+
+
Shares

उद्योगमन्त्री यादव र विश्व व्यापार संगठनका महानिर्देशकबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते १२:३०

६ कात्तिक, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजेभेदो बीच सोमबार जेनेभामा भेटवार्ता भएको छ ।

विश्व व्यापार संगठनको मुख्यालयमा भएको वार्तामा व्यापारसँग सम्बन्धित विभिन्न मुद्दाहरु, बहुपक्षीय व्यापार प्रणालीका साथै नेपाल लगायत अन्य अतिकम विकशित देशहरुको व्यापार मुद्दाहरुमा छलफल भएको थियो ।

अतिकम विकशित देशहरुको लागि महानिर्देशकले खेलेको सद्भावपूर्ण भूमिकाको प्रशंसा गर्दै मन्त्री यादवले व्यापारसँग सम्बन्धित क्षमता विस्तारको लागि डब्लुटिओले नेपाललाई गर्दै आएको प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।

वार्तामा मन्त्री यादवले व्यापार सहुलियत सम्झौता कार्यान्वयन गर्न बहुदातृ सहायताको लागि डब्लुटिओले समन्वय गर्नुपर्नेमा समेत जोड दिए ।

मन्त्री यादवले नेपाल सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाइ दिगो विकासको लक्ष्य प्राप्तिको लागी नेपालको उपयोग नभएको विशाल स्रोतको उपयोगको लागि डब्लुटिओ लगायत अन्य विकास साझेदारहरुबाट सहयोगको अपेक्षा गरेको पनि वार्तामा बताएका थिए ।

वार्तामा डब्लुटिओका महानिर्देशक अज्भेडोले विश्व व्यापार तनाव र डब्लुटिओ वार्ताको गतिरोधलाई संकेत गर्दै सबै सदस्य राष्ट्रहरुलाई सहयोगको खाँचो रहेको र सबै देशले आफ्नो प्रणालीगत असफलताबाट गुजि्रनुपर्ने बताए ।

उनले डिसेम्बरमा हुने भनिएको नेपालको व्यापार नीतिमा दोस्रो पुनरावलोकनको सफलताको कामना पनि गरे ।

वार्तामा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयकी सचिव याम कुमारी खतिवडा, स्विजरल्याण्डका लागि नेपाली राजदूत दिपक धिताल लगायतको उपस्थिती रहेको थियो ।

मन्त्री यादवले संयुक्त राष्ट्रसंघको व्यापार र विकास सम्मलेनको आयोजनामा जेनेभामा २२ देखि २६ अक्टोबरसम्म हुने विश्व लगानी मञ्च २०१८ मा सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?