Comments Add Comment

अञ्जली दिदीलाई भाइटीकाले दिएको शक्ति

२२ कात्तिक, काठमाडौं । तिहारका बेला ताहचलस्थित अञ्जली दिदीको घरमा प्रवेश गर्नासाथ मिठाईको बास्नाले मुख रसाउँछ । उनी घरको सबैभन्दा माथिल्लो तलाको सभाहलमा भेटिन्छिन् ।

अञ्जली दिदीले स्वागत गर्नुपूर्व हल बाहिरका मिठाइहरुले स्वागत गरेजस्तै लाग्छ । ठूला प्याकभित्र असरल्ल मिठाइ र फलफूलका प्याकेटले भाइटीका कुरिरहेछन् । हलभित्र अञ्जली दिदी सोफामा बसेर ज्वाति र जजंका बाटिरहेकिछिन् । दशैँ सकिनासाथ उनी जजंका र ज्वतिमै व्यस्त छिन् ।

रातो सारीमा सजिएकी ७३ वर्षीया अञ्जली दिदीको अनुहारमा उस्तै तेज छ । थाइकट काटेकी छिन्, आँखालाई पावरवाला चस्माको जरुरत छैन । बाटिरहेको जजंकालाई बाटिएका जजंकाको रासमाथि राख्दै फिस्स हाँस्छिन् र भन्छिन्– ‘दाजुभाइको चिरायुको कामना गर्दै बत्ती र जजंका बनाउने गर्छु । बनाउँदा बनाउँदै आँशु झर्छ ।’

यतिबेला भने उनका आँखाबाट आँशु होइन, हर्ष चुहिरहेका छन् ।

हो, उनै अञ्जली दिदी नै हुन् । पाँच वर्षे वालकको पनि दिदी र १०१ वर्षीय बृद्धको पनि दिदी । जब उनले ०५५ सालदेखि काष्ठमाण्डपको अगाडि चकटी बिच्छ्याएर दिदीबहिनीविहीन सयौँको खाली निधारहरुमा सप्तरंगी टिकाले सजाउन थालिन्, उनी अञ्जली मास्केबाट अञ्जली दिदी बनिन् ।

किन उनले यसरी दिदीबहिनी नभएकाहरुलाई टीका लगाउन शुरु गरिन् ? उनीसँगै उत्तर छैन । अड्कलमात्र छ, ‘यो परमात्माले दिएको शक्ति होला ।’

उनको बोलीको रफ्तारलाई ल्याण्ड लाइन टेलीफोनको रिङटोनले ब्रेक लगायो । सरासर गएर फोन रिसिभ गरिन् । र, भनिन्, ‘एकदेखि चार बजेसम्म ।’

उनका हातबाट टीका लगाउनका लागि कसैले फोनबाट समय सोधिरहेको थियो । तर, अञ्जलीलाई न फोनवालाको नामको आवश्यकता छ, न त पेशा र पदको नै । अञ्जली सोफामा बस्दै भनिन्, ‘यी सबै मेरा दाजुभाइ हुन् । सबैलाई आफ्नै लाग्छ । प्रेम बाँड्छु, सबैलाई प्रेम गर्छु ।’

अञ्जलीका हातबाट जोगीदेखि झलनाथ खनालसम्मको निधार रंगिएको छ । स्वदेशीदेखि विदेशीहरु उनीसँग टीका लगाउन आइपुग्छन्

तर, एउटा फोन उनका लागि सधैं ताजकी छ । आजभन्दा चार वर्ष पहिलेको कुरा हो । कतैबाट फोन आइरहेको थियो । उनले फोन कानसम्म नपुर्याउँदै हतार–हतारको बुढो आवाज कानसम्मै ठोक्कियो, ‘म पशुपतिबाट टक्कर डंगोल, तपाईको हातबाट टीका लगाउन चाहन्छु, के सीट खाली छ ?’ अञ्जली दिदीले सहज बनाइदिइन्, ‘मकहाँ जहिले पनि सिट खाली हुन्छ ।’

टक्करले ठूलै आँट बटुलेर फोन डायल गरेका रहेछन् । १०१ वर्षका टक्करले लामो समयदेखि आफन्तसँग भन्दै आएका थिए, ‘म अञ्जली दिदीको हातबाट टीका लगाउन चाहन्छु ।’ त्यसै वर्ष टक्करले तीन धर्के सप्तरंगी टीका लगाए । जिन्दगीमा पहिलोपटक तिहारमा उनको खाली निधार भरियो । त्यो बुढो आवाजले आफूलाई ‘दिदी’ उच्चारण गर्दा अञ्जलीका आँखा भरिएको थिए ।

एक वर्षपछि अञ्जली दिदी टक्करलाई भेट्न घरमै पुगेकी थिइन् । तर, टक्कर यो दुनियाँबाट बिलाइसकेका थिए । अञ्जली आँशु बोकेर फर्किइन् ।

अञ्जलीका हातबाट जोगीदेखि झलनाथ खनालसम्मको निधार रंगिएको छ । स्वदेशीदेखि विदेशीहरु उनीसँग टीका लगाउन आइपुग्छन् ।

जब दाजुले छाडेर गए !

अञ्जलीका आफ्नै दाइ पनि थिए, पुरुषोत्तमराज मास्के । आफूभन्दा तीन वर्ष जेठा ।

अञ्जली हरेक तिहारको दिन बिहानै उठेर भैरभनाथको पूजा आराधना गर्थिन् । अनि काष्ठमण्डप पुगेर गोरखनाथलाई टीका लगाइदिन्थिन् । अनि घर फर्केर आफ्नो दाजुलाई चिरायुको कामना गर्दै टीका लगाइदिन्थिन् । फेरि काष्ठमण्डप पुग्थिन् र दुई/आठजनाको निधार रंगाइदिन्थिन् । तर, अहिले तिहारमा यो सेड्युल लागु हुँदैन ।

पुरुषोत्तमराज अञ्जलीका दाजुजस्ता नभएर साथीजस्तै थिए । सधैं जिस्किइरहने, ठट्टा गरिरहने । तर, तीन वर्ष पहिलेबाट उनका दाइसँग हाँसखेल गर्ने अवसर सदाका लागि गुम्यो । तर, त्यो वर्ष पनि अञ्जलीले आफूलाई कुरेर बसेकाहरुको निधार खाली राखिदिइनन् ।

‘आफ्नो दाइ नहुँदा दुःख त लाग्छ नै । तर, यो संसारमा धेरै मान्छेहरु आए र गए, यो नै सत्य हो । एउटा कुराले बाँकी जिन्दगीलाई दुखित बनाउनुहुँदैन,’ छिनमै उडेको उनको मुहारमा छिनमै चमक झल्कन्छ, ‘जब सैयौँ दाजुभाइको खाली निधारमा टीका लगाइदिन्छु, उनीहरुको खुशीले मेरा सारा दुःख भुलाउँछ र आफूलाई नै बिर्सन्छु । यसबाटै मलाई उर्जा मिलेको छ ।’

उनी भन्छिन्, ‘सास रहेसम्म टीका लगाइदिन्छु । काष्ठमण्डप जान नसके घरमै बोलाएर भए पनि निधार खाली रहन दिन्नँ ।’

प्रेमको बहाव

सामुहिक टीका लगाइदिने निर्णय गर्दा अञ्जली दिदीको उमेर ५१ वर्षको थियो । योबीचमा उनका अनुहारका धर्साहरु बढेका छन् । तर, मानिसहरुप्रतिको प्रेम उस्तै छ । अहिले पनि प्रेम नै पोख्छिन्, ‘मैले आत्मादेखि मानिसलाई प्रेम गर्छु । धन सम्पत्तिले मात्र सेवा गर्न सकिँदैन । त्यही प्रेमले त रगतको साइनोबाट टाढा भएकाहरु पनि मकहाँ आउनु भएको छ ।’

अहिलेसम्म आफू हट्टाकट्टा जस्तै हुनुमा पनि प्रेमकै परिणाम सम्झन्छिन् अञ्जली दिदी । उनको आदर्श छ, ‘आफूले प्रेम गरे न अरुले गर्छन् ।’

फ्ल्यास ब्याक !

बांगेमुढाको एउटा सम्पन्न परिवारमा जन्मिएकी अञ्जलीले ११ वर्षको उमेरमा आमाको ममता गुमाउनुपर्यो । त्यो पीडा उन शब्दमा वर्णन गर्न सक्दिनन् ।

३५ वर्षको उमेरमै हृदयरोगले चुँडेपछि लामो समय अञ्जलीका आँखाबाट आमाको सम्झना बगिरहे । तर, एक दिन उनको मनले भन्यो, ‘यसरी शोक मनाएर बसे त जिन्दगीमा दु:खैदु:ख हुन्छ ।’

त्यसपछि जीवनमा कहिल्यै पनि उनले पीडाको अनुभूति गरिनन् । १७ वर्षको उमेरमै विवाह भयो । छोरा बिजेन्द्रमान प्रधानलाई जन्म दिइन् । तर, बैवाहिक सम्बन्ध लामो समय टिकेन । यद्यपि कहिल्यै उनले एक्लोपनको महसुस गरिनन् ।

जीवन आफ्नै गतिमा चल्दै थियो । ०४० तिरको कुरा हो, बिरामी आफन्तलाई बीर अस्पताल लैजाँदै गर्दा हस्पिटल बाहिरको दृश्यले नराम्ररी घोच्यो अञ्जलीलाई ।

चिसो मौसम थियो । तर, हस्पिटल बाहिर लावारिस अवस्थामा छटपटिरहेका थिए बिरामीहरु । उनीहरुको हरमा गतिलो कपडा थिएन । अञ्जलीले सबैलाई सस्तोखालको पछ्यौरा किनेर ओढाइदिइन् ।
‘जब म वीर अस्पताल परिसर पुग्थेँ, त्यहाँका बेवारिसे बिरामी देखेपछि लामो समयसम्म मेरो दैनिकी नै असहज बन्थ्यो’, अञ्जली दिदी ती दिनहरु सम्झन्छिन्, ‘त्यतिबेला वीर अस्पतालमा बिरामीका लागि पर्याप्त सिट थिएनन् । भर्ना नभएसम्म उनीहरु सडकमै भोकभोकै बस्थे । भर्ना भएपछि मात्रै अस्पतालले खाना खुवाउँथ्यो ।’

अञ्जली वीरका बिरामीको सेवामा तल्लीन हुन थालिन् । घरमा खाना बनाउँथिन् र आफैं गएर बिरामीलाई खुवाउँथिन् । कसैलाई कपडा किनिदिन्थिन्, कसैलाई ओच्छ्यान । हस्पिटलका गार्डले उनलाई खबर पुर्याउँथे । उनी खाना र कपडा बोकेर हस्पिटल पुग्थिन् । उनका घरमा दैनिक २–४ जना बेवारिसे बिरामीका लागि खाना पाकिरहेको हुन्थ्यो ।

संयोग कस्तो भने छोरा विजेन्द्रमान डाक्टर भएर वीर अस्पताल नै प्रवेश गरे । अब अञ्जलीलाई बिरामीको सेवा गर्न झन् सजिलो भयो । भर्ना गर्न गाह्रो भएका बिरामीका लागि छोरालाई नै खबर गरेर अस्पतालको बेडसम्म पुर्याइदिन्थिन् उनी ।

तर, कहिलेकाँही औधी गाह्रो पर्थ्यो अञ्जलीलाई । अस्पतालबाट विजेन्द्रमानलाई भन्थे रे, ‘तपाईको आमाको मान्छे लिन पठाइदिनू ।’ त्यसपछि अञ्जलीलाई सकस पर्थ्यो । अब फेरि कहाँ लगेर राख्ने ती बिरामी ? त्यतिबेला बिरामीको दानव आफन्त सम्झेर निकै दया लाग्थ्यो उनलाई ।

अञ्जलीले त्यतिबेला जीवनका थरीथरी रङहरुको अनुभूति गरिन् । कोही श्रीमानले आगोले पोलेर बिरामी हुन्थे, कोही मृत्युशैया छटपटाइरहेका बुद्धबृद्धा हुन्थे । कसैलाई आफन्तले छाडेर हिँडेका हुन्थे, कोही मृत्युको कामना गरेर बसिरहेका हुन्थे ।

अहिलेसम्म पनि काष्ठमण्डप नबनेकोमा आक्रोश छ उनीसँग । उनलाई मात्र होइन पुरातात्विक महत्वका पुनर्निर्माणको अस्तव्यतताले सबै नेपालीलाई दुखित पारेको छ । तर, आफैंलाई भुलाउँछिन् अञ्जली दिदी । मन्दिर ढले पनि आत्मा ढलेको छैन । खासमा आत्मालाई हो पूजा गर्ने

कतिसम्म भने कसैले त उनले अघिल्लो दिन दिएको खाना भोलिपल्टसम्म जस्ताको त्यस्तै हुन्थ्यो । उनीहरुसँग त्यो भात हातले मुखसम्म लैजाने सामर्थ्यसम्म हुँदैनथ्यो ।

अञ्जलीले यो परोपकारितालाई १८ वर्षसम्म निरन्तरता दिइन् । उनले घरको एउटा फ्ल्याट भाडामा लगाएकी थिइन्, त्यही रकमले सेवा गर्थिन् ।

उनी भन्छिन्, ‘मैले सेवा मात्र गरिरहुँ, कसैले थाहा नपाओस् भन्ने लाग्थ्यो । तर, छोरा त्यहाँ भएपछि मलाई काम गर्न गाह्रो पर्यो ।’

अहिले उनका छोरा लण्डनमा हस्पिटल स्थापना गरेर बसेका छन्, जसले अस्कल क्याम्पसबाट बोर्ड टप गरे, एमबीबीएस पढ्न पाकिस्तान पुगे । त्यहाँ पनि पाकिस्तान टपेको तक्मा छातीमा टाँसेर गर्वसाथ नेपाल फर्किएको अञ्जलीको दाबी छ । उनी मुटुरोग विशेषज्ञ बने ।

भाइटीकाको तयारी

जति–जति भाइटीका नजिकिँदै छ, त्यति–त्यति अञ्जलीको व्यस्तता बढ्दो छ । सगुन तयार पार्नुपर्यो । टीका माला जुटाउनुपर्यो , पूजाका लागि तयारी गर्नुपर्यो ।

बहिनी रेणु प्रधान, सानिमा चन्द्रप्रभा मास्के, प्रपन्न मास्के र नातिनी भवानी मास्केले उनको हतारोलाई थोरै सहज बनाइदिन्छन् ।

हरेक वर्ष उनले कम्तिमा २०८ जनालाई भाइटीका लगाउँथिन् । तर, यसपालि २५ वटा जजंका घटाएकी छिन् । उनको उमेर बढ्नुको परिणाम हो यो ।

काष्ठमण्डपसँग जोडिएको भावना

सामुहिक टीकाको सूचना दिन काष्ठमण्डप अगाडि पहिले नै बोर्ड टाँसिसकेकी छिन् । तर, भूकम्पपछि बोर्ड टाँस्न काष्ठमण्डप पुग्दा उनको मन नै अमिलो भएर आउँछ । अमिलिँदै बोल्छिन्, ‘मेरो मुटु हो काष्ठमण्डप । काष्ठमण्डपसँग मेरो अगाढ प्रेम छ । म सधैं गोरखनाथको पूजा गर्न त्यहाँ पुग्थेँ । म वेलायत हुँदा, काष्ठमण्डप ढलेको खबरले मलाई एकछिन त्यहाँ रहन दिएन ।’

अहिलेसम्म पनि काष्ठमण्डप नबनेकोमा आक्रोश छ उनीसँग । उनलाई मात्र होइन पुरातात्विक महत्वका पुनर्निर्माणको अस्तव्यतताले सबै नेपालीलाई दुखित पारेको छ ।

तर, आफैंलाई भुलाउँछिन् अञ्जली दिदी । ‘मन्दिर ढले पनि आत्मा ढलेको छैन । खासमा आत्मालाई हो पूजा गर्ने ।’

भगवानप्रति उनको अगाढ आस्था छ । उनी बिहान साढे पाँचमै उठ्छिन्, पूजा आराधना गर्छिन् । बेलुकी अबेरसम्म बस्दिनन् ।

अञ्जली दिदीको पूजा गर्नुको परिभाषा आफ्नै छ– ‘हामीले ढुंगाको पूजा गर्छौं,  किनभने हामी पनि एक दिन त्यही ढुंगामा विलीन भएर जानेवाला छौँ ।’

उनी पूजा त ढुंगाको गर्छिन् । तर, मनमा जहिल्यै मान्छेको उपकारबारे सोचिरहन्छिन् । भन्छिन्, ‘जीवनमा अझै धेरै मानिसको उपकार गर्न सकौँ । धेरै मानिसलाई खुशी पार्न सकूँ । अहिलेसम्म त के नै गर्न सकेकी छु र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment