Comments Add Comment

काठमाडौंमा स्मार्ट मिटरः डेढ वर्षपछि ‘रिडर’ घरमा आउँदैनन्

२६ असोज, काठमाडौं । काठमाडौंमा पहिलो चरणमा स्मार्ट मिटर जोड्ने कम्पनीको टुंगो लागेको छ ।

नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले स्मार्ट मिटर जडानको लागि हुइझोउ झोङछेङ इलेक्ट्रोनिक कम्पनीलाई छनोट गरेको छ ।

कम्पनीले ठेक्का प्रक्रियामा सबैभन्दा कम करिब ८८ करोड रूपैयाँ (८.७ मिलियन डलर) लागतमा ठेक्का प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकृत गरी सम्झौता गर्ने प्राधिकरणको तयारी थालेको छ ।

यो कम्पनीसँग ठेक्काको सम्झौता भएको डेढ वर्षभित्र काठमाडौंमा पहिलो पटक स्मार्ट मिटरिङ सुरु हुनेछ । यसपछि क्रमशः देशभर नै यो योजनालाई लागू गर्दै लैजाने योजना बनाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यो आयोजना अन्तरगत पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जोडिनेछ । आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालकाअनुसार कम्पनीले स्मार्ट मिटरको ‘डाटा सेन्टर’ पनि स्थापना गर्नेछ । त्यही डाटा सेन्टरबाट स्मार्ट मिटरिङ सिस्टम सञ्चालन हुनेछ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि अनलाइनखबरलाई बताउँछन् ।

स्मार्ट मिटरिङ लागू भएपछि विद्युत प्राधिकरणमा विजुली खपतको डाटा ‘रियल टाइम’मा आउँछ । उपाभोक्ताले पनि दैनिक आफ्नो बिल कति उठिरहेको छ भनेर मिटरमै हेर्न सक्छन् । दैनिक कति बिजुली उपयोग भइरहेको छ भन्ने डाटा प्राधिकरणमा पनि आउँछ भने उपभोक्ताले मिटर हेरेरै जानकारी लिन सक्छन् ।

अहिले प्राधिकरणका कर्मचारीहरु बिजुलीको बिल लिएर ग्राहकको घर–घरमा जान्छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ । हजारौं मिटर रिडरहरु खटाउनुपर्ने अवस्था छ । रिडरहरुलाई पनि घर–घरमा पुगेर मिटर रिड गर्न सजिलो छैन ।

कतिपय मिटर रिडरहरु नै मिटर बिगारेर बिजुली चोरीमा संलग्न हुने अवस्थाको अन्त्य पनि यसले गर्नेछ । किनभने हेरक ग्राहकको बिजुली खपत र बिलिङको डाटा पल–पलमा प्राधिकरणको डाटा सेन्टरमै आउँछ । यदि स्मार्ट मिटर सबै ठाउँमा लगाउन सक्ने हो भने प्राधिकरणलाई यति मटिर रिडिङमा जनशक्ति नै चाँहिँदैन । पिक आवरमा लोड म्यानेजमेन्ट पनि सहज बन्छ ।

के हो स्मार्ट मिटर ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनिकेशन अर्थात दोहोर सञ्चार प्रणालीमा आधारित हुन्छ ।

ग्राहकले खपत गरेको बिजुलीको तथ्यांक ‘डाटा सेन्टर’मा हरेक पलमा आउने र त्यसको बिलिङ गरेर लगातार भइराखेर ग्राहकसम्म पठाउने गरी यो प्रणालीमा जाडान हुन्छ । यस्तो डाटा रेडियो फ्रिक्वेन्सीमा आधारित भएर सञ्चार गरिन्छ ।

प्राधिकरणको केन्द्रिय सिस्टमले पल–पलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले विल तिरेको÷नतिरेको पनि प्राधिकरणले कम्प्युटरमै बसेर लिन सक्छ ।

विकशित मुलुकहरुमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले विना झन्झट विजुली खपतका तथ्यांक हेर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment