Comments Add Comment

शारीरिक कमजोरी दबाउँदै गतिवान डाक्टर

१४ कात्तिक, काठमाडौं । नेपालमा औषधीसम्बन्धि विज्ञहरु आैंलामा गन्न सकिने छन् । तीमध्येका एक हुन् डा. सतीश देव ।

भारतको मणिपालबाट ब्याचरल इन डेन्टल साइन्स (बीडीएस) गरेका उनले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (वीपीकेएचएस) बाट क्लिनिकल फर्माकोलोजीमा डाक्टर अफ मेडिसिन (एमडी) गरेका छन् ।

हाल त्रिवि शिक्षण अस्पतालमा सहप्राध्यापकको रुपमा कार्यरत डा. सतीश नेपालकै नवौं क्लिनिकल फर्माकोलोजिस्ट हुन् ।

बन्न चाहन्थे आर्मी, बने चिकित्सक

सानो छँदा नेपाली सेनाको अफिसर बन्ने लक्ष्य राखेका थिए डा. सतीशले । बुवा नेपाली सेनाका इन्जिनियर भएकाले उनलाई यतातिर झुकाव बढेको थियो ।

तर, उमेर बढ्दै गएपछि उनको लक्ष्य फेरियो । स्वयम्भूस्थित आनन्द कुटी विद्यापीठबाट एसएलसी पास गरेपछि उनी भक्तपुर, सल्लाहघारीस्थित वीरेन्द्र सैनिक महाविद्यालयमा आइएसस्सी पढ्न थाले ।

‘शारीरिकरुपमा त्यति हृष्टपुष्ट नभएकाले मलाई आर्मी बन्न सक्दिनँ कि भन्ने लाग्यो र साइन्स पढ्ने निर्णय लिएँ,’ डा. सतीशले भने ।

उनी पढाईमा अब्बल नै थिए । कक्षामा फस्र्ट नभए पनि सधैं दोस्रो, तेस्रो हुन्थे । त्यसैले उनले डाक्टर बन्ने महत्वाकांक्षा राख्नु अस्वाभाविक थिएन ।

आइएस्सी सकाएपछि उनले डेन्टल विषय रोजे र थप अध्ययनका लागि भारतको मणिपाल गए ।

जीवनको ‘टर्निङ्ग प्वाइन्ट’

मणिपालमा उनको दुई सेमेस्टर ठीकठाक बित्यो । पढाइ पनि राम्रै थियो । तेस्रो वर्षमा आइपुग्दा भने स्वास्थ्यमा समस्या देखिन थाल्यो ।

शरीर अत्यधिक झम्झमाउने, कमजोरी महसुस हुने, हिँड्न–कुद्न नसक्ने जस्ता समस्या उत्पन्न भए । उनी धेरै वटा डाक्टरकहाँ धाउँदा पनि रोगको पहिचान हुन सकेन ।

एक वर्षपछि नेपाल आए र उपचारका लागि अस्पताल भर्ना भए । तर, २० को १९ पनि भएन । न रोग नै पत्ता लाग्यो । त्यसपछि उनलाई भारतको बैंगलोर लगियो ।

त्यहाँ एमआरआई गर्दा पो बल्ल थाहा भयो, उनलाई क्रेनियो भर्टिब्रल एनोमोली (टाउको र घाँटी जोडिने ठाउँको कुनै हड्डी राम्ररी विकास नहुने समस्या) भएको रहेछ । यो जन्मजात समस्या भएको डाक्टरहरुले उनलाई बताए । एक लाख जनसंख्यामा एक जनालाई हुन यो रोगकै कारण उनको घाँटीको नशा थिचिएर खुट्टामा असर परेको रहेछ ।

‘सानो छँदा हड्डी सानो भएकोले पनि होला, कुनै असहजता महसुस भएको थिएन,’ उनी भन्छन्, ‘२४/२५ वर्षको भएपछि मात्र एक्कासी समस्या भयो । नेपालमा यसको उपचार सम्भव थिएन र भारतमा पनि केही डाक्टरले मात्र यसको उपचार गर्न सक्ने रहेछन्,’ डा. सतीशले भन्छन् ।

बैंगलौरमा उनको उपचार सुरु भयो । दुईपटक शल्यक्रिया गरियो । तर, प्रत्येक शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा समस्या झन्–झन् जटिल बन्दै गयो । एक्लै हिँड्नै नसक्ने अवस्थामा पुगे । खुट्टामा मात्र होइन, हात चलाउन पनि अव्ठेरो हुन थाल्यो । सर्टको टाँकसमेत अरुले लगाइदिनुपर्ने अवस्थामा पुगे ।

धन्न, त्यतिबेलासम्म उनले बीडीएसको पढाइ सकिसकेका थिए । यद्यपि, काम गर्न सक्ने अवस्थामा थिएनन् । जसले गर्दा उनी करिब दुई वर्ष घरमै थन्किए ।

उनले आफ्नो उपचारका लागि सहयोग गर्न देश तथा विदेशका विभिन्न निकायमा पत्र लेखे । तर, कतैबाट कुनै सहयोग मिलेन । अन्ततः उनी फेरि अर्को शल्यक्रियाका लागि भारत नै पुगे । भारतको लखनउमा रहेको पोष्ट ग्राजुएट इन्टिच्युटबाट उनको सफल शल्यक्रिया भयो । त्यसपछि स्वास्थ्यमा केही सुधार भयो ।

अनि बने औषधिविज्ञ

डा. सतीशले बीडीएस पास गर्दासम्म उनको शारीरिक अवस्थामा गम्भीर समस्या आइसकेको थियो । उनी निहुरिएर कुनै काम गर्न नसक्ने भएका थिए । त्यसैले, उनले निहुरिनु नपर्ने कामबारे सोचे । अन्ततः फर्माकोलोजी विषय आफ्ना लागि उपयुक्त हुने ठाने ।

‘त्यसबेला नेपालमा क्लिनिकल फर्माकोलोजीका चिकित्सक न्यून संख्यामा थिए । जनशक्ति अभाव अभाव रहेको देखेपछि मैले यही विषयमा एमडी गर्ने सोच बनाएँ’, डा. शतिसले भने ।

अनि, उनले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट क्लिनिकल फर्माकोलोजी विषयमा एमडी तहको अध्ययन गरे । र, बने नेपालकै नवौ क्लिनिकल फर्माकोलोजिस्ट ।

त्यसपछि त्रिभुवन विश्वविद्यालयमा काम सुरु गरे । लेक्चररबाट सेवा सुरु गरेका उनी अहिले सहप्राध्यापकका रुपमा कार्यरत छन् । चाँडै नै प्राध्यापक बन्ने लाइनमा रहेको उनले बताए ।

‘नेपालमा यस विषयका विज्ञ कम भएकाले धेरै प्रतिस्पर्धा छैन,’ उनले भने ।

उनी बीडीएस, एमबीबीएस, नर्सिङ्ग विषयका विद्यार्थीहरुलाई फर्माकोलोजी (औषधी विज्ञान) पढाउँँछन् । पढाउने क्रममै उनले ‘द–बेसिक्स अफ क्लिनिकल फर्माकोलोजी’ र ‘नर्सिङ्ग एण्ड बुक अफ नर्सिङ्ग’ नामक दुईवटा किताब प्रकाशित गरिसकेका छन् ।

औषधी व्यवस्था बिभागले प्रकाशित गर्ने पुस्तक ‘नेपलिज नेशनल फर्माेलरी’ का प्रमुख सम्पदक पनि हुन् डा. शतिस । उनले नेपाल मेडिकल काउन्सिलमै छँदा पनि ‘कोड अफ इथिक्स २०१८’ नामक किताबको सम्पादन गरेका थिए ।

डा सतीशकै नेतृत्वमा विभिन्न अस्पतालका केही फ्याकल्टीका सदस्य, एमबीबीएस, विडिएस्, नसिङ विषयमा अध्ययनरत ८० जनासहितको अलायन्स गठन भएको थियो । उक्त अलायन्सले हाल फेसबुक, इन्ट्राग्राममार्फत औषधीको जथाभावी प्रयोगले के कस्ता समस्या निम्त्याउँछ भन्नेबारे जनचेतना जगाउने काम गर्दै आएको छ ।

डा. सतीश नेपाल मेडिकल काउन्सिल (एनएमसी) का दुई पटक निर्वाचित सदस्य पनि हुन् । उनले आठ वर्ष काउन्सिलमा रहेर काम गरे । त्यसमध्ये चार वर्ष उनी इथिकल काउन्सिलका अध्यक्ष थिए भने आइटी कमिटीको अध्यक्ष तथा अन्य कमिटीको सदस्य भएर पनि उनले केही वर्ष काम गरे । यसक्रममा उनले मेडिकल क्षेत्रका थुप्रै समस्याहरुसित परिचित हुने अवसर पाए । उनकै पालामा नेपालमा डीएम एमसीएच कोर्सको सुरुवात भयो ।

राज्यसँग गुनासो

हाल उनको स्वास्थ्य पहिलेभन्दा राम्रो छ । तर, अझै धेरै समस्या बाँकी छन् । बोली स्पष्ट हुन सकेको छैन । हातगोडा केही लुला नै छन् । अहिले पनि सर्टको टाँक आफैं लगाउन सक्दैनन् । बाटो काट्न अरुको सहारा चाहिन्छ । हिलो तथा खाल्डाखुल्डी पार गर्न समस्या हुन्छ । अस्पतालकै भर्‍याङ उक्लनु तथा ओर्लनुसमेत उनका लागि कष्टप्रद छ ।

धरानमा क्लिनिकल फर्माकोलोजीमा एमडी गर्ने क्रममा एकजना विदेशी डाक्टरले उनलाई राज्यसँग सहुलियत मागेर गाडी किन्न सल्लाह दिए । उनको स्वास्थ्य अवस्थाका कारण राज्यले सहुलियत दिन सक्ने ती डाक्टरको भनाई थियो ।

डा. सतीशले पनि आफ्नो समस्या स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल समक्ष राखे र सहुलियतको माग गरे । तर ती निकायहरुका लागि उनको समस्या नौलो थियो । त्यसैले उनीहरुले माग पूरा गर्न सकेनन् ।

सन् २००७ बाट उनी त्रिवि शिक्षण अस्पतालमा आवद्ध भए । त्यहाँ उनी काम गर्ने विल्डिङमा कमोड भएको ट्वाइलेटसम्म छैन । जबकी उनी प्यानमा टुक्रक्क बस्न पनि सक्दैनन् । त्यसैले, दिशा लाग्दा च्यापेर बस्नुको विकल्प हुँदैन । सञ्चो नहुँदा तथा पेट गडबडी हुँदा उनलाई एक किसिमको मानसिक तनाव भैरहेको हुन्छ ।

साह्रै कठिनाइ भएपछि एकचोटि उनले तत्कालीन अस्पताल निर्देशकलाई क्वाटर उपलब्ध गराइदिन अनुरोध गरे । तर, ती निर्देशकले उनको कुरालाई हाँसोमा उडाए ।

डा. सतीश भन्छन्, ‘ती निर्देशकको त्यो हाँसो म आजीवन बिर्सन सक्दिनँ ।’,

हिँड्नकै लागि विदेश

डा. सतीश हिँडडुलका सौखिन हुन् । उनलाई खुला आकाशमुनि हिँड्न मन लाग्छ । हिँडेरै जोरपाटीस्थित घर पुग्न मन लाग्छ । तर, नेपालको सडकमा उनका लागि यो सम्भव छैन ।

उनले एकाध पटक हिडेरै घर जाने कोशिश नगरेका पनि हैनन् । तर बाटो कारण, अव्यवस्थित सडक पेटी तथा खाल्डाखुल्डीका कारण सम्भव भएन । त्यसैले निजी गाडीमा आउजाउ गर्ने गरेका छन् । उनले आफैं स्टेयरिङ चलाउन नसक्ने भएकाले ड्राइभर राखेका छन् ।

उनी वर्षेनी व्यक्तिगत खर्चमा विदेश गइरहन्छन् । कुनै काम भएर होइन, सडकमा धोको पुग्ने गरी हिँड्नका लागि । चिल्ला र फराकिला बाटोमा छाति तन्काउँदै हिँड्दा उनलाई बिछट्ट आनन्द महसुस हुन्छ ।

प्रसंग लापरवाहीको

केही समयदेखि उपचारमा चिकित्सकको लापरवाहीको मुद्दा जोडतोडले उठ्दै आएको छ । हालै आएको मुलुकी संहितामा लापरवाही गर्ने डाक्टरलाई सजायको समेत व्यवस्था गरिएको छ, जसको विरोध डाक्टरहरले गरिरहेका छन् ।

डा. सतीश यस विषयमा भन्छन्, ‘छानवीनका क्रममा मैले के देखेको छु भने उपचारमा गल्ति हुनुको एउटा कारण त डाक्टरको लापरवाही नै हुँदो रहेछ । तर, यो मात्रै कारण होइन । डाक्टरहरुको सीमित क्षमता र सिस्टमको कमजोरीले पनि उपचारमा गल्ति भएको पाइन्छ । एउटा डाक्टरले बिरामीको अपरेसन गरिरहँदा त्यतिबेला एमआरआई, सिटी स्क्यान, एक्स रेमेसिन लगायतका ब्याकअप त्यहाँ स्ट्यान्डबाई हुनुपर्छ । तर, हामीकहाँ त्यो पनि कमी देखियो । त्यस्तै कामको चाप धेरै हुने भएकोले डकुमेन्टेशन पार्टमा पनि कमजोरी पाइयो ।’

यस्तै, बिरामीलाई राम्रो व्यवहार नगरेको तथा रक्सी खाएर जाँच गरेको विषयमा पनि उजुरी आउने गरेका छन् । यी विषयलाई राज्यले सम्बोधन गर्नुपर्ने उनी बताउँछन् । तर, लापरवाहीका नाममा क्षतिपूर्ति असुल्न हुँदै नभएको कुरा पनि आउने गरेको उनको अनुभव छ ।’

उनले एउटा दृष्टान्त प्रस्तुत गर्दै भने, ‘इटहरीमा एक महिलाले उपचारका क्रममा आफ्नो मिर्गौला चोरी भएको उजुरी दिइन् । त्यसमा छानविन गर्दा पत्ता लाग्यो कि उजुरी गर्ने बहिनीको मिर्गौलामा समस्या आएर पहिले नै निकालिएको रहेछ । तर त्यो घटना साम्य हुँदा नहुँदै अस्पताल परिसरमा ५–६ सय मानिसको जत्था जम्मा भएर तोडफोड गर्न भ्याइसकेका थिए ।’

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीलाई नै बलियो तथा सशक्त बनाउन जरुरी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment