Comments Add Comment

महाराजगञ्जमा बल्याे ट्राफिक लाइट

२६ असाेज, काठमाडौं । काठमाडाैं महानगरपालिकाले चक्रपथ खण्डमा पर्ने महाराजगञ्ज चोकमा नेपाली प्रविधिमा निर्माण गरिएका सडक संकेत बत्ती (ट्राफिक लाइट) सञ्चालनमा ल्याएको छ ।

२५ लाख रुपैयाँ खर्च गरेर निर्माण गराएको प्रणालीको रिमोट, शुक्रबार एक औपचारिक कार्यक्रमका बीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरे ।

त्यस लगत्तै मेयर शाक्यले शिक्षण अस्पताल अगाडि निर्माण गरिएको पैदल यात्रु संकेत बत्तीको शुरुवात् गरेका थिए । यो प्रणाली निर्माण गर्न ५ लाख रुपैयाँ खर्च गरिएको महानगरपालिकाले जनाएकाे छ ।

महाराजगञ्जमा निर्माण गरिएको संकेत बत्तीमा सवारी साधनका लागि ९० सेकेण्ड र जेब्रा क्रसिङ् प्रयोग कर्ताका लागि १५ सेकेण्ड समय कायम गरिएको छ । तारविहिन नेपाली प्रविधिमा जडान गरिएको प्रणालीमा बत्तीसँगै क्यामरा पनि जोडिएका छन् । ती क्यामराले १०० मिटरसम्मका सवारीलाई (क्लोज अप) नजिकबाट निगरानी र तिनका गतिविधि रेकर्ड गर्न सक्छन् ।

बत्तीहरु अटो र म्यानुअल दुवै तरिकाबाट चलाउन सकिन्छ । दिनको समयमा अटोमा राखेपछि एउटै समय तालिकामा आवागमन चल्छ भने बिहान वेलुकी सवारी साधन कम चल्ने बेलामा पैदल यात्रीले स्वीच थिचेर सडक पार गर्न सक्छन् ।

प्रयोगकर्ताले स्वीच थिचेको १० सेकेण्डपछि हरियो बत्ती बल्छ । महाराजगञ्च चोक काठमाडौंका व्यस्त चोकमध्येको एक हो ।

सडकबत्ती जडान गर्ने क्रममा यार्सा टेक्नोजोलीले दिनको ३ बजेदेखि ४ बजेसम्म राखेको तथ्याङ्कमा त्यस १ घण्टाको अवधिमा ८०० वटा मोटरसाइकल, १२० वटा बस, २२० वटा कार र २१५ वट ठूला बस, ट्रक तथा मालबाहक सवारी गुडेका थिए ।

यो समय चाप हुनु अघिको समय हो । महाराजगञ्ज चोकमा ४ बजेपछि र ७ बजे अघिको समयमा सवारीको अत्याधिक चाप हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment