Comments Add Comment

उपत्यकामा २४ वटा टिपरलाई दिउँसै चल्ने छुट

९ कात्तिक, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन लगाएको प्रतिबन्ध प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरुले राजधानी भित्रिने ट्रिपरहरुको वैकल्पिक मार्ग खोजी गरेका थिए ।

बिहीबार मात्रै ४ जिल्लाका सीडीओले ग्वार्खो-लाकुरीभञ्याङ- कुशादेवी-पनौती सडक खण्डको स्थलगत अवलोकन समेत गरेका थिए ।
तर, टोलीले लामाटार र लाकुरीभञ्ज्याङको सडकमा टिपर चलाउन नसकिने निष्कर्ष निकालेको छ ।

लगतै गृह मन्त्रालयमा टिपरमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको थियो । छलफलमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार शुक्रबारदेखि चक्रपथ सुधार आयोजनाका २४ वटा टिपर सञ्चालन हुनेछन् । आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि टिपर सञ्चालन गर्न लागिएको हो ।

‘राष्ट्रिय महत्वको चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ नहोस् भनेर २४ वटा टिपरलाई १० दिनसम्म प्रतिबन्ध नलगाउने निर्णय गर्न लागेका छौं’ उनले भने ।

यो १० दिनको अवधीमा सडक लेन व्यवस्थित गर्ने र अरु टिपर पनि चलाउन दिने तयारी छ ।

टिपरका कारण दुर्घटना बढेपछि गृह मन्त्रालयले विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यो बीचमा टिपर चलाउन रोक लगाइएको समय केही घन्टा कम पनि गरिएको थियो ।

तर, त्यही दिन टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि पुरानै समय कायम गरिएको थियो ।

अब भने टिपरलाई २४ घन्टै चल्न दिने तयारी छ । यसका लागि मोटरसाइकल र टिपरलाई फरक फरक ट्राक तोक्ने तयारी छ । मुख्य सडक बनेपा बजारबाट साँगासम्म सर्भिस ट्रयाकमा चलाउने, भक्तपुरको सुर्यविनायक-कोटेश्वर, ललितपुर सातदोबाटो, ग्वार्को क्षेत्रमा भने मुख्य सडकका सर्भिस ट्रयाकमा मोटसाइकल मात्र चलाउन दिने तयारी छ ।

मोटरसाइकल र टिपर फरक फरक सडकमा गुडेपछि दुर्घटनामा कमी आउने सरकारी अधिकारीहरुको दाबी छ । काभ्रेबाट मात्रै दैनिक १४ सयभन्दा बढी टिपर राजधानी भित्रन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment