Comments Add Comment

सुरु भयो निकुञ्जमा जीप सफारी

२८ असोज, चितवन । बर्खामास लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा बन्द भएको जीप सफारी सञ्चालनमा आएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालका अनुसार असोज २५ गतेबाट बन्द भएको जीप सफारी सञ्चालनमा आएको हो । निकुञ्जले असार १५ गतेबाट जीप सफारी बन्द गरेको थियो ।

वषर्ायाममा पानी बढि हुने, रुखहरु ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवम् जंगली जनावरहरु समेत नदेखिने कारणले निकुञ्जले जीप सफारी वन्द गरिएको थियो । अर्को वर्ष असारमा पुनः तीन महिनाका लागि जीप सफारी बन्द गरिन्छ ।

चितवनको सौराहा, कसरा, मेघौली र नवलपुरको अमलटारी क्षेत्रबाट जीप सफारी हुने गर्दछ । यो बीचमा झाडी फाँडने, पुल मर्मत गर्ने, भत्किएको बाटोहरु बनाउने लगायतका कामहरु गरिएको सूचना अधिकारी आर्यालले बताए ।

पर्यटकीय मौसम शुरुभएसँगै जीप सफारी पनि सुरु भएकोले पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

दशैं, तिहार, छठ जस्ता पर्वमा आन्तरिक पर्यटकको संख्या पनि उल्लेख्य रुपमा बृद्धि हुने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

उनका अनुसार जीप सफारी शुरु भएको सन्देश देशव्यापी जाँदा पनि आन्तरिक पर्यटनमा थप टेवा पुग्ने उनले बताए । जीप सफारी बाहेक हात्ती, पैदल र डुंगा सफारी भने वषर्ायाममा पनि हुने गर्दछ ।
राप्ती नदीमा डुंगा सफारी हुन्छ भने मध्यवर्ती क्षेत्रमा हात्ती सफारी हुने गर्दछ । हात्तीलाई निकुञ्जभित्र प्रवेश गर्न दिइँदैन ।

चितवन आउने अधिकांश पर्यटक चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने आउने गर्दछन् ।

चितवन निकुञ्जमा वर्षमा औंषत दुई लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरू आउने तथ्याङ छ ।

जीप सफारीबाट करोडौं आम्दानी

निकुञ्जका जंगल सफारीबाट वार्षिक करोडौं रकम आम्दानी गर्ने गरेको छ ।

निकुञ्जले गत आर्थिक बर्षमा सवारी शुल्क वापत तीन करोड २५ लाख ६० हजार रुपैयाँ र निकुञ्ज प्रवेश शुल्क वापत १६ करोड ७८ लाख ५४ हजार ६५० रुपैयाँ राजश्व संकलन गरेको थियो ।

जीप प्रवेश गर्दा मूल्य अभिबृद्धि कर बाहेक चार हजार रुपैयाँ निकुञ्जलाई राजश्व तिर्नुपर्ने हुन्छ ।

विदेशी पर्यटकले प्रवेश शुल्क वापत १ हजार ५ सय, सार्क मुलुकका पर्यटकले ७५० र नेपालीले एक सय रुपैयाँ र मूल्य अभिबृद्धि कर शुल्क तिर्नुपर्ने हुन्छ ।

निकुञ्ज सफारीमा जाने पर्यटकले वन क्षेत्रसँगै विभिन्न वन्यजन्तु, ताल तलैया, चराचुरुङ्गी अवलोकन गर्न पाउँछन् । मुख्य रुपमा दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, भालु, घडियाल गोही अवलोकनका लागि पर्यटक निकुञ्ज जाने गर्दछन् ।

निकुञ्जले सौराहाबाट ३२, मेघौली र कसराबाट ८/८ वटा जीपका लागि अनुमति दिएको छ ।

विहान दिउँसो र दिनभर गरि ३ सिफ्टमा सफारी गर्न पाइन्छ । विहान सौराहाबाट २०, दिउँसो २५ र दिनभरका लागि १० वटा जीपले अनुमति पाउँछन् ।

एउटा जीपमा १० जनासम्म अटछन् । एक जना गाइड अनिवार्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment