+
+
Shares

रौतहटमा सुरुङ खनेर चारवटा घरबाट १३ लाखको चोरी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते १६:४५

२५ कात्तिक, रौतहट । रौतहटको कटहरिया नगरपालिका-४ स्थित  हर्षाहा  टोलमा चोरको समूहले चारवटा घरमा शनिवार राति सुरुङ खनेर १३ लाख भन्दा बढीको सामानहरु चोरेका छन् ।

चोरको समूहले हर्षाहा टोलका चार घरमा सुरुङ खनेर नगद, गरगहना, लता कपडा गरी १३ लाख भन्दा बढीको सामानहरु चोरेर लगेको हो ।

स्थानीय जगत यादवको घरबाट ५० हजार नगद, एकथान ल्यापटप र छठपर्वमा लगाउन खरिद गरी ल्याइएको ३२ हजार बराबरको कपडा चोरेर लगेको पीडित परिवारले जनाएको छ ।

यसैगरी स्थानीय मनोज यादवको घरबाट १० हजार नगद, एकथान मोबाइल सेट, तथा ६ लाख बराबरको १० तोला सुनको गहना, फेँकु दासको घरबाट एकथान मोबाइल, नगद तथा गरगहना गरी तीन लाख बराबरको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक (सई) आमोदकुमार यादवले जानकारी दिए ।

यस्तै, स्थानीय वीरेन्द्र चौरसीयाको घरबाट नगद तथा गरगहना गरी एकलाख ५० हजार गरी चोरहरुले १३ लाख बढीको धनमाल चोरेर लगेको छ ।

चोरको समूहले शनिवार राति ११ बजेदेखि २ बजेको समयमा चारवटै घरमा दुई/दुईवटा सुरुङ खनेर घरभित्र राखिएका टिनका बाक्साहरु बाहिर खेतमा ल्याएर खोजीखोजी महंगा सामानहरु चोरेर लगेको पीडितहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक -डीएसपी) महेन्द्रप्रसाद मरासिनीले घटना बारे आवश्यक अनुसंधान तथा चोर समूहको खोजी भइरहेको जनकारी दिए ।

चोरको समूहले कतिको सामानहरु चोरी गरेको वारे प्रहरीले घटनास्थलबाट विवरण संकलन गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?