Comments Add Comment

नेकपाका महासचिवको दाबीः मन माझामाझ भयो

६ कात्तिक, काठमाडौं । दशैं मनाएर बैठकमा बसेका सत्तारुढ नेकपाका हाईकमाण्डका नेताहरु दुई दिनसम्म मन माझामाझमै अल्झिएपछि पार्टी एकताको बिजनेशमा सचिवालय बैठकले प्रवेश नै पाएन । यो एजेण्डामा बुधबार छलफल हुँदैछ ।

कात्तिक ४ र ५ गतेको सचिवालय बैठकमा शीर्षनेताहरु आ–आफ्ना असन्तुष्टि र गुनासा सुनाउन केन्द्रित भएकाले कात्तिक ७ गते मातहत कमिटी एकीकरणको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् ।

९ सदस्यीय नेकपाको केन्द्रीय सचिवालयलाई पार्टीको मूल नेतृत्व अर्थात हाइकमाण्ड भनिएको छ । तत्कालीन एमाले र माओवादीका मुख्य नेताहरु सहभागी रहेको सचिवालयलाई कार्यकर्ताले ‘लिडरशीप’ भन्ने गरेका छन् । केही समयमयता ‘लिडरशीप’ मै रहेका नेताहरु असन्तुष्ट थिए ।

‘असहमति सकियो, अब समस्या छैन’

पार्टीभित्र देखिएको समस्याको समाधान दुई दिनको सचिवालय बैठकले ‘उन्नत हिसाब’बाट पार लगाएको नेकपाका महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए । उनले नेकपाको लिडरशीपमा असमझदारी उत्पन्न गराएर पार्टीमा बिग्रह आएको हेर्न चाहने शक्तिहरु परास्त भएको दाबीसमेत गरे ।

महासचिव पौडेलका अनुसार नेताहरुले उठाएका सबै विषयमा खुलस्त छलफल भएर आगामी दिनमा अझ एकतावद्ध हुने निर्णय बैठकले गरेको छ ।

अनलाइखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘हिजो र अस्तिको सचिवालय बैठक असाधारण रुपमा राम्रो भएको छ । सबै विषयमा खुलस्त छलफल भयो । अत्यन्त समझदारीपूर्ण ढंगले उन्नत निष्कर्षमा पुगेका छौं ।’

पौडेलले अगाडि भने, ‘हाम्रो पार्टीभित्र विग्रहको अपेक्षा गर्ने शक्ति र प्रवृत्तिहरुले बुझे हुन्छ कि यो पार्टीमा विग्रह सम्भव छैन ।’

पौडेलले यसो भनिरहँदा प्रदेश कमिटीका पदाधिकारी चयन गर्ने अघिल्लो केन्द्रीय सचिवालय बैठकको निर्णयमा माधव नेपाल र नारायणकाजी श्रेष्ठको असहमति भने कायमै छ । दुवैनेताले आफ्नो असहमतिलाई स्थायी कमिटीमा लैजाने अनुमति बैठकबाट पाएका छन् । स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्दैछ ।

यद्यपि सचिवालयको निर्णयमा नेपाल र श्रेष्ठले नोट अफ डिसेन्ट लेखेको हल्ला भने गलत रहेको महासचिव पौडेलले बताए । उनले पार्टीभित्र खुला र खुलस्त ढंगले सबै नेताहरु छलफलमा सहभागी भएको र लिडरशीप एकताबद्ध रहेको दाबी गरे ।

यसपटक नेताहरुबीच उन्नतस्तरबाट एकता कामय भएको पौडेलको दावी छ । अनलाइनखबरसँग कुरा गर्दै पौडेलले भने, ‘हाम्रो परस्पर विश्वासमा कुनै समस्या छैन, लिडरशीप एकतावद्ध छ । अब सिंगो पार्टी एकतावद्ध रहनेछ । अनेकताको खोजी गर्ने शक्ति र प्रवृति निराश हुन्छन् ।’

कात्तिकभित्रमा सबै कमिटी एकीकरण

सबै तहका कमिटीहरु एकीकरण गरिसकेपछि पार्टीले देशव्यापी रुपमा कम्युनिस्ट एकताको लहर सिर्जना गर्ने पौडेलले बताए ।

नेकपाको बुधबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटीहरुलाई पूर्णता दिने पौडेलको भनाइ छ । त्यसपछि जिल्ला कमिटीहरु गठन प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

दुवै अध्यक्षसँगको परामर्शमा महासचिव पौडेलले एकीकरणको थप मापदण्ड तयार पारेका छन् । सोही आधारमा प्रदेश र जिल्ला कमिटी एकीकरणको टुंगो स्थायी कमिटी बैठकबाट लगाउने तयारी छ ।

अब पार्टीका मातहत कमिटी एकीकरण प्रक्रियामा माधव नेपाल लगायतका नेताहरुको असन्तुष्टि नरहने गरी विधि प्रक्रिया मिलाइने दाबी महासचिवको छ । प्रदेश ३ लगायत कतिपय प्रदेश कमिटीले विभिन्न जिल्लाका स्थानीय तहको एकीकरण अघि बढेको छ ।

पार्टीको सर्कुलर अनुसार नै उनीहरुले काम गरिरहेको महासचिव पौडेलले बताए । कात्तिक महिनाभित्र एकीकरणको काम टुंगो लगाउने गरी सचिवालयले योजना बनाउँदैछ ।

विभाग गठनपछि देशव्यापी अभियान

कात्तिक महिनाभित्र प्रदेश, जिल्ला, स्थानीय तह र वडा कमिटीसम्मको एकीकरण टुंगो लगाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ । यसबीचमा जनवर्गीय संगठनहरुको पनि एकीकरण टुंगो लगाउने र मंसिरदेखि देशब्यापी अभियान सञ्चालन गर्ने तयारी छ ।

सोमवार सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पनि पार्टी र सरकारविरुद्ध विभिन्न माध्यमबाट आक्रमण भइहरँदा त्यसको संगठित प्रतिवाद हुन नसकेको भन्दै एकीकरण प्रक्रिया चाँडो टुंग्याउनुपर्ने बताएका थिए । प्रचण्डले मंसिरबाट मेचीदेखि महाकालीसम्म एकसाथ पार्टी एकता सन्देशसभा र सरकार तथा पार्टीको पक्षमा जनपरिचालन गर्ने बताएका छन् ।

नेकपाको स्थायी कमिटी बैठकले पार्टी एकीकरणका प्रक्रिया टुंगो लगाउनुका साथै त्यसपछि कार्यकर्ता तथा जनपरिचालनसम्बन्धी योजना पनि बनाउने स्रोतले जनाएको छ । यसबीचमा पोलिटब्यूरो गठन गर्नुपर्ने दबाव पनि नेतृत्वमाथि परेको छ । केन्द्रीय कमिटीको एक तिहाई अर्थात १४५ देखि १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment