News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाल्यकालमा लोकतान्त्रिक नेताहरूको कठिनाइ देखेर आफू राजनीतिमा आएको बताएका छन् ।
- उनले नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न, लेख्न र विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले राजनीतिक चेतना जागेको बताए ।
- पाण्डेले कांग्रेसमा जेलनेल सहेर पनि राजकीय पद नपाएका कार्यकर्ताको योगदान सम्झनुपर्ने बताए ।
१० कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिंड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन् ।
पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका हुन् । उनले त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना र स्वतन्त्रताको पक्षमा उभिने प्रेरणा जगाएको बताए ।
‘म सानो छँदा, १०–११ वर्षको उमेरमा, रामचन्द्र दाइ लगायतका नेताहरू राति घरमा आउनुहुन्थ्यो र उज्यालो भएपछि मात्र निस्कनुहुन्थ्यो । उहाँहरू किन राति मात्र आउनुहुन्छ र दिउँसो खुलेर हिंड्न सक्नुहुन्न भन्ने कौतुहलता मलाई लाग्थ्यो,’ उनले भने, ‘पछि बुझ्दै जाँदा उहाँहरूले खुलेर बोल्न, हिँड्न र आफ्ना विचार राख्न पाउने अवस्था रहेनछ भन्ने थाहा पाएँ । यही अनुभवले मलाई हरेक नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न, लेख्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्छ भन्ने प्रेरणा दियो, र म राजनीतिमा आएँ ।’
उनले बाल्यकालमा रामचन्द्र पौडेललगायतका नेताहरू राति आफ्नो घरमा आउने गरेको स्मरण गरे । आफू १०–११ वर्षको हुँदा ती नेताहरू किन राति आउँथे, किन रातभरि घरमा बस्थे र किन उज्यालोमा खुलेर हिँड्न सक्दैनथे भन्ने कौतूहलता जागेको उनले बताए ।
उनले स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रतिको त्यही भावनाले आफूलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको बताए ।
‘कांग्रेसमा धेरै साथीहरूले जेलनेल सहनुभयो, त्याग र तपस्या गर्नुभयो, तर कुनै राजकीय पद प्राप्त गर्नुभएन । त्यसैले हामीले पद र अवसर प्राप्त गरेका व्यक्तिहरूलाई मात्र होइन, लामो समयदेखि पार्टीमा योगदान दिँदै आउनुभएका तर अवसर नपाएका साथीहरूलाई पनि सम्झनुपर्छ । उहाँहरूको योगदानको सम्मान गर्न सक्यौँ भने मात्र हामीले वास्तविक आत्मसन्तुष्टि प्राप्त गर्न सक्छौं,’ उनले भने ।
प्रतिक्रिया 4