Comments Add Comment

बालबालिका मोबाइल, टिभीमा लम्पट छन् ? त्यसो भए यसो गरौं

अहिले थुप्रै बालबालिका दशैं विदामा छन् । उनीहरु दशैंको रमझममा रमाइरहेका छन् । कोही चंगा उडाइरहेका होलान्, कोही पिंग खेलिरहेका होलान्, कोही आफ्ना दौतरीसँग उपि|mरहेका होलान् ।

तर, धेरै शहरिया बालबालिकाले कोठाभित्रै दिन गुजारिहेका पनि हुनसक्छन् । किनभने अहिलेका बालबालिकाहरु हातमा मोबाइल वा टेलिभिजनको रिमोट छ भने दुनिया भुलेर त्यसमै लम्पट हुन्छन् । मोबाइलमा गेम खेल्ने, भिडियो हेर्ने लत धेरै बालबालिकामा छ । त्यस्तै कतिलाई टेलिभिजनको लत छ ।

यस्ता बालबालिकाहरु बाहिरी गतिविधिमा त्यती रुची राख्दैनन् । ओछ्यान वा सोफामा ढल्किएर घण्टौं बिताइदिन्छन् । त्यसमाथि कतिपय अभिभावकले बालबच्चा भुलाउनका लागि मोवाइल थमाइदिन्छन् । टिभीको रिमोर्ट दिन्छन् । उनीहरुलाई लाग्छ, बालबालिका त्यसमा भुलिएपछि आफुलाई अरु काम गर्न बाधा पुर्‍याउँदैन । बाहिर लड्ने, फोहोर मैला लाग्ने भय पनि हुँदैन । अरुसँग झगडा पनि गर्दैन ।

तर, बालबालिकालाई बाहिरी गतिविधि गर्नबाट रोकेर कोठाभित्रै मोवाइल वा टेलिभिजनमा लिप्त बनाइरहँदा त्यसले उनीहरुमा कति असर गर्छ भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ ।

जस्तो, बच्चालाई वेपर्वाह टिभी हेर्न छुट दिने हो भने उनीहरुमा के समस्या हुन्छ ?

त्यसले केवल समय बर्बाद मात्रै हुँदैन उनीहरुको भाषा, कुरा गर्ने तरिका र व्यवहार पनि प्रभावित हुन्छ । शारीरिक गतिविधिमा त असर पुग्छ नै ।

धेरै समय टिभी हेर्नाले उनीहरुको खानपानको बानीमा पनि परिवर्तन हुन्छ । उनीहरु हरेक समय त्यो चीजको माग गर्छन् जुन टिभीमा देखाइन्छ । उक्त खानेकुरा स्वस्थ छ कि छैन भन्ने कुरासँग उनीहरुलाई कुनै मतलब हुँदैन ।

यसैले आमाबुबाले उनीहरुको टिभी हेर्ने समय तय गर्नाको साथै उनीहरुलाई कुन-कुन कार्यक्रममात्रै हेर्ने भनेर तोकिदिनुपर्छ । त्यो पनि निश्चित अवधीका लागि ।

मोबाइल खेल्न छुट दिइयो भने पनि यस्तै समस्या देखापर्छ । उनीहरु एकै ठाउँ बसेर घण्टौ बिताइदिन्छन् । यो बानी विकास हुँदै गएमा त्यसले निकै जटिलता ल्याउँछ । यसले उनीहरु एकान्तमा बस्न रुचाउने स्वभावका हुन्छन् । भोलिका दिनमा समाज वा परिवारमा घुलमिल हुन गाह्रो हुन्छ । मोबाइलमा उनीहरुले हिंस्रक गेमहरु खेल्छन्, जसको मनोवैज्ञानिक प्रभाव डरलाग्दो हुन्छ । त्यसैगरी उनीहरु अश्लिल सामाग्रीको लतमा पनि फस्न सक्छन् । यो कुनै लागुऔषधको दूव्र्यसनभन्दा कम हुँदैन ।

अब के गर्ने छ ?

प्रविधिको जमाना छ । बच्चालाई मोबाइलबाट अलग गर्नुपर्छ भन्ने होइन । तर, निश्चित प्रयोजनका लागि, निश्चित समय मात्र मोबाइल खेल्ने छुट दिनुपर्छ । त्यस्तै, टेलिभिजन हेर्ने पनि तालिका बनाइदिनुपर्छ ।

त्यसो त टेलिभिजनमा कतिपय कार्यक्रमहरु निकै उपयोगी हुन्छन्, जसबाट उनीहरुले केही न केही सिक्छन् । त्यस्ता कार्यक्रम हेर्न छुट दिनुपर्छ ।

उनीहरुलाई मनपर्ने कार्यक्रमको बारेमा सोध्नुहोस् । अझै सकिन्छ भने सुरुमा केही दिन तपाईं पनि उनीहरुलाई मनपर्ने प्रोग्राम हेर्नुहोस् ।

यदि उनीहरु सहि कार्यक्रम हेरिरहेका छैनन् भन्ने तपाईंलाई लागेको छ भने उनीहरुलाई नहप्काइकन मायालु तरिकामा यो राम्रो कार्यक्रम होइन अरु कार्यक्रम हेर भनेर भन्नुहोस् । उनीहरुलाई सकेसम्म जानकारीमुलक कार्यक्रमहरु हेर्न सिकाउनुहोस् ।

लत लाग्न नदिनुहोस्

केही आमाबुबाहरु काममा बच्चाले डिस्टर्ब नगरुन भनेर बच्चाहरुलाई आँफै अगाडि बसाइदिन्छन् । उनीहरुलाई लाग्छ यसो गर्दा बच्चाहरु खुसी हुन्छन् र आफ्नो काम सक्न सकिन्छ । आमाबुबाको यो कदमले बच्चाहरुको व्यत्तित्वमा नकरात्मक प्रभाव पार्छन् ।

यसरी आमाबुबाहरुले बच्चाहरुलाई टिभी हेर्ने लत लगाइदिएपछि बच्चाहरु एकलकाटे हुन्छन् । घरको सोफा वा कुर्सीमा दिनभर बसेर टिभी हेर्ने लतले बच्चाहरुलाई आँफैमा समेटिदिन्छ । साथीहरुसँग खेल्ने कुद्ने, मानिसहरुसँग भेटघाट गर्ने, पढ्ने काममा उनीहरुलाई मन लाग्दैन ।

निन्द्रा प्रभावित नहोस्

मोबाइलमा लिप्त भइरहँदा बच्चाको खाने, बस्ने, सुत्ने, उठ्ने तालिका प्रभावित हुनसक्छ । त्यसैले मोबाइल प्रयोगमा सकेसम्म नियन्त्रण गर्नुपर्छ ।

त्यस्तै टिभीमा धेरै फिल्म, कार्टुन र हरर फिल्महरु हेर्नाले बच्चाको निन्द्रा प्रभावित हुन्छ । सुत्ने समयमा पनि उनीहरुको दिमागमा यीनै कार्यक्रमका दृश्य आँउछन् । यसले उनीहरुको सोच्ने बुझ्ने क्षमता प्रभावित हुन्छ ।

यसैले सुत्नभन्दा पहिले बच्चाले टिभी नहेरुन भन्ने कुरामा ध्यान नदिनुहोस् । यदि बच्चाहरुले टिभी हेरिरहेका छन् भने कम्तिमा पनि हरर फिल्महरु चैं नहेरुन भन्ने बारेमा विचार गर्नुहोस् ।

बाहिरी संसार देखाउनुपर्छ

अहिलेका बच्चाहरु मोवाइल समातेर घरभित्रै दिन बिताइरहेका हुन्छन् । टिभी हेरेर रात गुजारिरहेका हुन्छन् । यसको एउटा कारण चाहि, आमाबुबासँग उनीहरुको लागि समय हुँदैन । यसैले आफ्नो व्यस्त दिनचर्यामा हरेक दिन केही समय उनीहरुको लागि अवस्य निकाल्नुहोस् ।

कहिले उनीहरुलाई पार्क, म्युजियम, सपिङमा लैजानुहोस् भने कहिले काहीँ कुनै साथी वा आफन्तको घर लैजानुहोस् । घुमफिर र परिवारसँग समय बिताउनाले उनीहरुको टिभी हेर्ने समय कम हुन्छ ।

रोल मोडल बन्नुहोस्

बच्चा आमाबुबाको व्यवहार र बानीको नक्कल गर्छन् । यसैले यदि तपाईं समय मिल्नसाथै टिभी हेर्ने गर्नुहुन्छ भने उनीहरु पनि यस्तै गर्छन् ।

टिभीमा तपाईंले जुन खालका कार्यक्रम हेर्नुहुन्छ उनीहरु पनि यस्तै कार्यक्रम हेर्छन । त्यसैले तपाईंले आँफैलाई परिवर्तन गर्नुपर्छ र राम्रो जानकारीमुलक र सूचनामुलक कार्यक्रमहरु हेर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment