Comments Add Comment

नवमीमा देखिएको सुनसान काठमाडौं

१ कात्तिक, काठमाडौं । सुनसान । फूलपाति यताको काठमाडौंलाई व्याख्या गर्न यत्ति एउटा शब्द काफी छ ।

जनसंख्या र सवारीसाधनको चापले सधैँ कोलाहलपूर्ण हुने देशको राजधानी शहरले दशैं लागेपछि पसिना पुछेर थकाई मार्ने मौका पाएको छ ।

सडकमा सवारीसाधनहरु फाट्टफुट्ट मात्रै गुडिरहेका छन् । अघिपछि जताततै देखिने ट्राफिक जाम खोजेर पनि कतै भेट्न सकिँदैन । अधिकांश पसलहरु बन्द भइसकेका छन् ।

मुख्य बजारहरुमा पनि किनमेल गर्न आउनेको चाप घटेको छ । अहिले काठमाडौंको सडकमा हिँड्नेहरुको दिमागमा एउटै कुरा आउँछ, ‘काठमाडौं सधैँ यस्तै भइदिए ।’

सामान्य अवस्थामा ४० लाख जनसंख्या बोकिरहेको काठमाडौंमा नवमीका दिनसम्म आइपुग्दा १५ लाख मानिसहरु मात्र बाँकी छन् ।

घटस्थापनायता करिब २६ लाख जनसंख्या दशैं मान्न काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखका प्रमुख एसएसपी वसन्तकुमार पन्तले अनलाइनखबरलाई बताएका छन् ।

त्यसो त पछिल्ला वर्षहरुमा दशैंका बेला बाहिरबाट काठमाडौं आउनेहरु पनि बढिरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार घटस्थापनायता १२ लाख मानिसहरु काठमाडौं आएको देखिन्छ । बाहिरबाट आएर काठमाडौंमा घर बनाउने क्रम बढेसँगै कतिपयले यतै दशैं मान्न थालेका छन् ।

टिकाको भोलिपल्टदेखि काठमाडौंमा फेरि जनसंख्या ओइरिन थाल्ने छ । सरकारी बिदा एकादशी अर्थात् शनिबारसम्म मात्र भएकाले सबैभन्दा बढी यही दिन काठमाडौं भित्रिन सक्ने अनुमान छ ।

प्रायः गैरसरकारी कार्यालयहरुले पनि शनिबारसम्म नै बिदा दिएका छन् ।

तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment