Comments Add Comment

नोटमा अबिर लाग्दा ४० करोडको नोक्सान, दशैंमा नयाँ नोट बन्द गर्ने योजना

३ कात्तिक, काठमाडौं । दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन्, त्यो पनि रातो रंगले रंग्याएरै । यसका कारण भर्खरै छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्ने गरेका छन् ।

दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लाग्छन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन । र, त्यसको सट्टामा नयाँ नोट छापिन्छ । यसमा ठूलो लगानी लाग्छ ।

नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । यस्ता फोहर नोट खिचेर पुन छाप्नको लागि राज्यको वर्षमा करोडौं खर्चिनु परिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो । दक्षिणाका रुपमा दिने पैसालाई टिका लगाएकै हातले समातेर दिँदा त्यसमा रङ लाग्छ । यसरी रङ लागेको पैसालाई राष्ट्र बैंकले भने विभिन्न बैंकहरुको सहयोगमा खिचेर नष्ट गर्छ । र, फेरि नयाँ नोट छाप्छ ।

टीका लगाउने क्रममा नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन सक्थ्यो । तर, पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ ।

कार्यकारी निर्देशक निरौला चिसो तथा फोहोर, रङ र तेल लागेको हातले नोटले नछुने हो र आकार अनुसार वालेट वा खाममा राखेर प्रयोग गर्ने हो भने नोटको आयू बढ्ने बताउँछन् ।

नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । अन्य समयमा पनि मासु पसलेहरुबाट बढी नोट फोहोर हुने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

यसरी नोट फोहर भएका कारण राज्यको वर्षेनि ४० करोड बराबरको अनावश्यक खर्च हुँदा पनि यसबारे खासै सोचिएको थिएन । यो पटक भने राष्ट्र बैंकले दशैंमा नयाा नोट बाँड्ने प्रचलन पनि कायमै राख्ने/नराख्नेबारे बहस सुरु गरेको छ ।

दशैका समयमा नोट रङ्गाउने बढ्दै गएपछि राष्ट्र बैंकले अबको दुईवर्षपछि दशैंमा नयाँ नोटको वितरण नै बन्द गर्ने योजना बनाएको छ ।

नयाँ नोटको सट्टामा सुकिला नोट बजारमा प्रचलनमा ल्याउने निरौला बताउँछन् ।

दशैका समयमा नयाँ नोट वितरण गर्नुभन्दा सुकिला नोटहरु नै प्रचलनमा राखेर त्यसको सुरक्षा र संरक्षणमा नागरिकलाई सचेत बनाउन आवश्यक देखिएको निरौलाले बताए । यो वर्षमात्रै साना ठूला गरी ४० अर्बको नयाँ नोट दशैंका बेला बजारमा ल्याइएको छ ।

नोट सुरक्षामा जनतालेे ध्यान दिए राज्यको करोडौं रकम बच्ने बैंकरहरु पनि बताउँछन् । दशैंमा राष्ट्र बैंकले प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिँदै आएको छ ।

नयाँ नोटलाई दशैंमा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment