Comments Add Comment

उपप्रधानमन्त्रीले भने– सरकारको शब्द र संगीत मिल्यो, लय मिलेन

२८ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो पृष्ठमा दुर्घटना र मृत्युका खबरहरु बढी छन् । म्याग्दीको गुर्जा हिमाल आरोहणका क्रममा ८ आरोहीको मृत्यु भएको र  कांग्रेस नेता चक्र बास्तोलाकाे निधन भएकाेलार्इ पत्रपत्रिकाहरूले विभिन्न शीर्षक दिएर लेखेका छन् । निजी क्षेत्रको पत्रकारिता विकासमा योगदान पुर्याएका हेमराज ज्ञवालीको निधनलाई पनि केही पत्रिकाहरूले छापेका छन् ।

पहिलो पृष्ठमै प्रदेशसभामा कर्मचारी अभाव भएको, बैंकमा एकैदिन ४६ अर्ब कारोबार भएको, १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएकोलगायत खबर छन् ।

हिम आँधीले ९ को मृत्यु भएको समाचार छापेको कान्तिपुरले प्रदेश २ को प्रदेशसभाले प्रदेश प्रहरी विधेयक शनिबार पारित भएको लेखेको छ । संविधान र संघीय कानूनसँग बाझिएकाले ४ महिनादेखि विचाराधीन विधेयक नेकपाको असहमतिबीच दुई पटक बैठक डाकेर नियम निलम्बन गर्दै पारित गरिएको हो ।

नागरिकले ‘रहेनन व्यावसायिक पत्रकारिताका धरोहर’ शीर्षक दिएर नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनबारे ब्यानर समाचार छापेको छ । गुर्जा हिमाल आरोहणका क्रममा ८ नेपालीको मृत्यु भएको र कांग्रेस नेता चक्र बास्तोलाको निधनलाई पनि नागरिकले पहिलो पृष्ठमा नै समेटेको छ ।

अन्नपूर्णमा प्रदेशसभामा कर्मचारी अभाव भएको, बैंकमा एकै दिन ४६ अर्ब कारोबार भएकोलगायत समाचार छन् ।

अन्नपूर्णकै भित्री पृष्ठमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारबारे गरेको टिप्पणी पनि छ ।

समाचार अनुसार, पोखरेलले तीनै तहका सरकारबीच लय मिल्न नसक्दा काम प्रभावकारी हुन नसकेको बताएका छन् ।

विजयादशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पोखरेलले भने– तीनै तहमा नेकपाको बलियो सरकार छ, शब्द र संगीतका हिसाबले मिलेकै छ । तर लय मिलाउन नसक्दा काम प्रभावकारी बन्न सकिरहेको छैन । त्यो पनि मिलाउँदै छौं ।’

स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव गरिएकोलाई गोरखापत्रले एंकर बनाएको छ भने राजधानीले दशैं मान्न घर फर्किने क्रम बढ्दा राजधानी रित्तिएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment