Comments Add Comment

कसले जन्माउँदैछ बलात्कारी ?

सञ्चार माध्यममा जताततै बलात्कारका समाचार आइरहेका छन् । लाग्छ, समाजका प्रत्येक व्यक्ति अब यो अपराधबाट बेखबर छैन । तर, दुःखद पक्ष के छ भने यति धेरै घटना भइररहँदा पनि हामी रोग पहिचान गरेर उपचार खोज्नतिर लागेका छैनौं ।

अश्लील साईट, मदिराको प्रयोग आदि लक्षण हो । तर, रोगको प्रमुख कारण होइन । डाक्टरले रोग पहिचान नगरी औषधि दिँदा के होला ? रोग निको त हुँदैन नै, विरामीको ज्यानै जान सक्छ ।

तसर्थ सामाजिक विकारका रुपमा देखिएको यो अपराध रोक्नका लागि पहिला यसको सही कारण पत्ता लगाउनुपर्छ । हाम्रो समाज ‘कम्प्लेक्स’ बन्दै जानु घटनाको मुख्य कारण हो । बल्ल कोठा, पल्लो कोठामा बस्नेहरू नै एक अर्कालाई चिन्दैनौं । ज्येष्ठ नागरिकहरू घरमा एक्ला एक्लै छन् । छोराबुहारी, नातिनातिनीको साथमा छैनन् । जबकि हाम्रो विगत यस्तो थिएन । कोशौं पर घर भएका पनि परिचित थियौं ।

एक हिसाबले हेर्दा शहरको भिडमा मान्छेहरू एक्लै छन् । व्यक्तिवाद हावी हुँदैछ । बिरानोपनले अपराधीक मनोवृत्तिलाई मलजल गर्छ ।

सबैको दिमागमा मानवीय र दानवीय दुबै प्रवृत्ति हुन्छ । समाजिक मूल्य मान्यता, संस्कार, परम्परा, वातावरण जस्ता कुराले गर्दा मानवीय पक्ष हाबी हुन प्रेरित गरिरहेको हुन्छ । विध्वंस गर्ने पक्ष दमित भएर सिर्जनात्मक पक्ष बाहिर आउँछ ।

सामाजिक संरचना कमजोर भएपछि दानवीय पक्ष बाहिर आउँछ । सामाजिक संरचना भनेर नियम, कानून, दण्ड व्यवस्था, राजनीतिक अवस्था आदिलाई पनि इंकित गर्न खोजेको हुँ । उदाहरणका लागि दुनिँयाले अपराधी नै हो भनेर जानेको व्यक्ति निर्धक्क छाती फुलाएर हिँडेको छ भने अप्रत्यक्षरुपमा अपराधिक मनोवृत्ति भएकाहरूलाई हांैस्याउने काम गर्दछ ।

अपराध बढ्नु भनेको समाज परिस्कृत छैन । समाजको कुनै न कुनै तन्तु खल्बलिएको छ भन्ने प्रमाण हो । यसमा सामाजिक, सांस्कृतिक, आर्थिक कारण जोडिएको हुन्छ ।

शिशु, नाबालक, ज्येष्ठ नागरिक बलात्कारमा पर्नुको अर्थ अपराधीमा मानसिक समस्या छ भन्ने हो । त्यस्ता अपराधीको संख्या थपिनु भनेको समाजनै मानसिक समस्या तर्फ जानु हो ।
कतिपयले पीडितले यसो गरेको भए अपराध हुँदैनथ्यो भन्ने कोणबाट बहस गर्छन् । तर, यसको कारण अपराधीको मनोवृत्तिबाट गरिनुपर्छ । बलात्कारीको मनोविज्ञान अध्ययन गर्नुपर्ने अवस्था आइसकेको छ ।

सरकारले मदिरा नियन्त्रणलाई बलात्कार न्यूनीकरणको एउटा उपाय मानेको देखिन्छ । मदिराले उत्तेजना बढाउँछ । काँतर व्यक्तिलाई यसले उत्तेजित बनाउँछ । सामान्य अवस्थामा भन्न नसकिने कुरा मदिरापान गरेको बेला फरर भन्ने गरेको पाईन्छ ।

मदिरा खाएको व्यक्ति नपढेको छ भने हिन्दी बोल्न थाल्छ । तर, अलिअलि पढेको व्यक्ति मदिरा खाँदा अंग्रेजी बोल्न थाल्छ । एबीसीडी नै नजानेको व्यक्ति अंग्रेजी बोल्दैन ।

बलात्कारको सन्दर्भमा पनि त्यही कुरा लागु हुन्छ । सामान्य अवस्थामा गलत नजरले नहेरेको व्यक्तिमाथि मदिरा खाए पनि एकाएक त्यस्तो अपराध गर्ने सोच आउँछ जस्तो मलाई लाग्दैन ।

खाएको बेलामा अपराध गरेको त हो नि भनेर अपराधीलाई उन्मुक्ति दिइनु हुँदैन । किनभने यसले अरुलाई पनि अपराध गर्न प्रेरित गर्न सक्दछ । ७०-८० वर्षका व्यक्ति पनि बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनीहरू त पोर्न साइट हेर्दैनन् होला ।

हाम्रो शिक्षादिक्षालाई कम्प्लेक्स बन्दै गईरहेको समाज अनुकुल बनाउनु जरुरी छ । किशोर किशोरीलाई मनोसामाजिक शिक्षाको खाँचो छ ।

हामी पीडितको बाहिर घाउचोटको उपचारको विषयमा मात्रै छलफल गर्छौ । तर बलात्कारमा परेका व्यक्तिलाई बाहिरी भन्दा भित्री चोट लागेको हुन्छ । उनीहरूलाई विशेष किसिमको मनोपरामर्श आवश्यकता पर्दछ । परिवार, आफन्तको सहयोगको खाँचो हुन्छ । उनीहरूलाई सानोसानो कुराले पनि ठूलो असर पुग्न सक्छ भन्नेतर्फ सचेत हुनुपर्दछ ।

पीडितलाई समाजमा पुनस्र्थापित गर्न सकिएको छैन । सरकारले यसतर्फ पनि विचार पुर्‍याउनु पर्दछ । प्रहरी अनुसन्धान, न्यायिक प्रणाली प्रभावकारी हुने हो भने अपराध न्यूनीकरणमा मद्दत पुग्छ । यस्तो अपराधमा पनि राजनीतिकरण भएका छन् ।

सामाजिक विकारको रुप लिइसकेको बलात्कारका घट्ना न्यूनीकरण गर्नका लागि समाजका सबै अंगको सामूहिक प्रयत्न आवश्यक देख्छु ।

(वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment