Comments Add Comment

गाउँका सिंहदरबारहरु प्रमुखविहीन, कार्यक्षेत्रमा नपुग्दै सरुवा

२५ कात्तिक, दार्चुला । दार्चुला व्याँस गाउँपालिका र दुहूँ गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत विहीन बनेका छन् । कर्मचारी अभाव झेलिरहेका यी गाउँका सिंहदरबारहरु अहिले दैनिक कामकाज सञ्चालन गर्ने मुख्य व्यक्तिको अभाव झेलिरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षको नयाँ योजना र कार्यक्रम सञ्चालन र गत वर्षको योजना अनुगमन र भुक्तानी गर्न कठिनाइ भएको जनप्रतिनिधिहरु बताउँछन् ।
दुहुँ गाउँपालिकामा गत वर्ष प्रमुख प्रशासकीय अधिकृत नै आएनन् । केही महिनाअघि सरुवा भई आएका अमरसिँह महरा पनि भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए ।

दुहुँ गाउँपालिका जानुअघि महरा यातायात व्यवस्था विभागमा थिए । त्यस क्रममा महरासहित २२÷२३ जना कर्मचारीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रमुख प्रशासकीय अधिकृत महरा निलम्बनमा परेको अध्यक्ष कार्कीको भनाइ छ ।

गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतका लागि युवा, खेलकुद तथा शिक्षा विकास शाखा प्रमुख शिवराज भट्टको नाम लेखी पठाइएको छ ।

व्यासका प्रमुख प्रशासकीय अधिकृत जिल्ला नै नपुगी सरुवा

व्याँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भने कार्यक्षेत्रमा नपुग्दै सरुवा भएका छन् । यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिलिपसिँह धामीको रौतहटमा सरुवा भएपछि व्याँस गाउँपालिकामा रामप्रसाद ओलीलाई पठाइएको थियो । तर उनी कार्यक्षेत्रमा नपुग्दै सरुवा भएका हुन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत दार्चुला नपुग्दै मन्त्रालयबाट अन्तै सरुवा भएपछि अर्को प्रमुख प्रशाकीय अधिकृतको कुनै टुंगो नलागेको अध्यक्ष दिलिपसिंह बुढाथोकीको भनाइ छ ।

सुदूरपश्चिमको त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित विकट जिल्ला भएकाले पनि दार्चुला आउन कर्मचारी कम रुचाउने गरेका हुन् । दार्चुला जिल्लामा अझै विभिन्न असुविधा रहेकाले कर्मचारीहरु दार्चुला आउन त्यति नरुचाउने गरेको जानकारहरु बताउँछन् ।

दार्चुला आएका कर्मचारीहरु पनि यहाँ लामो समय टिक्दैनन् । दार्चुला जिल्लामा सरुवा भई आएका कर्मचारीहरु पनि छिट्टै सरुवा भएर अन्यत्रै जिल्ला जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment