+
+
Shares

के भएको हो प्रधानमन्त्री ओलीलाई ? अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुकको भिडभाड

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १०:४८

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई के भएको हो ? अहिले हरेकले सोध्ने प्रश्न हो यो । आफैंले आयोजना गरेको नेकपाको चियापानमा समेत सामान्य रुघाखोकीका कारण सहभागी हुन नसकेका प्रधानमन्त्री ओली सोमबार विहान साढे चार बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भए ।

प्रधानमन्त्री अस्पताल भर्ना भएको खबर फैलिएपछि सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्ताहरुमा उनको स्वास्थ्यबारे चासो बढ्यो । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले प्रारम्भिक अपडेट गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको शरीरमा चिनीको मात्रा असन्तुलिन र छातिमा संक्रमण देखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आइरहेको उपचारका संलग्न बरिष्ठ चिकित्सक डा. अरुण सायमीले अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही दिनयता सुख्खा खोकीको समस्या झेलिरहेका थिए । चिसो बढेसँगै छातिमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको र पूर्वसावधानी स्वरुप अस्पतालमा लगिएको बालुवाटार स्रोतले जनाएको छ । उपचारमा संलग्न डा. सायमीले पनि ओलीको स्वास्थ्य अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले अझै दुई-तीन दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिइएको बताए ।

१२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकले भिडभाड, धुँवाधूलो र धेरै तनावबाट टाढा रहन सुझाव दिएका थिए । उनी यसबीचमा बैंककमा नियमित स्वास्थ्य परीक्षणमा जाने गरेका थिए । प्रधानमन्त्री ओली उच्च मनोबलका कारण अहिलेसम्म स्वस्थ रहेको टिप्पणी चिकित्सकहरुले गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पनि पूर्व सावधानीका लागि अस्पताल भर्ना गरिएको बताए । उनले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र भेट्न जानेसँग कुराकानी गरेको बताएका छन् ।

अस्पतालमा शुभेच्छुक

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बिभिन्न नेताहरु र सर्वसाधारणको शिक्षण अस्पतालमा घुइँचो लागेको छ । नेकपाका नेताहरु, सरकारका मन्त्री लगायत अस्पताल पुगेर ओलीलाई भेटेका छन् ।

सोमबार बिहान सबैभन्दा पहिले नेकपा अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल पुगेका थिए । उनले त्यहाँ ओली र चिकित्सकहरुलाई भेटेर स्वास्थ्यबारे जानकारी लिएका थिए ।

नेकपाका महासचिव विष्णु पौडेल, नेताहरु झलनाथ खनाल, माधव नेपाल, भीम रावल, टोपबहादुर रायमाझी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, केशव बडाल लगायतले पनि ओलीलाई भेटेका छन् ।

अस्पताल परिसरमा नेकपाका कार्यकर्ता, सर्वसाधारण पत्रकार लगायतको घुइँचो छ ।

तस्वीर: चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?