Comments Add Comment

सुदूरपश्चिमका पहाडी जिल्लामा फैलियो स्क्रब टाइफस, दुईजनाको मृत्यु

१३ कात्तिक, डडेल्धुरा । नेपालका विभिन्न ठाउँमा बिकराल बन्दै गएको स्क्रब टाइफस रोगको संक्रमण डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ ।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य पहाडी जिल्लामा पनि देखा पर्न थालेको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा४१ दिनको अवधिमा १३० जनाको जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको तथ्यांकमा उल्लेख छ ।

उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि हालसम्म दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका-२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्त रहेकी छन् ।

भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारक्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा. जितेन्ऽ कंडेलले जानकारी दिए ।

यसको संक्रमण बढ्दै जान थालेपछि बिरामी उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुगेर चेकजाँच गराइरहेका छन् ।

स्क्रब टाइफस रोगबाट संक्रमण भएका बिरामीको उपक्षेत्रीय अस्पताल उपचार भइरहेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी र बझाङमा स्क्रब टाइफस रोगको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

डडेल्धुराको अजयमेरु, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकासँगै बैतडी, डोटी र बझाङ जिल्लाबाट पनि संक्रमण संक्रमण देखिएका बिरामीहरु उपक्षेत्रीय अस्पताल आउने गरेको डा. कंडेलले बताए। स्क्रबटाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जीउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्ष्ण देखा पर्ने डा.कंडेलले बताए ।

पछिल्लो समय पहाडी जिल्लामा रोगको संक्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा यो रोगको प्रकोपको नियन्त्रण तथा पहिचानका लागि विभिन्न पहल भइरहेको डाक्टर अवस्थीको भनाइ छ । ‘अहिले महिला स्वास्थ्य स्वयम सेविका मार्फत जनचेतना फैलाउने काम भइरहेको छ,’ उनले भने, ‘उपचार हुने अस्पतालमा आवश्यक सामग्री र जनशक्ति उपलब्ध गराउने काम निर्देशनालयले गरिरहेको छ ।’

स्क्रब टाइफस फैलिन थालेपछि सचेत रहन सबैलाई चिकित्सकहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment