Comments Add Comment

पशुपतिका गँजडी लुक्ने झाडी फाँडेर ‘आध्यात्मिक’ उद्यान

१९ कात्तिक, काठमाडौं । पशुपतिको वनकाली क्षेत्र, केही समयअघिसम्म गाँजासहित लागूऔषध प्रयोग गर्नेहरुको अखडा थियो । पशुपति क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका अनुसार यो क्षेत्रमा मौलाएको अनियन्त्रित झाडीले पवित्र तीर्थस्थल नजिकको क्षेत्र नै बदनाम थियो ।

अहिले यो स्थानको परिचय नै फेरिएको छ, यहाँ राधा माधव समिति (राधे–राधे)ले सुन्दर बर्गैँचा निर्माण गरेको छ । यो बगैँचा साँच्चिकै लोभलाग्दो स्वरुपमा बनेको छ ।

बगैँचालाई प्राकृतिक रुपमा मात्रै हैन, आध्यात्मिक तवरबाट सजाइएको छ । झाडी मासेर बनाइएको यो बगैँचामा रुख विरुवालाई जोगाएर हुर्काउन बाँदरलाईसम्म प्रवेश दिइएको छैन । यसका लागि छुट्टै कामदार खटिएका छन् । हरेक विरुवालाई माया र संरक्षण गरेर हुर्काइँदैछ ।

दुबोले ढपक्कै ढाकिएको बगैँचामा विभिन्न भागलाई अनेक स्वरुप र मूर्तिहरुबाट सजाइएको छ । पशुपति क्षेत्रको धार्मिक तथा आध्यात्मिक पक्षलाई केन्द्रमा राखेर बनेको बगैँचामा धेरै शिवलिंगहरु लहरमा राखिएका छन् । चौतारा पनि छन् । चौतारामा हनुमानको मूर्ति पनि छ । सरसफाइलाई निकै ध्यान दिइएको छ ।

खोल्सा क्षेत्रमा कृत्रिम खोलाको स्वरुप दिएर प्रतिकात्मक रहने गरी झोलुंगे पुल पनि बनाइएको छ । पार्कभित्रै रहेको पानीको मुहानलाई पनि संरक्षण गरिएको छ ।

चराका चिरविर–चिरविर आवाजले पार्कभित्र शान्तिको माहोल छ । पार्कको जुनसुकै भागमा बस्दा पनि आफू ‘धार्मिक क्षेत्रभित्र छु’ भन्ने महसुस हुन्छ । किनभने यहाँ विभिन्न आध्यात्मिक स्वरुपका संरचनाहरु बनाइएको छ, जसले पार्कलाई प्रकृतिभन्दा बढी आध्यात्मतिर केन्द्रित गर्छ ।

धर्म, संस्कृति र आध्यात्मसँग फ्युजन गरेर बनेको छ यो बगैँचा । यहाँ कमलदेखि सयपत्रीसम्म विभिन्न फूलहरु फुलेका छन् ।

पशुपति क्षेत्र विकास कोषले यही बगैँचाको उत्तर भागमा अर्को बगैँचा पनि तयार गरेको छ । यो बगैँचालाई नाम दिइएको छ, ‘देव उद्यान’ । यो बगैँचामा पनि कम्ता सुन्दर र शान्त छैन । विभिन्न प्रजातिका वनस्पति र फूलले ढाकिएको यो बगैँचामा सुस्ताउनु पनि उत्तिकै मज्जाको अनुभव हुनेछ ।

आराध्यदेव पशुपतिनाथको समीपमा रहेका यी बगैँचा शास्त्रमा वर्णन गरिएका तपोभूमिजस्तै लाग्छन् । देव उद्यानमा पनि आधुनिक प्रविधि र सिल्पको प्रयोगबाट गार्डेनिङ गरिएको छ ।

यहाँ बस्ने स्थानहरुमा प्राकृतिक काठमा मुडादेखि कृत्रिम प्रकारका विभिन्न सामग्रीको प्रयोग गरिएका छन् ।

देव उद्यान मात्रै हैन, अहिले क्षेत्र विकास कोषले देव उद्यानभन्दा माथि (चक्रपथको मूल सडक पार गरेपछि) अर्को उद्यानको विकास गरेको छ, भण्डारखाल उद्यान ।

यो उद्यानमा फूल र दुबो भने सजाइएको छैन । जंगललाई प्राकृतिक स्वरुपमै छाडिएको छ । बीच–बीचमा हिँड्नका लागि सजिला र फराकिला बाटाहरु बनाइएको छ । जंगललाई पुरानै अवस्थामा छाडेर यसलाई प्राकृतिक बनोटलाई कायमै राखिएको छ । त्यसैले यहाँ बिहान मर्निङ वाक गर्नेदेखि दिउँसो समय बिताउन आउनेहरुको जमात ठूलो हुन्छ ।

यो स्थान पनि पहिले विभिन्न अनैतिक तथा आपराधिक गतिविधि गर्नेहरुको अखडा थियो । तर, अहिले यसलाई सरसफाई गरेर जंगलभित्र शान्त वातावरणमा भुल्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

कोषका अनुसार अब केही समयभित्रै रिंगरोडमा कलात्मक आकाशे पुल निर्माण गरेर देवउद्यान र भण्डारखाल बगैँचालाई जोडिनेछ । त्यसलगत्तै सबै पार्कहरु सर्वसाधारणका लागि खुला गरिनेछन् ।

कोषका सदस्य सचिव प्रदीप ढकाल पार्कहरुको व्यवस्थानका लागि न्युनतम शुल्क लिएर उद्यानहरु सर्वसाधारणका लागि खोलिने बताउँछन् । यी पार्कहरुमा घुम्न आउनेका लागि खाजाका लागि साकाहारी भोजनसहितको व्यवस्थापन पनि गरेर पशुपति क्षेत्रमा स्वच्छ वातारणमा रमाउने अवसर सबैलाई प्रदान गर्ने उनको भनाइ छ ।

उनले पशुपति क्षेत्रमा हरियाली कायम राख्न सक्दो प्रयास हुने बताए । तिलगंगा अस्पतालभन्दा अघिको वस्ती हटाउन मुआब्जा वितरण भइसकेको र त्यहाँ पनि वस्ती हटाएर त्यस्तैपार्क निर्माणको योजना बनाइएको छ ।

पशुपति क्षेत्रलाई कंक्रिटको जंगलबाट मुक्ति दिनुपर्ने भन्दै उनले सम्भाब्य सबै खाली स्थानमा वृक्षारोपण गरेर शास्त्रहरुमा वर्णन गरिएजस्तै पशुपति क्षेत्रलाई विशुद्ध आध्यात्मिक वातावरण भएको क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइएको छ ।

ढकालले पशुपति क्षेत्रको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको भन्दै गुरुयोजनाभित्र पनि पशुपतिका खुला स्थानमा पार्क निर्माण र हरियाली प्रवद्र्धनमा जोड दिइएको बताए ।

हरियालीयुक्त क्षेत्रलाई एयरपोर्टसम्मै विस्तार गर्ने र मृगस्थली, सूर्यघाट लगायतका क्षेत्रमा पनि ब्यापक रुपमा वृक्षारोपण गरेर विरुवाका हुर्काउने गरी योजना बनाई काम हुनेछ ।

कैलाशको डाँडाको बीच भागलाई पनि खुला चौरका रुपमा नै छानेर वरपर हरियालीसहित परिक्रम पथ निर्माण गर्ने योजना पनि छ ।

‘ऋषिमुनिहरुले कल्पना गरेको जस्तो क्षेत्र नै बनाउने हो,’ ढकाल भन्छन्, ‘पशुपतिको जीवन्त सभ्यतालाई पुरानै अवस्थामा फर्काउन हामी प्रयास गर्दैछौं ।’


तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment