Comments Add Comment

वामदेव र ईश्वर आमने-सामने, ओलीले तोडे घेराबन्दी

६ कात्तिक, काठमाडौं । नेकपाले मान्दै आएको ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’ ले भन्छ- पार्टीभित्र अन्तरविरोध भएन भने कम्युनिष्ट पार्टी निर्जीवजस्तै बन्छ । अहिले नेकपाभित्रको अन्तरविरोध भुसको आगोजसरी पुत्पुताइरहेको छ । तर, अन्तरविरोधको स्वरुपमा भने विगतको भन्दा केही फेरबदल आएको छ ।

नेकपाको पछिल्लो सचिवालय बैठकपछि केही नेताहरु आमने-सामने भएका छन् । अघिल्लो वर्षको चुनावसम्म सुषुप्त अवस्थामा रहेको वामदेव गौतम र ईश्वर पोखरेलको विवाद अहिले उत्कर्षमा पुगेको छ । केपी ओलीलाई घेराबन्दी गर्ने वामदेव गौतम र माधव नेपाल दुबैको प्रयास फेरि एकपटक असफल भएको छ ।

यसअघि नेकपामा माधव नेपाल र ईश्वर पोखरेल आमने-सामने हुने गर्थे । तर, सरकार गठनदेखि पछिल्ला पार्टी एकीकरणका भागवण्डामा ओली र नेपाल मिलेको भन्दै पोखरेल असन्तुष्ट रहे । रामवीर प्रकरणमा पोखरेलविरुद्ध उभिएपछि वामदेव गौतमलाई माधव नेपालले साथ दिएका छन् ।

ईश्वर पोखरेलको सन्दर्भमा माधव नेपाल र गौतममात्र होइन, प्रचण्ड पनि असन्तुष्ट छन् । विशेष गरी आफूलाई भारतसँग जोडेर पोखरेलले शंकाको नजरले हेरेकोमा प्रचण्ड असन्तुष्ट रहेको स्रोतले जनाएको छ । आफ्नो पछिल्लो भारत भ्रमण ओली नेतृत्वको सरकारलाई बलियो बनाउने सन्दर्भमा रहे पनि पोखरेलले अनावश्यक आशंका सिर्जना गरेर पार्टीमा गलत सन्देश प्रवाह गरेको गुनासो प्रचण्डको छ । उनले आफ्नो असन्तुष्टि ओलीसमक्ष पनि राखेका छन् ।

वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने योजनालाई प्रधानमन्त्री ओलीले बाह्य डिजाइनमा गरिएको खेल भनेपछि यसको झस्का प्रचण्डलाई समेत परेको छ । यद्यपि पूर्वमाओवादी नेताहरुचाहिँ प्रचण्डले भारतको डिजाइनमा वामदेवलाई साथ दिएको नभएर बाध्यतावस उदार बनेको तर्क गर्छन् ।

स्रोत भन्छ- ‘वामदेवले रामवीरलाई प्रचण्ड निवासमा लिएर गए र त्यहीँ राजीनामा लेख्न लगाएर प्रचण्डलाई फसाए ।’

गौतम र पोखरेल आमने-सामने

आइतबार बसेको सचिवालयको बैठकमा गौतम अधिकांश समय पोखरेलविरुद्ध खनिएका थिए ।  गौतमलाई माधव नेपालले पनि साथ दिएका थिए । आफूलाई बदनाम गराउने कार्यमा पोखरेल संलग्न रहेको भन्दै बर्दियाबाट चुनाव हराउन पनि पोखरेलनिकट नेता कार्यकर्ता परिचालित भएको आरोप गौतमले लगाउँदै आएका छन् । पोखरेल निकट केन्द्रीय सदस्य सूर्य थापाको नामै लिएर गौतमले आक्रोश पोखेका छन् ।

पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री ओलीको रक्षाकवच बनेका पोखरेलमाथि प्रहार गरेर गौतमले ओलीमाथि समेत निशाना साँधेको टिप्पणी नेकपा नेताहरुले गरेका छन् । विशेषगरी काठमाडौं-७ मा रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउने खेल ओलीलाई घेराबन्दी गर्ने बाहृय शक्ति समेतको चाहनामा भएको आरोप ओली निकट नेताहरुले लगाउने गरेका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य पोखरेलले पार्टीका नेता कार्यकर्ताहरुसँग ठूलो षडयन्त्रबाट पार्टी र नेतृत्व जोगिएको टिप्पणी गरेका थिए । उनले नेकपाभित्र बिग्रह ल्याउने र केपी ओलीलाई हटाउने दीर्घकालीन षडयन्त्र अनुरुप रामवीर मानन्धर कार्ड प्रयोग गर्न खोजिएको भन्दै बेलैमा सो कार्ड परास्त गर्न सकिएको बताएका थिए ।

यसबाट नेकपाभित्र लिडरशीपमा देखिएको अविश्वास समेत सतहमा आएको थियो । पोखरेलले फेसबुकबाटै प्रचण्ड र वामदेव गौतमविरुद्ध प्रहार गरेका थिए । उनले आइतबारको सचिवालय बैठकबाट रामवीर मानन्धरको राजीनामा अस्वीकृत भए लगत्तै मिसन सफल भएको सांकेतिक प्रतिक्रिया समेत दिए ।

पोखरेलले फेसबुकबाटै भने- आज नेकपा सचिवालयको बैठकले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले दिएको राजीनामालाई औपचारिक रुपमा निर्णय गर्नु नपर्ने विषय ठान्दै त्यसलाई ‘ड्रप’ गरेको छ । साथै उपनिर्वाचन र उम्मेदवारीको विषयमा केन्दि्रत भई गरिएको बहसलाई समेत अन्त्य गरेको छ ।

बैठकमा आफूविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका गौतमको खासै प्रतिवाद नगरेका पोखरेलले फेसबुकबाट ‘मिसन कम्प्िलट’ भएको शैलीमा प्रतिक्रिया दिएको आरोप गौतम निकटहरुको छ ।

अब बामदेव गौतमका लागि उपनिर्वाचन र उम्मेदवारीको बहस अन्त्य भएको प्रतिक्रिया दिँदै पोखरेल भने चीनतर्फ लागेका छन् ।

ओली घेराबन्दीमा पर्लान् ?

आम निर्वाचनपछि सरकार गठनका बेलामा माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई बलियो साथ दिएका थिए । तर, पछिल्लो समयमा प्रदेशका ईञ्चार्ज र सचिवहरु तोक्ने बेलामा ओली र नेपालवीचको अन्तरविरोध सतहमा आयो । यही क्रममा नेता नेपालले पार्टीमा लिखित असन्तुष्टि दर्ता गराए ।

प्रधानमन्त्री ओली राष्ट्र संघको महासभामा भाग लिन गएका बेला माधव कुमार नेपालले पार्टीमा लिखित असन्तुष्टि दर्ता गर्नुका साथै स्थायी कमिटीका सदस्यहरुको अनौपचारिक भेलासमेत गराए । यो घटनाले प्रधानमन्त्री ओलीलाई आफू घेराबन्दीमा पर्न थालेको महसुस हुनु स्वाभाविकै थियो ।

प्रधानमन्त्री स्वदेश फर्केपछि अर्काे ‘सरप्राइज्ड अट्याक’ भयो । वामदेव गौतम र प्रचण्डले मिलेर ओली पक्षकै सांसद रामवीर मानान्धरको राजीनामा सचिवालय बैठकमा पेश गरे । यो घटनाले केपी ओलीलाई थप घेराबन्दीमा परेको महसुस भयो ।

तर, यसवीचमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपालसँग पटक-पटक छलफल गरेर उनलाई मनाउने प्रयास गरेको नेकपा स्रोतको दाबी छ । यसक्रममा महासचिव बिष्णु पौडेलले पनि नेताहरुबीच उत्पन्न असमझदारी अन्त्य गर्न बाक्लै दौडधूप गरेका थिए ।

मंगलबार सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच घण्टौं छलफल भएको थियो ।

पछिल्ला घटनाक्रमपछि नेकपाको शक्ति सन्तुलनमा केही फेरबदल आएको छ । ओलीको प्रतिरक्षामा ईश्वर पोखरेल उभिएका छन् । माधव नेपालले आफूलाई पायक पर्दा ओलीसँग मिलेर पार्टी एकताका असंगत पक्षलाई पनि अनुमोदन गरेको आरोप पोखरेलले लगाएका छन् । झलनाथ खनालको बरिष्ठ नेता पद र आफ्नो महासचिव पद खोस्न माधव नेपालले भूमिका खेलेको कुरा पोखरेलले मुखले नभने पनि उनका अभिव्यक्तिहरुबाट प्रकट हुने गरेका छन् ।

यद्यपि, पछिल्लो समय ईश्वर पोखरेल ओलीको बचाउमा लागे पनि ओली पक्षकै कतिपय नेताचाहिँ पोखरेलकै आलोचना गरिरहेका छन् । सरकार गठनका बेलामा आफूले भनेजस्तो नभएपछि पोखरेल ओलीसँग रिसाएको केपी निकटस्थहरुको बुझाइ छ ।

उता पछिल्लो समय झलनाथ खनालले ईश्वर पोखरेलप्रति सहानुभूति देखाएका छन् । तर, पोखरेल भने खनालको पक्षमा भन्दा पनि ओलीको पक्षमा बलियो रुपमा उभिएका छन् ।

तत्कालीन घटनाक्रममा नेताहरु मुद्दाका आधारमा रुपमा मिले पनि गुटको तहमा पुगिनसकेको नेकपाका एक सचिवालय सदस्यले बताए । स्वभावजन्य अभिव्यक्ति बाहेक ओली र प्रचण्डबीच देखिनेखालको फाटो आइनसकेको उनले बताए ।

ती नेताले भने- ‘अहिले गुट बनाउने तहमा सचिवालयका नेताहरु विभाजित भइसकेका छैनन् । जहाजमा प्वाल पर्‍यो भने कोही पनि बाचिँदैन भन्ने सबैले बुझेका छन् । यो बैठकमा प्रचण्ड, माधव नेपाल र बामदेवहरु एकजस्तो देखिए पनि त्यो एउटा विषयमा मात्र हो । अहिले ओलीलाई घेराबन्दी गर्ने तहमा कोही जान सक्दैन । तर, ओलीले आफ्नो शैलीमा सुधार ल्याउनैपर्छ ।’

दुई दिनको सचिवालय बैठकमा नेताहरुले खुलेर मन माझामाझ गरेपछि ओलीले पनि ‘रियलाइजेशन’ गरेको अनुमान नेताहरुको छ । यसअघि गरिएका निर्णय प्रक्रिया र नीतिगत विषयमा कमजोरी रहेको स्वीकार दुवै अध्यक्षले गरेका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि भएका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता अध्यक्षहरुबाट आएका बताएका छन् ।

सचिवालय बैठकले नेताहरुवीच मन माझामाझ भएको र नेकपामा विग्रह ल्याउन चाहनेहरु निराश बनेको महासचिव विष्णु पौडेलको दाबी छ । पौडेलले अनलाइनखबरसँग कुरा गर्दै भनेका छन्, ‘सचिवालय बैठक असाधारण रुपमा राम्रो भएको छ, अत्यन्त समझदारीपूर्ण ढंगले उन्नत निष्कर्षमा पुगेका छौं, हाम्रो पार्टीभित्र विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिहरुले बुझे हुन्छ कि यो पार्टीमा विग्रह सम्भव छैन ।’

माधव नेपाल : ओलीलाई घेराबन्दी गर्ने उद्देश्य छैन

यता माधव नेपालले पनि आफू ओलीलाई घेराबन्दी गर्ने पक्षमा अहिले नरहेको प्रष्ट पारेका छन् । ओलीसँगको छलफल र अन्य नेताबाट थप जानकारी पाएपछि नेपालले प्रदेश पदाधिकारी तोक्ने निर्णय आफ्नो अनुपस्थितिमा हुनुमा पनि ओलीको हात नरहेको निष्कर्ष सुनाएका छन् ।

नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने ‘अहिले ओलीलाई माधव नेपालले घेराबन्दी गर्न खोजे भनेर जसरी प्रचार गरिदैछ त्यो होइन । ईश्वर पोखरेलहरुले आगोमा घ्यू थपे पनि ओलीको बुझाइ पनि त्यस्तो छैन । पछिल्लो निर्णयमा उनको असहमति घेराबन्दी गर्ने उद्देश्यले आएको होइन ।’

पछिल्लो पटक सचिवालय बैठकले प्रदेश कमिटी गठन गर्दा नेपाल र नारायाणकाजी श्रेष्ठ विदेशमा थिए । नेपालको असहमति कमिटी गठनको समग्र प्रक्रियामा भन्दा पनि स्थायी कमिटीमा लगिनुपर्थ्यो भन्ने रहेको नेपाल निकट स्रोतले जनाएको छ । मुख्यमन्त्रीहरुलाई प्रदेश इन्चार्ज बनाइएकोमा उनको नीतिगत असहमति रहेको छ ।

पछिल्लो समय नेपालले अेालीलाई भेटेरै आफू सरकार र पार्टी नेतृत्वलाई घेराबन्दी गर्ने भन्दा पनि सफल बनाउनेमा केन्दि्रत रहेको बताएका छन् । उनले पार्टीलाई बिधी,प्रक्रिया र संस्थागत निर्णयका आधारमा चलाउनुपर्ने धारणा राखेका छन् । बामदेव प्रकरणमा नेपालको धारणा ओलीको भन्दा फरक नरहेको समेत बताइएको छ ।

यो पनि पढ्नुहोस् 

नेकपाका महासचिवको दाबीः नेतावीच मन माझामाझ भयो, विग्रह चाहने निराश हुनेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment