बैठकमा खुलेर धारणा राखे । अब निर्णय चाहीँ के कसरी हुने हो निश्चित छैन । कार्यबहाक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले आफैं बैठकलाई निष्कर्षमा पुर्याउँछन् कि सिंगापुरमा रहेका सभापतिको मुख ताक्छन् ? प्रश्न उठ्न थालेको छ ।
महाधिवेशन हुँदा र नहुँदाका जोखिम तथा चुनाव अघि कि पछि भन्नेमा पदाधिकारी तहका मुख्य नेताहरूले बिहीबार आफ्ना धारणा खुलेर राखेका छन् ।
गगनले देखेका तीन जोखिम
महामन्त्री गगनकुमार थापाले आगामी मंसिर २७ गते पार्टीको विशेष महाधिवेशन गर्नका लागि बैठकमा प्रस्ताव गरे । बैठकमा नियमित महाधिवेशनको अध्याय सकिएको जिकिर गर्दै उनले मंसिर २७ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरे ।
‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने तपाईंहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो,’ उनले भने, ‘त्यसैले अब नियमित अधिवेशनको अध्याय बन्द भयो । अब मंसिर २७ गते विशेष अधिवेशन हुन्छ ।’साथै, उनले अधिवेशनबाट पार्टी नयाँ भएर अघि बढ्ने र नयाँ पुस्ताको मागअनुसार पार्टीलाई बदल्ने पनि बताए ।
‘नेपाली कांग्रेस नयाँ भएर आउँछ । नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,’ उनले भने, ‘अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी अस्वीकार गर्दै जनादेश माग्न जानु हो ।’
यस्तो अवस्थामा जनताले साथ नदिने उनको भनाइ थियो ।
‘कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने होइन, सम्हाल्ने हो,’ उनले भने ।
भदौ २३ को घटना हुँदा कांग्रेस पनि सरकारमा रहेको स्मरण गर्दै उनले आफ्नो भागमा परेको जिम्मा लिने बताए । थापाले असन्तुष्टि सम्बोधन गर्दै संविधान र प्रणाली जोगाएर अगाडि बढ्नुपर्ने धारणा राखे
‘अब अगाडि कसरी जाने भन्ने विषयमा तीनवटा सम्भावनाहरू छन् । एउटा झन् थप ध्रवीकरण बढ्ने । थप हिंसा बढ्ने । दोस्रो, निर्वाचनबाट भदौ २३ भन्दा अगाडिको स्थितिमा पुग्ने अथवा केही सामान्य टालटुल भएर जाने । यो दुइटै कुराले नेपाललाई अगाडि बढ्न दिँदैन । त्यसैले हामी तेस्रो बाटोमा जानुपर्छ,’ थापाले कांग्रेस बैठकमा भने, ‘तेस्रो बाटो भनेको अहिलेको असन्तुष्टिहरूलाई सम्बोधन गर्दै, त्यसलाई सम्हाल्दै, यो संविधानलाई पनि जोगाउँदै र प्रणालीलाई पनि जोगाउँदै अगाडि लिएर जानुपर्छ । यो काम नेपाली कांग्रेस पार्टीले नै गर्नुपर्छ ।’
त्यसको नेतृत्व कांग्रेसबाहेक कसैले गर्न नसक्ने उनको दाबी छ । ‘यो काम अरू कसैले गर्न सक्दैन । नेकपा एमालेले सक्दैन । एमालेको क्यारेक्टर नै होइन यो । एमालले उत्तेजना फैलाउन सक्ला,’ महामन्त्री थापाले भने । बैठकमा उनले अहिलेका असन्तुष्टिलाई सम्बोधन गर्दै संविधान र प्रणाली जोगाएर अगाडि बढ्नका लागि कांग्रेसलाई पत्याउने अवस्था नरहेको पनि बताए ।
के हो विश्वप्रकाशले देखेको विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता ?
महामन्त्री विश्वप्रकाश शर्माले समयमै नियमित महाधिवेशन नगरिए विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता रहेको बताए ।
शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार ९० दिनभित्र विशेष महाधिवेशन अनिवार्य सम्पन्न गर्न विधानको दफा १७ (२) मा व्यवस्था रहेको बताए।
महामन्त्री शर्माले आगामी पुस १६–१९ मा १५ औं महाधिवेशन गर्ने, मंसिरभित्र विशेष महाधिवेशन आयोजना गर्ने, वा केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन सक्ने तीन विकल्प रहेको बताएका छन्।
बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले विशेष महाधिवेशनको माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने विधानमा बाध्यात्मक व्यवस्था गरिएको बताएका हुन् ।
‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा अहिलेको मुल प्रश्न यो होइन । नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन,’ शर्माले भने, ‘तर, विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७ (२) को स्पष्ट निर्देशन छ र यो हामी सबैका लागि बाध्यात्मक छ ।’

झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न भएको जिकिर गर्दै उनले मागलाई विशेष महाधिवेशनको आयोजना र त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्ने बताए । ‘यसमा हामी द्विविधामा पर्नुहुन्न,’ महामन्त्री शर्माले भने ।
शर्माले महाधिवेशनका लागि कांग्रेससँग तीन विकल्प रहेको पनि बैठकमा सुनाए । उनका अनुसार पहिलो विकल्प आगामी पुस १६–१९ मा १५ औं महाधिवेशन गर्नु हो ।
‘बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको यो ऐतिहासिक तिथिमा महाधिवेशन सम्पन्न गरेर पार्टीभित्र एकता अभिवृद्धि गर्दै सिंगो देश समक्ष फेरि पनि राष्ट्रिय एकता र मेलमिलापको अपिल गर्ने,’ महामन्त्री शर्माले भने ।
दोस्रो विकल्पमा उनले झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानको धारा १७ (२) बमोजिम माग गरेअनुरुप मंसिरभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने बताए ।
‘गाउँमा पार्टी जोगाएर बसेका हामी जत्तिकै र हामीभन्दा बढी मिहिनेत गर्न सक्ने साथीहरूको हस्ताक्षरलाई अनादर गर्ने छुट हामी कसैलाई छैन,’ महामन्त्रीले भने ।
केन्द्रीय कार्यसमिति आफैंले विशेष महाधिवेशन आह्वान पनि गर्न सक्ने महामन्त्री शर्माको भनाइ थियो । ‘महाधिवेशन प्रतिनिधिको मागबमोजिम आयोजना गर्दा कतिपय व्यावहारिक अलमल हुन सक्दछन् भन्ने व्याख्या हो भने ‘केन्द्रीय समितिले चाहेमा’ भनेर विधानको सोही दफामा उल्लेख भएअनुरूप विशेष महाधिवेशन बोलाउन सकिन्छ,’ उनले भने, ‘यो तेस्रो विकल्प हो ।’
महामन्त्री शर्माले बैठकमा ‘पुसको अन्तिम साता जुनसुकै मितिमा पनि महाधिवेशन गर्न सकिने’ भन्दै चौथो विकल्पका रूपमा प्रस्तुत गरे ।
‘फेरि पनि नियमितमै जाउँ भनेर सहमतिपूर्वक बीचको बाटो खोज्ने हो भने पुसको अन्तिम साताको कुनै पनि मितिमा १५ औं महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘अन्ततः नियमित महाधिवेशनमै जाँदा त्यसले हामीलाई विधान परिमार्जन गरेर व्यापक युवा सहभागिता बढाउन सहज पनि हुनेछ ।’
महामन्त्री शर्माले महाधिवेशन आयोजना गर्दा आमनिर्वाचनलाई असर पर्छ भन्दै आएका नेताहरूको भावनालाई आफूले सम्मान गरेको पनि बताए ।
‘म निवेदन गर्दछु– सुतेर बसेको पार्टी लिएर भन्दा अधिवेशन र विविध अभियानमार्फत् जुर्मुराएको पार्टी लिएर चुनावमा जाँदा त्यसले फागुन २१ को निर्वाचनमा पार्टीको प्रदर्शनलाई सकारात्मक बल पुग्नेछ,’ उनले भने ।
नियमित महाधिवेशनको मिति घोषणासँगै सबैभन्दा पहिले पार्टी एकताबद्ध भएको सन्देश जाने महामन्त्री शर्माको भनाइ थियो । मिति घोषणाले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गर्ने र नगर्नेहरूका बीचको दूरी मेटिएर जाने उनले तर्क गरे ।
महामन्त्री शर्माले मिति घोषणाले ६ हजार ७४३ वडामा एकैसाथ क्रियाशील सदस्यता नवीकरण र वितरणको अभियानले गति लिने पनि दाबी गरे ।
‘करिब चार लाख नयाँ सदस्य बन्ने छन् । यो समग्र जुर्मुराहटले आगामी निर्वाचनका लागि पार्टीमा नयाँ जागरण पैदा गर्नेछ,’ शर्माले भने ।
अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नभएको जिकिर गर्दै उनले ‘अघिको मनस्थिति’ अनुरुप नभएर ‘पछिको परिस्थिति’ अनुरुप सच्नुपर्ने आवश्यकता पनि औंल्याए ।
‘आजको विषम परिस्थितिमा नेपाली कांग्रेसले महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ उर्जा, नयाँ दृष्टि र नयाँ सन्देश देशलाई दिन सक्नै पर्छ,’ महामन्त्री शर्माले भने, ‘तब देशले पनि कांग्रेसलाई नयाँ विश्वासका लागि भरोसा गर्न सक्ने छ ।’
धनराजको प्रस्ताव माघ पहिलो साता नियमित महाधिवेशन
उपसभापति धनराज गुरुङले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताए । पुस मसान्तभित्र नसकिए माघको पहिलो साता नियमित महाधिवेशन हुनसक्ने बताए ।
‘मेरो जोड के हो भन्दाखेरि एउटा जोड्ने ठाउँ राखौं । त्यो भनेको सबैलाई जोडेर नियमित महाधिवेशन पौष मसान्त नभए मागको पहिलो हप्तासम्म गरौँ,’ उपसभापति गुरूङले भने ।
उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा उनीहरूसँग वार्ता गर्नुपर्ने आवश्यकता औंल्याए । बैठकमा उपसभापति गुरूङले राखेको धारणाबारे एक नेताले भने, ‘जेनजीसँग वार्ता गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो। नियमित अधिवेशन गर्नुपर्छ भन्नुभयो ।’
मन्सुरको अडान विशेष महाधिवेशन
सहमहामन्त्री फरमुल्ला मन्सुरले विशेष महाधिवेशनमा जानुबाहेक पार्टीसामू अर्को कुनै विकल्प नरहेको बताए । मन्सुरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समयलाई अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।
उनले प्रतिनिधिसभा निर्वाचनमा नयाँ नीति र नेतृत्वसहित एकजुट भएर जानुपर्ने र संस्थापन पक्षले पार्टीलाई यथास्थितिमा राख्ने प्रयास गरिरहेको आरोप लगाए।
‘दृढताका साथ भन्न चाहन्छु– विशेष महाधिवेशन मात्र एउटा निकास छ र यसको लागि पूर्णबहादुर खड्काजीसँग मेरो आग्रह छ, यसलाई अवसरका रूपमा प्रयोग गर्नुस्,’ मन्सुरले भने, ‘यसको बारेमा अर्को कुनै निकास छैन । अर्को कुनै उपाय छैन ।’
सहमहामन्त्री मन्सुरले प्रतिनिधिसभा निर्वाचनमा एकजुट भएर नयाँ नीति र नयाँ नेतृत्वका साथ जानुको विकल्प नरहेको पनि बताए । ‘चुनावमा जाँदा एकजुट कांग्रेस लिएर जाने, नयाँ नीति लिएर जाने, नयाँ नेता लिएर जाने,’ उनले भने, ‘यसको अलावा कुनै उपाय छैन ।’
उनले संस्थापन पक्षीय नेताहरूलाई सभापति शेरबहादुर देउवाको नाम बेचेर पार्टीलाई यथास्थितिमा राख्ने प्रयास गरिरहेको पनि आरोप लगाए । उनी १४औं महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।
‘यहाँ दुईवटा विचार छ । एउटा पार्टीलाई अग्रगमनको दिशामा लग्ने विचार छ,’ मन्सुरले भने, ‘ अर्को भनेको, एउटा सभापतिजीको नाम बेचेर, सभापतिजीको कुरा गरेर पार्टीलाई यथास्थितिमा राख्ने प्रयास भइराखेको छ । अहिले भएको यही दुईबीचको द्वन्द्व हो ।’
सहमहामन्त्री चौधरीको आरोप : महामन्त्रीले जनतालाई चिराचिरा पार्यो
सहमहामन्त्री उमाकान्त चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएर महामन्त्रीले देशभरका जनतालाई चिराचिरा पारेको आरोप लगाए । तर, उनले कुन महामन्त्री भनेर नाम भने उच्चारण गरेनन्।
‘साइन गरेर ल्याउ पनि भन्ने, निर्णय मै गर्छु पनि भन्ने ? यस्तो पनि सुहाउँछ ? तपाईं हाम्रो संस्था हो । तपाईं संस्था भएको व्यक्तिले यो भन्न मिल्दैन । मिल्दै मिल्दैन,’ चौधरीले भने, ‘तर, तपाईंले भन्नुभयो, अत्यन्तै गलत गर्नुभयो। तपाईंले देशभरका जनतालाई चिराचिरा पार्नुभएको छ।’
सहमहामन्त्री चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरू क्रान्तिकारी भए नगर्नेहरू प्रतिगामी हुन् भनेर प्रश्नसमेत गरे।
‘जसले सिग्नेचर गरेको छ, उ महामन्त्रीको हुने, जसले सिग्नेचर गरेको छैन, उ तपाईंको विरोधी हुने ?,’ उनले भने, ‘जसले हस्ताक्षर गरेको छ, क्रान्तिकारी हुने रे। जसले हस्ताक्षर गरेको छैन, के प्रतिगामी हुने ? जसले साइन गरेको छ, त्यो विशेष महाधिवेशन चाहने । जसले गरेको छैन त्यसले नचाहने, के भन्न खोजेको हो ?’
सहमहामन्त्री चौधरीले जनेजी आन्दोलनअघि सबैका लागि ठीक रहेका सभापति शेरबहादुर देउवालाई आन्दोलनपछि अनेक लाल्छना लगाइएको भन्दै आपत्ति जनाए । ‘२३ र २४ गते (भदौ) अगाडि हाम्रो पार्टी सभापति ठीक। उहाँले गरेको काम राम्रो,’ उनले प्रश्न गरे, ‘तर, २४ गतेपछि त सबै खराब ? पार्टी सभापति बेठीक ? पार्टी सभापति सबैभन्दा बदमास ? पार्टी सभापति अपराधी ? के भन्न खोजेको ?’
सहमहामन्त्री चौधरीले २४ भदौ अघि सबैले सभापति देउवासँग हरेक करामा भागबण्डा लिएको पनि बैठकमा सुनाए। ‘हिजो सभापति हुँदा हामीले मन्त्रीमा भागबण्डा लिने। हामीले भ्रातृ संस्थामा पनि भागबण्डा लिने । विभागमा पनि भागबण्डा लिने । राजनीतिक नियुक्तिमा पनि भागबण्डा लिने । सरकारमा हुँदा संयन्त्रमा पनि बस्ने,’ उनले भने।
आङदेम्बेको बुझाई : नियमित महाधिवेशन नै साझा मिलनबिन्दु
सहमहामन्त्री भीष्मराज आङेदम्बेले नियमित महाधिवेशन सबैको साझा मिलनबिन्दु हुनुपर्ने बताए।
उनले २१ फागुनमा निर्वाचन भए पार्टी निर्वाचन तयारी गर्नुपर्ने र नभए आन्दोलनमा जानुपर्ने बताए।
‘नियमित महाधिवेशनबाटै हामी जानु पर्छ। नियमित महाधिवेशन नै हो,’ सहमहामन्त्री आङ्देम्बेले भने, ‘नियमित महाविधेशन नै सबैको एउटा मिलन बिन्दु हुनुपर्छ।’
उनले २१ फागुनमा निर्वाचन हुने भए पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्ने पनि बताए । चुनाव नभए आन्दोलनमा जानुपर्ने सहमहामन्त्री आङ्देम्बेको भनाइ थियो।
‘निर्वाचन भयो भने निर्वाचनको तयारी हामीले गर्नुपर्छ । निर्वाचन हुँदैन, आन्दोलनका निम्ति हामी तयार हुनुपर्छ,’ उनले भने, ‘समयले चाहन्छ होला कि चाहँदैन होला, मलाई थाहा छैन । तर, भोलि हामी आन्दोलनमा जाँदै गर्दा चाहेर पनि नचाहेर पनि मुद्दा संसद् पुनर्स्थानाकै हुन्छ।’
सहमहामन्त्री आङ्देम्बेले हरेक कुराको टुंगो केन्द्रीय कार्यसमिति बैठकबाट हुनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनको पनि टुंगो पनि केन्द्रीय कार्यसमितिले नै लगाउनुपर्ने बताए ।
‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुंगो लागोस्। विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुंगो लागेर जाओस्,’ उनले भने, ‘विधानमा टेकेर, वैधानिकतामाथि उभिएर । भेरिफिकेसनसम्म पुग्ने अवस्था नआओस्।’
सहमहामन्त्री आङ्देम्बे बैठकमा विगतमा कांग्रेस पार्टी विभाजन हुँदाको पीडा पनि सुनाए। ‘पार्टी फुटको पीडा छ। यद्यपि, त्यतिखेर इतिहासले चिनेका नेताहरू हुनुहुन्थ्यो। आज इतिहासले चिनेको एउटा नेता स्वास्थ्य उपचारमा हुनुहुन्छ,’ उनले भने।
प्रतिक्रिया 4