Comments Add Comment

युवा नेतृत्वमा बुढो विद्यालयको कायापलट

३ कात्तिक, चितवन । हरेक वर्ष विद्यार्थी पातलिँदै जाँदा विद्यालय नै मर्ज हुने चिन्ताले पिरोल्थ्यो भानु मावि, पहारिलोटारका प्रधानाध्यापक दामोदर बराललाई । विद्यार्थीको संख्या बढाउन उनले गरेका प्रयास व्यर्थ भइरहेका थिए ।

भरतपुर महानगरपालिका-२१, २३ र २५ को सिमाना चोकमा रहेको विद्यालयको नाकै मुनीका घरबाट निजी विद्यालयले विद्यार्थी टिपेर लग्थे । तर, वि.स २०१८ सालमा स्थापना भएको विद्यालय भने ताल्चा लाग्ने स्थितिमा पुगेको थियो ।

तर, एक वर्ष अगाडिदेखि विद्यालयले नयाँ मोड लिएको छ । २७ असार २०७४ मा विद्यालय व्यवस्थापन समितिको भेलाले दिलिप न्यौपानेसहित युवा नेतृत्वलाई व्यवस्थापन समितिमा चयन गर्‍यो । त्यही विद्यालयमा पढेका न्यौपानेले सवै अभिभावकहरुका अगाडि सपथ खाए, ढल्न लागेको विद्यालयलाई पुनर्जीवन दिन्छु । राजनीतिक र सामाजिक रुपमा चल्तापुर्जा मानिने उनले जब नेतृत्व लिए, घुँडा टेकिसकेको विद्यालय जुरुक्क उठेको छ ।

दोब्बर बढे विद्यार्थी

अघिल्लो बर्षसम्म विद्यालयमा कक्षा १० सम्म जम्मा १५४ जना विद्यार्थी थिए । तर, यो शैक्षिक सत्रमा विद्यालयले ‘चमत्कार’ गर्‍यो । विद्यार्थीको भर्ना दरमा ११७ प्रतिशतले वृद्धि भयो । १८० जना विद्यार्थी नयाँ थपिएका छन् ।

यसको रहस्य के हो ? भन्ने अनलाइनखबरको प्रश्नमा अध्यक्ष न्यौपानेले उत्तर दिए, ‘अभिभावकको विश्वास र टिम वर्क ।’

विद्यालयले गत बर्षको श्रीपञ्चमीबाट ‘प्ले गु्रप’ पनि सुरु गरेको छ । प्ले ग्रुप सञ्चालन र भवनका लागि १२ लाख रुपैयाँ खर्च भएको छ । विद्यार्थी भर्ना अघि नै दुई शिक्षक र एक कर्मचारीलाई नियुक्त गरियो । ‘बिद्यार्थी कति आउँछन् एकिन थिएन, तर मैंले जोखिम उठाएँ,’ अध्यक्ष न्यौपानेले भने ।

त्यसो त उनले शिक्षक र कर्मचारी भर्नाअघि गाउँघरका साना बच्चाहरुको तथ्यांक लिएका थिए । श्रीपञ्चमीसम्म १६ महिना पार गर्नेसहित २७ जनाको डाटा आयो । ७ जना दायाँबायाँ भए पनि २० जनालाई पक्कै तान्न सकिन्छ भन्ने उनले विश्वास लिए । तर, श्रीपञ्चमीको दिनमा नै २२ जना भर्ना भए ।

अहिले प्ले ग्रुप पूर्ण क्षमतामा चलेको छ । विद्यालय वरिपरीका गाउँमा पढ्ने उमेरका विद्यार्थीहरुको पनि तथ्यांक संकलन गर्न लगाए अध्यक्ष न्यौपानेले । ६ सय ८३ जना विद्यार्थी भेटिए । बाहिरका निजी विद्यालय र सरकारी विद्यालयमा कति-कति विद्यार्थी पढ्न जान्छन् भन्ने पनि डाटा पनि लिएका छन् उनले ।

यतिबेला अभिभावकहरु खुसी र अचम्भित छन् । सोही वडाका स्थानीय विष्णुभक्त बरालले आफ्नो नातीलाई नजिकैको निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयले प्रगति गर्ने देखेपछि अहिले नाती सैविललाई भानु माविमा भर्ना गरेका छन् । विद्यालयमा प्ले गु्रपका लागि चाहिने सवै सामाग्रीहरु खरिद गरिएको छ । स-साना बालवालिकाका लागि काइयो, मन्जन, ब्रसदेखि विरामी हुँदा उपचारको व्यवस्था सवै मिलाउने तयारी भइरहेको छ ।

कहिँ कतै कुनै कुराको कमी नहोस् भनेर दैनिक विद्यालय आउने गरेका छन् सञ्चालक समितिका अध्यक्ष न्यौपाने । ‘म जागिरमा आए झैं हरेक दिन विद्यालय आउँछु, शिक्षकहरुको कक्षा अवलोकन गर्छु, विद्यार्थीहरुको बारेमा बुझ्छु, समस्याहरु सुन्छु र समाधानको उपाय निकाल्छु,’ अध्यक्ष न्यौपानेले भने, ‘मलाई देशका सरकारी विद्यालयमा यस्तो पनि सम्भव रहेछ भनेर देखाउनुछ ।’

कम्प्युटर ल्याबदेखि बससम्म

विद्यालयको भौतिक सुधार जारी छ । उदांगो भएका झ्यालढोकाको मर्मतमा २ लाख र मन्टेश्वरीको ट्वाइेट निर्माणमा ७ लाख रकम खर्च भएको छ । ४० लाखको लागतमा बस खरिद गरी सञ्चालनमा ल्याइएको छ ।

‘सरकारी विद्यालयका विद्यार्थीले स्कुल वस चढ्नु हुँदैन, विद्यालयले बस किन्नु हुँदैन भन्ने छ र ?’ अध्यक्ष न्यौपानेले भने, ‘विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन पनि बस आवश्यक देखेर ऋण गरेर किन्यौं । पैसा तिर्दै गएका छौं ।’

विद्यालयको बसले पाँच किलोमिटर परसम्मबाट विद्यार्थीलाई ओसार्ने गरेको छ । वस सेवाको नियमितताका लागि अभिभावकसँग न्यूनत्तम रकम लिने गरेको अध्यक्ष न्यौपानेले बताए ।

विद्यालयमा एकैपटक १८ देखि २० जनासम्म विद्यार्थीले प्रयोग गर्न सक्ने गरी कम्प्युटर ल्याव निर्माण गरेको भने आवासिय रुपमा विद्यार्थीलाई राख्ने तयारी अघि बढाइएको छ ।

विद्यालयका प्रद्यानाध्यापक बराल विद्यार्थी र अभिभावकको अंग्रेजी मोहलाई विद्यालयले क्यास गर्न सकेको बताउँछन् । ‘निजी विद्यालयको जस्तो व्यवस्थापन छ, सवै शिक्षकहरु युवा छन्, व्यवस्थापन समितिको अध्यक्ष नै युवा हुनुहुन्छ,’ प्रधानाध्यापक बरालले अनलाइनखबरसँग भने, ‘पहिलाभन्दा अहिले काम गर्ने जोश-जाँगर बढेको छ, विद्यालयभित्र आउने वित्तिकै छुट्टैं उर्जा आउँछ ।’

अहिलेका अभिभावकहरु २५ देखि ४० बर्ष उमेर समुहको हुने गरेकोले उनीहरुले पनि युवा शिक्षक-शिक्षिकाहरु नै खोज्ने गरेको प्रअ बरालको बुझाइ छ ।

निजीका टप शिक्षक आए

भानु माविमा सरकारी दरवन्दीका १२ जना शिक्षक छन् । न्यौपाने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि उनले नजिकका नीजि विद्यालयका उत्कृष्ट भनिएका शिक्षकहरुको सूची तयार गरे । अभिभावकहरुबाट रुचाइएका विद्यार्थीले मनपराउने शिक्षकहरुसँग सिधै सम्पर्क गरे । त्यसपछि व्यवस्थापन समितिको बैंठक राखेर निजी स्रोतबाट तलव दिने गरी एकैपटक थप १२ जना शिक्षकलाई नियुक्ति दिए । चार जना कर्मचारी पनि थपिए । उनीहरु सबैलाई निजी स्कुलहरुले भने भन्दा बढि तलव-सुविधा दिइएको छ ।

शिक्षक-कर्मचारीलाई १५ हजारदेखि ३० हजारसम्म तलब दिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘निजीमा भन्दा बढि तलव पनि पाइयो, कामको पेलान पनि हुँदैन होला भनेर खुसी हुँदैसाथीहरु आए’ अध्यक्ष न्यौपानेले भन्छन्, ‘तर मेरो स्पिरिटमा हिँड्न नसकेपछि कति फर्किए पनि । सरकारी विद्यालय भनेर लार्पवाही गर्ने वा पढाउन अल्छी गर्नेलाई विद्यालयबाट घर नपुग्दै हटाइदिन्छु ।’

सरकारी दरवन्दीका शिक्षकहरुलाई समेत पेशाप्रति जिम्मेवार बनाउने काम विद्यालयमा भइरहेको छ । ‘स्थायी शिक्षक हुँ भनेर ठूलो पल्टिने, कामप्रति रुची नदिने पनि छन्’ अध्यक्ष न्यौपानेले भने, ‘म उनीहरुको जागिर खाइदिन त सक्दिन तर, जनताका अगाडि लगेर उभ्याउन सक्छु, जे गर्छन् जनताले गर्छन् ।’

सरकारी शिक्षकभन्दा निजी स्रोतबाट राखेका शिक्षकले दोब्बर काम गर्न सक्ने अध्यक्ष न्यौपानेको अनुभव छ । विद्यालयले निजी स्रोतबाट राखिएका शिक्षकहरुको तलव-सुविधाका लागि अभिभावकहरुसँग आर्थिक सहयोग र चन्दा लिएको उनले बताए ।

‘यो राजीखुसीले हो, सकारात्मक काम र कदमका लागि गरिएको छ,’ न्यौपानेले भने, ‘विद्यालयको आर्थिक अवस्था मजवुत बन्दै जाँदा कसैसँग पनि पैसा लिदैनौं ।’

विद्यालयले २०७९ सालसम्ममा विद्यार्थी संख्या ७ सय ७५ पुर्‍याउने लक्ष्य लिएको छ । विद्यार्थीहरुको ड्रेसमा परिवर्तन गरिएको छ । विद्यार्थीहरु अनुशासित बनेका छन् ।

अभिभावकहरुको चासो बढेको छ । पहिला विद्यालयका प्रद्यानाध्यापकले व्यवस्थापन समितिलाई घचघच्याउनुपर्ने अवस्था थियो भने अहिले व्यवस्थापन समितिले प्रधानाध्यापकलाई डोर्‍याइरहेको अवस्था छ । अध्यक्ष न्यौपाने आफैं ८ वर्ष सरकारी र ३ बर्ष नीजि विद्यालयमा पढाएका अनुभवी शिक्षक हुन् ।

अर्को बर्ष प्लस टुको योजना

विद्यालयले सीटीइभीटीको सम्वन्धनमा ४० जना पढाउने गरी यसैं शैक्षिक सत्रदेखि जुनियर कम्प्युटर टेक्निसियनको शैक्षिक कार्यक्रम ल्याएको छ । त्यसका लागि भर्ना चलिरहेको छ ।

‘सीटीइभीटीका पदाधिकारीले यो कोर्समा विद्यार्थी नपाइने बताएका थिए तर, हामीले ३३ जना भर्ना गरिसक्यौं, ४० जना पुर्‍याउँछौं’ अध्यक्ष न्यौपानेले भने ।

विद्यालयमा नै भेटिएका साविक पार्वतीपुर गाविसका पूर्वअध्यक्ष जगन्नाथ कँडेलले पढेलेखेका र समाजमा पत्याइने युवाहरुले मौका पाए काम गर्न सक्छन् भन्ने प्रमाणित भएको बताए । विद्यालयका संस्थापक मध्येका एक धनवल्लभ न्यौपानेले युवाहरुले विद्यालयको भाग्य परिवर्तन गरेको प्रतिक्रिया दिए ।

विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्लस टु कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । ‘त्यसका लागि विद्यालय तयार छ’ प्रअ वरालले भने, ‘हामीले १२ जना नीजि स्रोतका शिक्षकहरु राख्दा नै प्लस टुलाई टार्गेट गरेका थियौं, थप जनशक्ति आवश्यक छैन । जुनियर कम्प्युटर टेक्निसियन कोर्स पनि यही जनशक्तिले चल्छ ।’


भवन बनाउन महायज्ञ

विद्यालयको सवैभन्दा पुरानो भवन भूकम्पका कारण जीर्ण बनेको छ । त्यस भवनलाई हटाएर नयाँ आधुनिक भवन निर्माणका लागि विद्यालयले महायज्ञ लगाउने योजना बनाएको छ ।

महायज्ञ मुल समारोह समितिका संयोजक नारायण आचार्यले आगामी पौंष १ देखि ९ गतेसम्म धनधान्याञ्चल ज्ञान महायज्ञ लगाउने तयारी भएको बताए । महायज्ञबाट २ करोड नगद उठाउने लक्ष्य छ । उठेको रकमबाट १२ कोठे पूरानो भवन भत्काएर नयाँ बनाउने, प्लस टु कार्यक्रम चलाउने, नीजि स्रोतबाट राखिएका शिक्षक र कर्मचारीहरुको तवल सुविधाका लागि परेको ब्ययभार घटाउने र बस खरिदको रकम तिर्ने लक्ष्य राखिएको छ ।

महायज्ञमा थप जिन्सी सामानसमेत प्राप्त हुने अपेक्षा विद्यालयको रहेको संयोजक आचार्यले बताए । रकम पुगे वा अन्य स्रोत जुटे विद्यालयको खाली जमिनमा भानु मिनिमार्केट निर्माण गर्ने योजना विद्यालयको छ । विद्यालयसँग एक विगाहा सात कठ्ठा जग्गा छ । करीव एक विगाह थप जग्गा ऐलानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment