Comments Add Comment

पोखरियामा साँझ ६ बजेपछि मदिरा बिक्रीमा रोक, १० बजेपछि हिँडडुल गर्न नपाइने

१८ कात्तिक, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा साँझ ६ बजेपछि मदिरा किनबेच गर्न निषेध गरिने भएको छ । मदिराका कारण नगरमा असुरक्षा बढेको भन्दै बेलुकी ६ बजेपछि मदिरा किनबेचमा निषेध गर्न लागिएको हो ।

त्यसैगरी नगरको मुख्य बजार क्षेत्रमा राति १० बजेपछि हिँडडुल गर्नसमेत प्रतिबन्ध लगाइने तयारी छ ।

विशेष परिस्थितिमा बाहेक अन्य समयमा रातिमा हिडडुल गरेको खण्डमा प्रहरीले पक्राउ गर्न सक्ने गरी व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

शनिबार राति पोखरिया बजारमा चोरी हुनुको साथै बजारको रेखदेखका लागि खटाइएका चौकिदारसमेत कुटिएपछि नगरपालिकाले यस्तो निर्णय गर्न लागेको हो ।

बजारको सुरक्षाका लागि पोखरिया बजार क्षेत्रमै प्रहरी बिट राख्ने र रात्री गस्ती गर्न लगाउने निर्णय समेत सर्वपक्षीय बैठकले गरेको छ ।

जाडोयाममा साँझ ६ बजेदेखि र गर्मीयाममा ७ बजेदेखि मदिरा किनबेच गर्न नपाउने गरी निर्णय गर्ने तयारी भएको नगर प्रमुख दिप नारायण रौनियारले जानकारी दिए ।

उनले औपचारिक निर्णय हुन भने बाँकी रहेको बताए । ‘नगर क्षेत्रमा मदिराका कारण शान्ति सुरक्षामा खलल पुगेको निश्कर्षमा हामी पुगेका छौं । त्यसैले राति मदिरा सेवन गरी होहल्ला गर्न नदिनका लागि जाडोयाममा साँझ ६ बजे र गर्मीमा ७/८ बजेसम्म मात्रै मदिरा किनबेच गर्न दिने सोच बनाएका छौं,’ उनले भने, ‘औपचारिक निर्णय गर्न छिट्टै बोर्ड बैठक बस्छ र बोर्डमा आवश्यक छलफल गरेर पारित गराउँछौं ।’

आइतबार भएको छलफलमा नगर प्रमुख रौनियार, उप प्रमुख सलमा खातुन, वडा नं ४ का अध्यक्ष लक्ष्मण साह कानु, वडा नं ६ का अध्यक्ष सियानन्द चौहान, वडा नं १ का अध्यक्ष बंका राउत कुर्मी, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक महेन्द्र थापा लगायतको उपस्थितिमा बैठक बसेको थियो ।

चोरीको घटनापछि नगरपालिकालाई दवाव

चोरहरुको समूहले राति साढे बाह्रबजेको समयमा बजारको चौकीदारी गर्ने गौरीशंकर रामलाइ कुटपिट गरी खेतमा फालेर किशोरी प्रसाद चौहानको मलंगबाबा रोहित किराना पसलमा चोरी गरेका थिए ।

स्थानीयले चौकीदारको गुहार सुनेपछि उद्धार गरी पोखरिया अस्पतालमा भर्ना गराएका थिए ।

पोखरिया अस्पतालमा प्रारम्भिक उपचारपछि चोकिदार रामको थप उपचार नेशनल मेडिकल कलेज वीरगञ्जमा भैरहेको छ । चौकीदारको उपचारमा लाग्ने सम्पूणै खर्च नगरपालिकाले बेहोर्ने निर्णय भएको छ ।

चोरहरुले चिनी, साबुन, तेल, मैदा लगायत पसलमा रहेको झण्डै २ लाख मुल्य बराबरको समान चोरी गरेर लगेको चौहानले बताएका छन् ।

चाडपर्वको बेला चोरी लगायतका अपराधिक घटनामा बृद्धि हुने भएपनि प्रहरीले राती गस्ती नगरेकोले चोरीको घटना भएको स्थानीयको आरोप छ ।

चोरी गरेको घटना हुँदासमेत नजिकमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी चाल नपाएको, बजारको शान्ति सुरक्षा कायम गर्न नसकेको र चौकिदार कुटिएको घटनामा प्रहरी मुकदर्शक बनेको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्नुको साथै बजार बन्द गराएका थिए ।

सर्वपक्षीय बैठकपछि व्यापारीहरुले बिहान सवा ९ बजे बजार पसल खोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment