Comments Add Comment

चल्न थाल्यो बिराटनगर जुट मिल, २२ टन सुतली बेच्नका लागि तयार

२८ असोज, विराटनगर । देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ ।  विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाईसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ग्रेको छ ।

एक महिना अघिदेखि परीक्षण संचालनमा रहेको मिल्सले दुई सातायताबाट व्यवसायीक उत्पादन थालेको छ ।  मिल सञ्चालक समितिले मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरेसँगै मिलले नियमितरुपमा व्यवसायीक उत्पादन गदै आएको छ ।

मिल पुनःसञ्चालनमा आएसँगै १ सय बढीले रोजगारी समेत पाएका छन् । मिल बन्द भएको बेला रोजगारी गुमेपछि घरमा बसेका मजदुर पुनः काममा फर्किएका छन् ।

मिल सञ्चालक समितिका अनुसार व्यवसायीक उत्पादन थालेकोमा दशैं लगत्तै जुट बोरा उत्पादनको तयारी समेत अघि बढाएको छ ।

हाल दिउँसोको समयमा मात्र सञ्चालनमा रहेको मिलबाट अहिले २२ टन सुतली उत्पादन गरीसकेको छ । मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार जुट मिल्सले ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन गरेको छ ।

दश वर्षपछि विराटनगर जुट मिल्स उद्योगको उत्पादन विक्री गर्ने तयारी गरिएको छ । विराटनगर जुट मिल्सले गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरेका थियो ।

त्यसयता जुट मिल्सले उत्पादन गरेको २२ टन सुतली नेपाल तथा भारतमा विक्री गर्ने तयारी छ । बाँकी १० टन घानीमा रहेको छ ।

मिल व्यवस्थापन पक्षले उत्पादित सुतली विक्रीको तयारी समेत गरेको छ । उत्पादन भएको सुतलीको ५० केजी र २५ केजीको प्याकिङ्ग भईरहेको छ ।

उत्पादिन सुतली विक्री गर्नका लागि भारतीय कम्पनी र नेपालस्थित स्वस्तिक जुट मिलसँग छलफल भइरहेको बताइएको छ ।

जुट मिल्सबाट ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन भएको छ । जुट बोराको कच्चा धागो मानिने सुतली उत्पादनको काम अहिले दिवा र रात्रीकालिन गरी दुई शिफ्टमा भईरहेको जुट मिल्स सञ्चालक समितिका अध्यक्ष वसन्त वनले जानकारी दिए ।

गतवर्ष जुट मिल्स सञ्चालन गर्ने भन्दै खरिद गरिएको ५४ टन जुटलाई सदुपयोग गर्दै सुतली उत्पादन गरिएको छ । त्यस बाहेक यसैवर्ष सञ्चालक समितिले २६ टन नयाँ जुट समेत खरिद गरेको छ ।

उद्योग परिसरमा रहेको ८० टन जुटमध्ये २२ टन उत्पादन, १० टन उत्पादन प्रक्रिया र बाँकी ४८ टन जुट स्टक छ ।

भर्खरैमात्र व्यवसायीक उत्पादन थालेको मिललाई पूर्ण क्षमतामा सञ्चालन गरी व्यवसायीक उत्पादनलाई निरन्तरता दिने तयारी रहेको मिल सञ्चालक समितिले जनाएको छ ।

उद्योगमा रहेको पुरानो मेशिन चलिरहेको रनयाँ मेशिनको मर्मत भने भईरहेको बताइएको छ । पुरानो मिलसँगै रहेका दुईवटा सप्नर, ४ वटा ब्रेकर, २ वटा ड्राइङ, ३ वटा स्पि्रङ्ग, एउटा ट्वीस्टिङ्ग र एउटा चर्खा चलिरहेका छन् ।

अझै ८ वटा ब्रेकर, १० वटा ड्राइङ, १८ वटा स्पि्रङ्ग, ४ वटा ट्वीस्टिङ्ग र २ वटा चर्खालाई चल्न सक्ने बनाउनका लागि मर्मतको काम भईरहेको छ । विराटनगर जुट मिल्स वि.स. १९९३ असार ३० गते स्थापित भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन ।

भारतीय कम्पनी विनसम इन्टरनेशनल लिमिटेडले २०६९ सालमा वाषिर्क १ करोड ३५ लाख रुपैयाँमा लिजमा लिएको थियो । तर, ३० प्रतिशत मात्रै मेशिन चलेपछि उसले सम्झौता करार रद्द गरेको थियो । त्यसपछि मिल बन्द अवस्थामा रहेको थियो ।

ऋणको भारमा मिल

वि.स. १९९३ मा भारतका उद्योगी राधाकृष्ण चमडियाले विराटनगर जुट मिलको स्थापना गरेका हुन् । तत्कालीन समयमा ६२ लाख ७० हजार ५ सय रुपैयाँ लागतमा मिल स्थापना गरिएको बताइन्छ । जुट मिल सन्चालनमा आउँदा पूर्ण मुनाफा कमाएको देखिन्छ ।

मिल सन्चालनमा आएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती प्रकाशनमा १ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको उल्लेख छ ।  तर, आज यहाँसम्म मिल आइपुग्दा मिल ४ अर्व ऋणको भारमा छ ।

पटकपटक खुल्दै बन्द हुँदै आएको मिल सन्चालनका लागि बैंक वित्तिय संस्था एवं सरकारको पनि ऋण दायित्व देखिएको छ ।

उद्योगको परिसरमा अाफ्नै विद्युत टर्वाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोड्ने रेल्वे यार्ड पनि रहेको छ । नेपाल बैंकसँग कुनै समय लिएको १ करोड ७५ लाख रुपैयाँ कर्जा ब्याजसहित अहिले १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी एनआइडीसी डेभलपमेन्ट बैंकसँग पनि कम्पनीले १० लाख ऋण लिएको थियो । यो कर्जा अहिले ब्याजसहित १ करोड ५७ लाख पुगेको छ ।  कुनै समय उदयपुर सिमेन्टसँग पनि कम्पनीले ४५ लाख ऋण लिएको थियो ।

अहिले यो ८ करोड ७६ लाख पुगेको छ । त्यसैगरी मिल सन्चालनका लागि भनेर कुनै वेला अर्थ मन्त्रालयवाट पनि ऋण लिएको देखिन्छ ।

उसले अर्थ मन्त्रालयवाट पटक पटक गरी १ अर्व १७ करोड ऋण लिएको देखिन्छ । अहिले अर्थ मन्त्रालयवाट लिएको ऋणको व्ययभारमात्र १ अर्व ८० करोड पुगेको छ ।

उद्योग स्थापनाका क्रममा उद्योगको परिसरमा अाफ्नै विद्युत टर्वाइन हाउस, जोगबनी रेल्वे स्टेसनलाई जोड्ने रेल्वे यार्ड पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment